नेपालगन्ज ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक बाँकेको साविक नरैनापुर गाविसमा दशकअघि सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार गरिएको भन्दै मुद्दा दायर गरेको छ । अख्तियारले तत्कालीन नरैनापुर गाविस अध्यक्ष अजयकुमार श्रीवास्तवसहित १७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरूमाथि अख्तियारले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा उमेर नपुगेका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरी भ्रष्टाचार गरेको अभियोग लगाएको छ । आयोगमा परेको उजुरीका आधारमा अनुसन्धानपछि नरैनापुरमा आर्थिक वर्ष २०५७–५८ देखि २०७२–७३ सम्म उमेर नपुगेका १९ जनाका नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको भेटिएको आयोगले जाहेरीमा उल्लेख गरेको छ ।
तत्कालीन गाविस अध्यक्ष र सचिवले नागरिकतामा उल्लेखित जन्ममिति र नागरिकता जारी मिति अनदेखा गरी ज्येष्ठ नागरिक तथा दलित ज्येष्ठ नागरिकको रूपमा, नागरिकताको प्रमाणपत्र नभएको व्यक्तिलाई एकल महिलाको रूपमा र भारतमा विवाह गरी गएका महिलालाई एकल महिलाको रूपमा सामाजिक सुरक्षा लाभग्राही परिचयपत्र जारी गराई सामाजिक सुरक्षा भत्ता वितरण गरेको आरोपत्र दायर गरिएको अख्तियारले जानकारी दिएको छ ।
उनीहरूले त्यसरी सामाजिक सुरक्षा भत्ताका नाममा ६ लाख ५६ हजार सात सय रूपैयाँ हिनामिना गरेको आरोप अख्तियारको छ ।
आयोगले विशेष अदालतमा गाविसका पूर्वअध्यक्ष श्रीवास्तवसहित साविक नरैनापुर गाउँ विकास समितिको कार्यालयका सचिव अशोक कुमार श्रीवास्तव, भत्ता बुझी लिने साहजिमा खातुन, अवधराम बढही, राम जिवन पासी, मनोरानी अहिरनी, रामचन्द्र धोबी, लायसरीफ खाँ, मोमिना पठानीन, हामिया पठानीन, नन्कौ मुराउ, जंगली कडरिया, हरीराम अहिर, बारी खाँ, मोति भुजुवा र सन्तराम बडहीसमेत १७ जनालाई प्रतिवादी बनाइ मुद्धा दायर गरेको हो ।
यसरी गैरकानुनीरूपमा भत्ता बुझ्ने प्रतिवादीहरू पाटेश्वरी सिंह ठाकुर, मुजफ्फर खाँ, राम समझ कुर्मी, जलील खाँ र राम सेवक कुर्मीको मृत्यु भइसकेको विवरण प्राप्त भएकोले आयोगले बिगोको हकमा प्रतिवादी तत्कालीन गाविस सचिव सावितराम कुर्मीबाट असुलउपर गर्न मागदाबी गरेको छ ।









प्रतिक्रिया दिनुहोस्