शुभाकर विश्वकर्मा कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुर नगरपालिकामा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १ का ६४ जना अव्यवस्थित बसोबासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो । शनिबार वडा नम्बर १ स्थित कृष्ण माध्यमिक विद्यालयमा भूमि समस्या समाधानको आयोग बाँकेको आयोजनामा एकैपटक ६४ जना अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण गरिएको हो ।
आयोगले गरेको लगत संकलनअनुसार कोहलपुर–१ मा अव्यवस्थित बसोबासीको संख्या १ हजार ४६ जना रहेको छ । अब वडा नम्बर १ मा जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्न ९८२ जना बाँकी रहेका छन् ।
यसअघि वैशाख २० गते संघीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको उपस्थिति कोहलपुर नगरपालिका वडा नम्बर–१ का ११६ जना भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको थियो ।
वडा नम्बर १ मा १३५ भूमिहीन दलित र १८४ जना भूमिहीन सुकुम्बासी छन् । उक्त वडामा अझै २०३ भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न बाँकी छ । त्यतिबेला जिल्लागत रूपमा भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई लालपुर्जा वितरण गर्ने बाँके जिल्ला देशकै चौथो जिल्ला बनेको थियोे ।
वर्तमान सरकार गठन भएर बनेको भूमि समस्या समाधान आयोग बनेपछि कोहलपुर नगरपालिकाले लुम्बिनी प्रदेशभरी सबैभन्दा पहिला लालपुर्जा वितरण गर्ने स्थानीय तहको कीर्तिमान बनाएको थियो । लुम्बिनीका १२ जिल्लामध्ये भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई लालपुर्जा वितरण गर्ने जिल्लागत रूपमा भने बाँके जिल्ला पहिलो हो । कोहलपुर नगरपालिकामा १७ हजार ६१५ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले लालपुर्जा प्राप्तिका लागि आवेदन फाराम दर्ता गराएका छन् । आयोगमा प्राप्त भएका सम्पूर्ण आवेदनको नापजाँच सम्पन्न भइसकेको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताए ।
शनिबार आयोजित लालपुर्जा वितरण सभालाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले भने, ‘वैशाख २० गते भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको थियो । वडा नम्बर १ बाटै अव्यवस्थित बसोबासीलाई समेत लालपुर्जा वितरण गरिएको छ । लालपुर्जा वितरण प्रक्रिया निरन्तर अघि बढ्छ ।’ असार मसान्तसम्म कोहलपुर नगरपालिकाका २ हजार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने र असोज र कार्तिक महिनासम्म कोहलपुरका विभिन्न वडाका ११ हजार जनालाई वितरण लक्ष्य रहेको आचार्यको भनाइ छ ।
यस्तै कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले स्थानीय सरकार जनताकै पक्षमा रहेको आभास दिलाउनेगरी लालपुर्जा वितरणलाई अभियानकै रूपमा सञ्चालन गरिएको बताइन् । उनका अनुसार उक्त अभियान कोहलपुर नगरपालिका १ बाट सुरु भएको छ । आफूहरूको कार्यकालसम्म सम्पूर्ण वडामा अभियानलाई पु¥याउने लक्ष्य रहेको उपप्रमुख सुवेदीको भनाइ छ । उक्त अवसरमा बोल्दै भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले बाँके जिल्लामा लालपुर्जाविहीनहरूलाई जग्गाको धनी बनाउने अभियानमा आयोग लागि परेको बताए ।
उनका अनुसार बाँकेका आठ स्थानीय तहमध्ये कोहलपुरमा लालपुर्जा वितरण सुरु भइसकेको छ । अन्य ६ स्थानीय तहमा जग्गा नाँपजाँच कार्य तीव्र गतिमा भइरहेको छ । जिल्लाका आठ स्थानीय तहमध्ये डुडुवा गाउँपालिकामा भने सम्झौता नभएका कारण कुनैपनि प्रक्रिया सुरु हुन सकेको छैन । कोहलपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बद्रीप्रसाद जैसीले आयोग, कोहलपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र राजनीतिक दलहरूको संयुक्त प्रयासले लालपुर्जा वितरणको महाअभियान सुरु भएको भन्दै खुसी व्यक्त गरे ।
‘लालपुर्जा पाउँदा स्थानीय दंग’
जाजरकोटको साविक दशेरा गाविस हाल छेडागाडमा जन्मिएका प्रेमबहादुर थापा विसं २०५६ सालदेखि कोहलपुर १ फूलबारी टोलमा बसोबास गर्दै आएका छन् । हाल वडा नम्बर १ का स्थायी बासिन्दा रूपमा बसोबास गर्दै आएका उनीसँग लालपुर्जा थिएन । लामो समयेदखि अव्यवस्थित बसोबासीको रूपमा जीवनयापन गरेका उनी लालपुर्जा पाउँदा खुसी देखिन्छ । ‘लामो समयदेखि प्रतीक्षा थियो । पाइन्छ कि पाइँदैन भन्ने अन्यौल उत्तिकै थियो । अहिले स्थानीय सरकार आएपछि हामीलाई जग्गाको मालिक बनाएको छ । म खुसीले दंग छु,’ उनले भने । पाँच जनाको थापाको परिवार ३३२.४४ हेक्टर-वर्गमिटर जग्गााको मालिक भएको छ ।
५८ वर्षीया पुथा सुनारको पनि मुहारमा खुसी झल्किन्थ्यो । हातमा लालपुर्जा समाएर खुसी हुँदै सुनारले भनिन्, ‘हामी सुर्खेतबाट यहाँ आएका छौँ । सारा जिन्दगी नै यहीँ बित्यो । मर्र्ने बेला भएपछि सरकारले लालपुर्जा दिएको छ । सरकारलाई धेरै धेरै धन्यवाद छ ।’ २०५८ सालमा मुगुबाट कौशिलानगर झरेका दानबहादुर रोकायाका अनुसार सरकारले गरिब, दुःखीलाई ढिलै भएपनि न्याय गरेको छ । उनले सरकारले पहिलेदेखि नै लालपुर्जा वितरण गरेर आफ्नो वाचा पूरा गरेको बताए । थापा भन्छन्, ‘मलाई खुसी लागेको छ । श्रीमान र श्रीमती भएपछि मात्रै दिने कुरा झन राम्रो लागेको छ ।’
लालपुर्जा वितरणपछि पाउने व्यक्ति मात्रै होइन सिंगो वडा नै खुसी भएको वडा सदस्य गंग कामीले बताए । उनले अहिलेसम्म कसैले पनि नपाएको र लामो समयको प्रयासपछि लालपुर्जा पाउन थालेको बताए । वडा नम्बर १ मा २०३६ सालदेखि नागरिकहरू बसोबास गर्दै आएका थिए । यो बस्ती कोहलपुरकै पुरानोमध्ये एक हो । यस वडामा देशका विभिन्न क्षेत्रबाट बसाइँसराइ गरेर आएका नागरिकहरूको बाहुल्यता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्