कोहलपुर (बाँके) ।
जिल्लाको बैजनाथ गाउँपालिकाले चालू आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम र बजेटमा कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिएको छ । कृषि क्षेत्र आधुनिकीकरण, प्रविधिकरण र यान्त्रीकरणमार्फत गाउँपालिकाको विकास गर्ने उद्देश्यले कृषिलाई मुख्य प्राथमिकता दिइएको हो । चालू आवमा गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि ३ करोड ५८ लाख १० हजार विनियोजन गरिएको थियो । उक्त बजेटमध्ये किसानसँग पालिका प्रमुख कार्यक्रमका लागि २ करोड ४५ लाख ३० हजार र कृषि कार्यक्रमका लागि १ करोड १२ लाख ८० हजार रूपैयाँ विनियोजन गरेको कृषि शाखाले जनाएको छ ।
तीमध्ये किसानसँग पालिका प्रमुख कार्यक्रमका लागि २६ र अन्य कृषिका ३८ वटा योजना रहेका थिए । किसानसँग पालिकाले प्रमुख कार्यक्रममार्फत् गाउँपालिकाले कृषि, पशु तथा अन्य क्षेत्रमा कार्यक्रम सञ्चालन गरिरहेको छ । आर्थिक वर्षको अन्तिम चौमासिकमा गाउँपालिकाले अहिले विभिन्न सामग्री वितरण गरिरहेको छ । गाउँपालिकाको हाइलाइट कार्यक्रमको रूपमा रहेको किसानसँग पालिका प्रमुख कार्यक्रमअन्तर्गत पूर्ण, ७५ र ५० प्रतिशत अनुदान प्रदान गर्दै आएको छ ।
उक्त कार्यक्रमबाट हालसम्म गाउँपालिकाका सयौँ किसान लाभान्वित भएका छन् । गाउँपालिकाले किसानहरूलाई लक्षित गर्दै हाट बजार सञ्चालनमा ल्याएको छ । वडा नम्बर १ मा हाट बजार सञ्चालनको तयारी गरिरहेको गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले बताए । उनका अनुसार बैजनाथका किसानहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउने किसानसँग पालिका प्रमुख कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ । सोहीअनुसार गाउँपालिकाअन्तर्गत रहेका विभिन्न क्षेत्रका किसानहरूलाई अनुदान वितरण गरिँदै आएको अध्यक्ष शाहीले बताए ।
कार्यक्रमअन्तर्गत अटोरिक्सा, अतिविपन्न किसानलाई स्यालो टुबेल, मिनीटिलर, धान रोप्ने मेसिन वितरण गरिएको उनले बताए । सोही कार्यक्रमअन्तर्गत गाईपालक किासन प्रोत्साहन कार्यक्रम, वर्षे घाँसको बीउ वितरण कार्यक्रम गर्नुका साथै पशुपालक किसानलाई प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको छ । अपांगता भएका व्यक्तिहरूलाई बाख्रा वितरण गरिएको र अतिविपन्न परिवारलाई लोकल कुखुरा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
पशुपन्क्षीतर्फको किसानसँग पालिका प्रमुख कार्यक्रमअन्तर्गत गाउँपालिकाभरीका ३८० जना अतिविपन्न परिवारहरूलाई लोकल जातका चल्ला वितरण गरिएको पशु शाखा प्रमुख रामकिसुन थारुले बताए । उनका अनुसार कार्यक्रमअन्तर्गत प्रतिवडा ४७ जनाका दरले गाउँपालिकाभरीका ३८० जना परिवारलाई चल्ला वितरण गरिएको थियो । ‘सम्पूर्ण वडाले अतिविपन्न परिवार सिफारिस गरेका थिए । सोहीअनुसार अतिविपन्न परिवारलाई लोकल जातका चल्ला वितरण गरिएको छ । प्रतिपरिवार १० वटाका दरले वितरण गरिएको हो,’ शाखा प्रमुख थारुले भने ।
सो कार्यक्रमका लागि कूल १० लाख बजेट विनियोजन गरिएको थियो । उक्त बजेटमध्ये कूल ९ लाख ५० हजार रूपैयाँमा चल्ला खरिद गरिएको र ५० हजार रूपैयाँ ढुवानीमा खर्च भएको उनले बताए । गाउँपालिकाले लोकल जातका चल्ला खजुरास्थित कुखुरा विकास फर्मबाट खरिद गरेर ल्याइएको हो ।
अनुदानबाट विपन्न परिवारले अण्डा उत्पादनका साथै स्वरोजगार बनुन् भन्ने उद्देश्यले वितरण गरिएको अध्यक्ष शाहीको भनाइ छ । अध्यक्ष शाहीले भने, ‘यतिमात्रै होइन अपांगता भएका व्यक्तिहरूलाई बाख्रा वितरण गरेका छौँ । अतिविपन्न परिवारलाई चल्ला वितरण गरिएको छ । यतिमात्रै होइन कार्यक्रमअन्र्तगत थुप्रै सहयोग प्रदान गरिएको छ ।’ बैजनाथ गाउँपालिका वडा नम्बर ३ मा कृषि हाट बजार सुरु भइसकेको छ । वडा नम्बर १ मा पनि यसै आर्थिक वर्षमा सञ्चालन हुनेछ । गाउँपालिकाले ‘जियो कृषि एप’ सञ्चालनमा ल्याएको छ ।









प्रतिक्रिया दिनुहोस्