ओभरलोड बोक्ने भारतीय गाडीले समस्या



श्यामलाल पोखरेल । बुटवल ।

भारतीय ओभरलोड गाडी नेपालका सडकका लागि बाधक बनेका छन् । नेपालका सडकहरूको क्षमताभन्दा बढी भार भएका भारतीय मालबाहक गाडीहरू नेपालमा निर्बाध रूपमा चलाउने गरिएको छ । सडकको क्षमता धान्न नसक्ने खालका भारतीय मालबाहक गाडीहरूले सडकसँगै बुटवल नारायणघाट सडक खण्डमा पर्ने पुलहरू भत्किएका छन् । पुल मात्रै होइन मुख्य सडक नै भारतीय गाडीहरूले भत्काएका छन् भने भारतीय गाडीहरूसँग नेपाली गाडीले प्रतिस्पर्धा गर्न नसक्दा यातायात व्यवसायी समस्यामा परेका छन् ।

भारतीय ओभरलोड गाडीले बुटवल–नारायणघाट सडक खण्डमा पर्ने ३ वटा पुल ध्वस्त पारेपछि रुपन्देही प्रशासनले भारतीय ट्रकहरूको भारमिलानका लागि चासो देखाएको छ । यो विषयमा नेपाली यातायात व्यवसायीले आवाज उठाउँदै आएपनि प्रशासनले खासै चासो देखाएको थिएन । यातायात व्यवसायीहरू प्रमुख जिल्ला अधिकारीको कार्यालयमा डेलिगेसन जाँदा र यातायात व्यवसायीहरूको कार्यक्रममा प्रशासन र जनप्रतिनिधिहरूले चासो दिएपनि व्यवहारमा कुनै चासो दिइएको थिएन । तर पछिल्लो समय तथा केही दिनअघि भारतीय ओभरलोड सामान बोकेका गाडीहरूका कारण पुल भत्केर सडक अवरुद्ध भएपछि प्रशासनले चासो देखाएको हो ।

भारतबाट रुपन्देहीको सुनौली नाका हुँदै नेपाल प्रवेश गरेका ओभरलोड मालबाहक सवारीसाधनका कारण नेपालका सडक र पुलहरू भत्किएपछि रुपन्देही प्रशासनले भारतीय ट्रकको भारमिलानको विषयमा चासो देखाएको हो । तर भारतबाट सुनौली नाका हुँदै नेपाल भित्रिने भारतीय ओभरलोड गाडी आउने क्रम नरोकिएको र केही पल्टी भने हुन थालेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष टिकाराम गौतमले जानकारी दिए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेब घिमिरेले भारतीय ओभरलोडका मालबाहक गाडी तथा सवारीसाधनहरू भन्सार बिन्दुमै भारमिलान गरेर मात्रै नेपाल प्रवेश गर्न दिने निर्णय गरिएको बताए । भारतीय गाडीलाई ओभरलोड छुट दिँदा नेपालमा दुर्घटना बढेको, दुर्घटना गराएर भारतीय ट्रक चालकहरू भाग्ने गरेको तथा सडक, पुलपुलेसाहरू भत्किने समस्या बढ्दै गएपछि ट्रक व्यवसायीहरूले ओभरलोडको दोहोरो मापदण्ड हटाउन सरकारसँग पहिलेदेखि नै माग गर्दै आएका छन् ।

ट्रक व्यवसायीको मागमात्र हैन भारतबाट भित्रिएका ओभरलोड मालबाहक सवारीसाधनका कारण बुटवल–नारायणगढ सडक खण्डका ३ वटा पुलमा क्षति पुगेको छ । भैरहवा–बुटवल, भैरहवा–लुम्बिनी सडक भत्किएका कारण पटक पटक मर्मत गरिएको छ । भारमिलानसम्बन्धी कानुनमा भएको व्यवस्थालाई कार्यान्वयन गर्नेगरी निर्णय गरिएपनि कार्यान्वयन भने हुन नसकेको ट्रक व्यवसायीहरूको गुनासो छ । यातायात व्यवस्था कार्यालय बुटवल (सवारी), ट्राफिक प्रहरी कार्यालय र भैरहवा भन्सार कार्यालयको आपसी समन्वय एवं सहकार्यमा भारमिलानसम्बन्धी कानुनमा भएको व्यवस्थालाई कार्यान्वयन गर्ने जिम्मेवारी भएपनि कार्यान्वयन हुन सकेको छैन ।

नेपाली नम्बर प्लेट भएका नेपालमा सञ्चालन हुने ढुवानीका सवारीसाधनका हकमा तोकिएको भार क्षमता भित्रमात्र सञ्चालन गर्ने व्यवस्था मिलाउने गरिएको छ । भैरहवा भन्सार कार्यालयमा तौल मेसिन रहने स्थानमा भैरहवा भन्सार कार्यालय, यातायात व्यवस्था कार्यालय, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, ढुवानी व्यवसायी संघबाट खटिएका एक एकजना प्रतिनिधिले निरीक्षण गरेर भारवाहन क्षमताभित्र रहेको सुनिश्चित गरेर मात्र सवारीसाधन पास हुने व्यवस्थासमेत गरिएको छ । तर व्यवहारमा त्यस्तो हुन सकेको छैन ।

पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष टिकाराम गौतमले जिल्ला प्रशासन कार्यालयको अगुवाइमा भएको भारमिलानको निर्णय स्वागतयोग्य रहेको तर व्यवहारमा कार्यान्वय नभएको मिसन टुडेसँग गुनासो गरे । भारतीय गाडीहरूको ओभरलोड भन्सार बिन्दुमै मिलान गर्नेे व्यवस्थाले नेपालका सडक र पुलको संरक्षण हुने र नेपाली ट्रक व्यवसायीको लगानी सुरक्षित हुने बताउँदै उनले भने, ‘कार्यान्वयन नहुँदा अवस्था पुरानै छ । समस्या यथावत छन् ।’

पश्चिमाञ्चल यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष कमल घिमिरेले प्रशासनले चाहे भारतीय ओभरलोड सामान बोकेका गाडीहरू रोकेर मापदण्डअनुसार चल्न दिन सकिने बताए । मालबाहक सवारीसाधनको भारवाहन नियमनसम्बन्धी निर्देशिका २०७४ तथा ओभरलोडसम्बन्धी प्रचलित कानुनअनुसार क्षमताभन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउने व्यवस्था छ । तर उक्त निर्देशिकाअनुसार काम भएको छैन । यातायात तथा ट्रक व्यवसायीले निर्देशिका २०७४ लाई कार्यान्वयनमा ल्याउन सरकारसँग माग राख्दै आएका छन् ।

निर्देशिकाको बुँदा नम्बर १० मा तोकिएको भारवहन क्षमताभन्दा बढी भार बोकी नेपाल आएका भारतीय गाडी तथा सवारीसाधनहरूलाई प्रचलित कानुनअनुसार जरिवाना गर्ने व्यवस्था रहेको छ । नेपालका सडक र पुलको क्षमताअनुसार यो मापदण्ड निर्धारण गरिए पनि मालबाहक यस्ता सवारीसाधनले आफ्नो क्षमताभन्दा दोब्बर बढी भार बोक्ने गरेका छन् । ९६ टनसम्म भारवहन गरेका मालबाहक गाडीहरू नेपाल भित्रिदा ट्राफिक प्रहरीले १ हजार ५ सय रूपैयाँ जरिवाना लिएर नेपालभर भारतीय गाडीहरू प्रवेशको स्वीकृति दिने गरेको छ । जसले सीमा नाकामा प्रहरीसँग भारतीय गाडीधनीहरूको मिलोमतो रहेको यातायात व्यवसायीको आरोप छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १ गते आइतबार