बिग्रेको डेढ महिना हुँदा पनि बनेन स्यार्पु जलविद्युत्



प्रचण्ड खत्री । रूकुम पश्चिम ।

रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ मा रहेको स्यार्पु साना जलविद्युत् आयोजना बिग्रिएको डेढ महिना पुगेको छ । तर मर्मत गरेर विद्युत् सुचारु गर्नेमा कसैको ध्यान पुगेको छैन् । २०४२ सालमा निर्माण भएको जलविद्युत् आयोजना बिग्रिएको ४६ दिन पुग्दासमेत यहाँका प्रतिनिधि सभा सदस्य तथा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले अहिलेसम्म चासो दिएका छैनन् ।

नेपालमा दैनिक २० घण्टासम्म लोडसेडिङ हुँदा बाफिँकोट र आसपासका स्थानीय तहमा लोडसेडिङको समस्या बेहोर्नु परेको थिएन । चैतको अन्तिमतिर बिग्रेको आयोजना निर्माणमा अहिलेसम्म कसैले आवाज उठाएका छैनन् ।

खाली टिप्पर दौडाउने बेला ड्राइभरको बेवास्ताका कारण पेनेस्टिकको पाइपमा समेत क्षति पुगेको छ । त्यसबाट पानी चुहिएका कारण विद्युत् अवरुद्ध भएको छ । साथै पेनेस्टिक पाइपका ४ वटा पिल्लरमा पनि क्षति पुगेको छ । टिप्पर सञ्चालक र नेपाल विद्युत् प्राधिकरण रूकुम पश्चिमबीच कुरा नमिल्दा विद्युत् सुचारु हुन नसकेको स्थानीयहरूको भनाइ छ ।

यहाँका जनताले समस्या भोगिरहेका छ । यस ठाउँमा विद्युत्को केन्द्रीय प्रसारण लाइन आए तापनि अघोषित लोडसेडिङको समस्या भोग्नु परेको छ । आजभोलि २ घण्टा बत्ती आउने र बाँकी २२ घण्टा बत्ती नहुँदा स्थानीयले सास्ती भोगिरहेका छ्न । बिग्रेको विद्युत् बनाउने तिर कसैको ध्यान गएको छैन । अहिलेसम्म झारा मेट्ने काम भएको सरोकारवालाको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ ३० गते शुक्रबार