वीरेन्द्रनगर ।
कालिकोट पचालझरना गाउँपालिकाले कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई एमबीबीएस पढाउने नीति लिएको छ । आव २०८२÷०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाले यस्तो बताएको हो ।
बुधबार पालिका केन्द्र पडेक्षामा पालिका अध्यक्ष देवराज शाही ‘अग्नी’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई एमबीबीएस पढ्नका लागि छात्रवृत्ति दिने बताए ।
साथै गाउँपालिकाले ‘राष्ट्रसेवक कर्मचारी पचालझरनाको शान, सरकारी सेवामा प्रवेश गर्नेलाई पालिकाको सम्मान’ जस्ता कार्यक्रम ल्याएको छ । अध्यक्ष शाहीले आव ०८२÷०८३ मा गाउँपालिकावासीको आवश्यकता र संघीयताको मर्म र भावनाअनुरुप योजना सम्झौताको लागि वडावडामा घुम्ती शिविर गर्ने बताए । उक्त शिविरमार्फत् घुम्ती योजना सम्झौता शिविर सञ्चालन गरी आयोजनासम्बन्धी कार्यलाई चुस्त, दुरुस्त, छिटो, छरितो रूपमा जनताको घर दैलोमा प्रभावकारी सेवा प्रवाहको व्यवस्था मिलाइने उनले उल्लेख गरे ।
‘गाउँपालिकाबाट हुने सेवा प्रवाह, निर्णय निर्माण, नीति निर्माण र विकास निर्माणका कार्यलाई प्रभावकारी बनाउन, कार्यालयको समग्र सेवा प्रवाहलाई व्यवस्थित र समायानुकूल बनाउन वार्षिक कार्ययोजना सहित लागु गरिनेछ,’ उनले भने, ‘गाउँपालिकाको स्वीकृत दरबन्दी संरचना, स्थानीय आवश्यकता र राजस्व क्षमताको आधारमा विद्यमान कर्मचारी संगठनलाई चुस्तदुरुस्त बनाउन संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने सम्बन्धमा आवश्यक पहल थालिने छ ।’
पालिकाले ‘कृषि उत्पादनमा वृद्धि पचालझरनाको समृद्धि’ भन्ने योजना ल्याएको छ । कृषि क्षेत्रको उत्पादन एवम् उत्पादकत्व बढाउँदै गाउँपालिकाको आर्थिक विकासमा यस क्षेत्रको योगदानमा वृद्धि गरिने अध्यक्ष शाहीले बताए । उनका अनुसार गाउँपालिकामा खाद्यान्न, तरकारी, फलफुल, नगदेबाली स्थानीय रैथाने बालीको प्रवद्र्धन तथा व्यवसायीकरणका लागि प्रोत्साहन गरिने छ ।
यस्तै देशकै अग्लो मानिएको पचालझरनाको प्रचारप्रसारको लागि कार्यक्रमसहित आवश्यक पहल गर्ने उल्लेख छ । नीति तथा कार्यक्रममा गाउँपालिका क्षेत्रभित्र रहेका पर्यटकीय, धार्मिक सांस्कृतिक महत्वका क्षेत्रको एकीकृत विकास र प्रवर्धनको लागि एकीकृत पचालझरना पर्यटन गुरुयोजना निर्माणको लागि आवश्यक व्यवस्था मिलाइने बताइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रदेश अस्पताल र जिल्ला अस्पतालसँगको समन्वय र सहकार्यमा पालिकास्तरीय एकीकृत स्वास्थ्य शिविर सञ्चालनको लागि आवश्यक पहल गरिने जनाइएको छ । स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन स्थानीय सरकार लागिपर्ने पालिकाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्