थ्रिस्टार मोबाइल पसलबाट असुली गरेको पाँच लाख रूपैयाँ प्रहरी सहायक हवलदार मोहम्मद सफिक खान, प्रहरी सहायक हवलदार परमानन्द बर्मा, सशस्त्र प्रहरी जवान रामसुन्दर चौधरी, मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ बाँकेका अध्यक्ष गोबिन्द भण्डारी र आफूलाई पत्रकार तथा भ्रष्टाचार विरुद्धको अभियान्ता बताउने सूर्यप्रसाद रिजालले फिर्ता गरेका छन् । असुली गरेको रकम फिर्ताका लागि सोमबार नेपालगन्जको टांगा स्टेशसनमा खान, बर्मा र चौधरीले भण्डारी र रिजाललाई उक्त रकम दिएका थिए । सो रकम उनीहरूले सोमबार अपरान्ह्र पसलमा नै पुगेर फिर्ता गरेका हुन् ।
कृष्ण ओली । बाँके ।
कोहलपुर नगरपालिका– ११ मा रहेको एक पसलबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका घुमुवा लगायतको संग्लनतामा असुल गरिएको पाँच लाख रूपैयाँ फिर्ता गरिएको छ । डरत्रास देखाएर नेपाल प्रहरीका दुई, सशस्त्र प्रहरीका एक र अन्य दुई जना गरी पाँच जनाको समूहले कोहलपुरको पुरानो बसपार्क नजिकै रहेको थ्रिस्टार मोबाइल पसलबाट पाँच लाख रूपैयाँ असुली गरेका थिए ।
मोबाइल पसलबाट पाँच लाख रूपैयाँ असुल गर्नेमा प्रहरी सहायक हवलदार मोहम्मद सफिक खान, प्रहरी सहायक हवलदार परमानन्द बर्मा र सशस्त्र प्रहरी जवान रामसुन्दर चौधरी रहेका छन् । खान र बर्माद्वय लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) राजेन्द्रप्रसाद भट्टले बाँके, बर्दिया जिल्ला हेर्नेगरी खटाएका घुमुवा प्रहरी हुन् । दुवैजनाको दरबन्दी प्रहरीको लागूऔषध ब्युरोमा रहेपनि डीआइजी भट्टले दुई जिल्ला हेर्नेगरी मौखिक रूपमा जिम्मा दिएका थिए ।
त्यस्तै अर्का चौधरी चौलिकामा रहेको सशस्त्र प्रहरी बल नम्बर ३० गणबाट खटिएका सशस्त्र प्रहरीका घुमुवा हुन् । यो घटनामा आफूलाई पत्रकारसमेत बताउने मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ बाँकेका अध्यक्ष गोबिन्द भण्डारी र आफूलाई पत्रकार तथा भ्रष्टाचार विरुद्धको अभियान्ता बताउने दैलेख घर भई हाल नेपालगन्ज बस्दै आएका सूर्यप्रसाद रिजाल संग्लन थिए । दुवै जनाले बिचौलियाको भूमिका निर्वाह गरेको बताइन्छ ।
मंगलबारको अंकमा मिसन टुडेले ‘प्रहरीकै संग्लनतामा व्यवसायीबाट पाँच लाख असुली’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । मोबाइल पसलका एक कर्मचारीका अनुसार बिचौलियाको काम गर्ने आफूलाई पत्रकारसमेत बताउने संघका अध्यक्ष भण्डारी र रिजालले नै जेठ २६ गते अपरान्ह थ्रिस्टार मोबाइल पसलमा नै पुगेर पाँच लाख रूपैयाँ फिर्ता गरेका हुन् ।
जेठ २१ गते बुधबार अपरान्ह पाँच लाख रूपैयाँ असुली गर्ने क्रममा समेत घुमुवा प्रहरीसँगै उनीहरूको उपस्थिति रहेको थियो । घुमुवा प्रहरीसँग योजना बनाएर उनीहरूले पाँच लाख रूपैयाँ असुली गरेको आंशका गरिएको छ ।
पसल सञ्चालकले समेत डर धम्की दिएर उनीहरूले असुल गरेको पाँच लाख रूपैयाँ फिर्ता पाएको मिसन टुडेलाई जानकारी दिए । ‘पाँच लाख रूपैयाँ संघका अध्यक्षले ल्याएर पसलमा बुझाउनुभएको हो,’ पसल सञ्चालकले भने, ‘उहाँसँग अर्का व्यक्तिसमेत झोलामा पैसा लिएर आएका थिए ।’ पैसा बुझाउन संघका अध्यक्षसँगै रिजालसमेत पैसा राखेको झोला समातेर मोटरसाइकलको पछाडी बसेर पुगेका थिए ।
रिजालले समेत मिसन टुडेसँग कुरा गर्दै आफू संघका अध्यक्षले भनेपछि उहाँसँगै गएर झोला पसलमा छोडेको बताए । ‘संघका अध्यक्ष ज्यूले भनेपछि मोटरसाइकलको पछाडी बसेर गएर उहाँले नै दिएको झोला पसलमा छोडेको हुँ,’ उनले भने, ‘त्यहाँभित्र के थियो भन्नेकुरा मलाई थाहा भएन ।’ रिजालले त्यस्तो भनेपनि संघका अध्यक्ष भण्डारी र रिजालले झोलाबाट पैसा झिकेर गनेर नै पसलमा बुझाएका थिए ।
पैसा बुझाउनभन्दा पहिला इलाका प्रहरी कार्यालय कोहलपुरमा व्यवसायीका नेता, प्रहरीका अधिकारी, रकम दिने पक्ष र असुली गर्नेहरूबीच छलफल भएको थियो । स्रोतका अनुसार छलफलमा असुली गरिएको पाँच लाख रकम फिर्ता गरेर घटनालाई मिलाउने एक किसिमको छलफल भएको थियो ।
सोही अनुसार नै घुमुवाहरूले जेठ २६ गते नेपालगन्जको टांगा स्टेशसनमा फिर्ताको लागि संघका अध्यक्ष भण्डारी र रिजाललाई रकम बुझाएका थिए । त्यहाँ बुझेको पैसा भण्डारी र रिजालले पसलमा ल्याएर बुझाएका हुन् । संघका अध्यक्ष भण्डारी भने मिसन टुडेले पटक पटक सम्पर्क गर्दासमेत सम्पर्कमा आएनन् । मंगलबारको अंकमा मिसन टुडेले यसबारेमा समाचार प्रकाशित गरेपछि इलाका प्रहरी कार्यालय कोहलपुरले पीडितलाई बोलाएर उजुरी दिन लगाएको थियो ।
उनीहरूले पसलमा बार्गेनिङ गरेर नेपालगन्ज–कोहलपुर सडक खण्डको जानकी गाउँपालिका– ६ प्रिप्रहवाको एक खाजा पसल अगाडि पाँच लाख रूपैयाँ नगद बुझेका थिए । भारतीय नम्बर प्लेटको यूपी५०एए ९८८५ नम्बरको कार चढेर उनीहरू रकम बुझ्न पुगेका थिए ।
‘सरहरूले कारमा पैसा राख्न लगाएपछि कोहलपुरबाट बोकेर गएको पाँच लाख नगद रूपैयाँ भारतीय नम्बर प्लेटको कारमा राखेको हुँ,’ नाम उल्लेख नगरिदिन आग्रह गर्दै ती व्यवसायीले भने, ‘पसलमा आएर लागूऔषध लगायतका मुद्दामा फसाइदिने धम्की दिएपछि मंहगो ब्याजमा सापटी लिएर पैसा बुझाएको हुँ ।’
यस्तो थियो पाँच लाख असुलीको घटनाक्रम
थ्रिस्टार मोबाइल पसलमा राखिएको सिसिटिभी भिडिओअनुसार तीनैजना घुमुवा जेठ २१ गते बुधबार मध्यान्ह २ बजेर ३६ मिनेट जाँदा मोबाइल पसलको बाहिर पुगेका थिए । उनीहरूमध्ये दुई जना प्रहरीका घुमुवाले आफूहरू प्रहरी भएको भन्दै पसलमा छापा हान्न आएको भनेर प्रहरीको परिचयपत्र समेत देखाए ।
लगत्तै प्रहरीका दुई जना घुमुवाले बाहिरपट्टी सेवाग्राही बस्ने कुर्सीमा बसेर केरकार गर्छन् भने सशस्त्र प्रहरीका घुमुवाले रेकी गर्छन् । मिसन टुडेलाई प्राप्त सिसिटिभी भिडिओअनुसार केही मिनेट बाहिरबाटै केरकार गरेपछि २ बजेर ४३ मिनेटमा प्रहरी सहायक हवलदार बर्मा पसलभित्र छिर्छन् । लगत्तै प्रहरी सहायक हवलदार खानसमेत भित्र पस्छन् । २ बजेर ५० मिनेट जाँदा प्रहरीसँग कुराकानी गरेर सशस्त्रका घुमुवा चौधरीसमेत मोबाइल पसलभित्र पसेको सिसिटिभी भिडिओमा प्रस्ट देखिन्छ । त्यसपछि तीनै जना मिलेर पसल सञ्चालकलाई सोधपुछ गर्छन् भने पसलमा राखिएका मोबाइल लगायतका सामानहरू खोलेर हेर्छन् ।
घुमुवा प्रहरीले धम्की दिन थालेपछि पसल सञ्चालकले मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ बाँकेका अध्यक्ष गोबिन्द भण्डारीलाई फोन गर्छन् । २ बजेर ५९ मिनेटमा संघका अध्यक्ष भण्डारी दैलेख घर भई हाल नेपालगन्ज बस्दै आएका सूर्यप्रसाद रिजाललाई लिएर भित्र छिर्छन् । ३ बजेर १४ मिनेटमा अध्यक्ष भण्डारीसँग गएका व्यक्तिले भित्रबाट सबै सटर बन्द गरिदिन्छन् ।
त्यसपछि घुमुवा प्रहरी, संघका अध्यक्ष भण्डारी उनीसँग गएका रिजाल, पसल सञ्चालकबीच केहीबेर कुराकानी भएको सिसिटिभी भिडिओमा देखिन्छ । ३ बजेर १९ मिनेटमा पसल सञ्चालक हात जोडेर उनीहरूसँग हारगुहार गरिरहेका देखिन्छन् । त्यसपछि संघका अध्यक्ष तथा घुमुवा प्रहरी मिलेर फेरी पसलका सामानहरू हेर्छन् ।
३ बजेर २७ मिनेटमा उनीहरूले पसलमा जडान गरेको सिसिटिभी क्यामेरा सञ्चालनको लागि जडान गरिएको लाइनको तार नै निकालेर सिसिटिभी क्यामेरा बन्द गराउँछन् । सिसिटिभी क्यामेरा बन्द गराएपछि धम्की दिँदै उनीहरूले पसल सञ्चालकसँग पैसाको बार्गेनिङ गर्न सुरु गर्छन् । पसलमा कार्यरत एक कर्मचारीका अनुसार घुमुवा प्रहरीले आफूहरूले मागेको रकम नदिए लागूऔषध लगायतका मुद्दामा फसाइदिने भन्दै धम्की दिएका थिए ।
संघका अध्यक्ष भण्डारीले समेत घुमुवासँग निहु नखोज्न र मिलाएर जान नै पसल सञ्चालकलाई सुझाव दिएका थिए । सुरुमा उनीहरूले आठ लाख रूपैयाँ दिनुपर्ने माग गरे । पसल सञ्चालकले त्यति रकम दिन नसक्ने भन्दै मिलाउन भनेपछि उनीहरूले सात लाख रूपैयाँको माग गरेका थिए । सात लाखमा समेत कुरा नमिलेपछि पाँच लाख भए हुनेगरी घुमुवासँग कुरा मिलाए ।
त्यसपछि उनीहरूले आफूलाई तत्कालै पाँच लाख रूपैयाँ दिनुपर्ने र नपाए राम्रो नहुने बताएका थिए । पसल सञ्चालकले आफूसँग अहिले त्यतिधेरै पैसा नभएको र दुई चार दिनमा दिने प्रस्ताव गरे । उनीहरूले त्यो प्रस्ताव नमानेपछि सञ्चालक ऋण खोज्नतिर लागेका थिए । त्यहीबाट नै केही व्यक्तिलाई पैसा चाहिएको भन्दै उनले फोन गरे । कतैबाट समेत पैसाको जोहो हुन नसकेपछि पसल सञ्चालकले एक व्यक्तिबाट पाँच लाख रूपैयाँ सापटी पाएका थिए । ती व्यक्तिलाई उनीले आफ्नो स्टाफ मन्सुर खानको नाममा पाँच लाखको चेक काट्न लगाए । खानको नाममा पाँच लाखको चेक आइसकेपछि सडकमा राखिएको सिसिटिभी भिडिओअनुसार घुमुवा प्रहरीहरू चेक साटेर रकम ल्याउनु भन्दै ३ बजेर ५१ मिनेटमा पसलबाट बाहिरिएका थिए ।
३ बजेर ५२ मिनेटमा सय मिटर टाढा हरियाली मार्गमा राखिएको भारतीय नम्बर प्लेटको यूपी५०एए ९८८५ नम्बरको कार चढेर तीनै जना घुमुवाहरू गएका थिए । उनीहरूले पसल सञ्चालकलाई चेक साट्न लगाएर नगद रकम ल्याउन संघका अध्यक्ष भण्डारीलाई जिम्मा दिए । घुमुवा गएपछि तत्कालै पसल सञ्चालक आफ्नो स्टाफले बैंकबाट साटेर ल्याएरको रकमसँगै आफ्नो मोटरसाइकलमा संघका अध्यक्ष भण्डारीलाई राखेर नेपालगन्जतिर लाग्छन् । चेक साटेर नगद लिएपछि अध्यक्ष भण्डारीले उनीलाई पिप्रहवामा रकम बुझाउन जानुपर्ने भयो भनेर उतै लिन्छन् ।
पहिला नै त्यहाँ भएका उनीहरूले नगद पाँच लाख रूपैयाँ भारतीय नम्बरको कारमा राख्न लगाएका थिए । पाँच लाख नगद दिएको कुरा कसैलाई खबर गरे सिध्याइदिने धम्कीसमेत मोबाइल पसल सञ्चालकलाई दिए । ‘पैसा नदिँदा मात्रै होइन, पैसा दिएपनि कतै खबर गरे राम्रो हुँदैन भनेर धम्की दिए,’ ती पसल सञ्चालकले मिसन टुडेसँग शनिबार भने, ‘बिहीबारसमेत नेपालगन्जको गणेशमान चोक नजिकैको मोबाइल पसलमा बोलाएर अरु कसैलाई थाहा दिए ब्राउनसुगर केसमा फसाइदिने बताए ।’ उनीहरूले मोबाइल पसल सञ्चालकलाई आगामी दिनमा मिलेर काम गर्नुपर्ने भन्दै अब ढुक्क गएर काम गर्न भनेका थिए ।
जेठ २२ गते बिहीबार इलाका प्रहरी कार्यालय कोहलपुरमा मुद्दा दर्ता गर्न खोजेका उनलाई संघका अध्यक्ष भण्डारीले मुद्दा दर्ता नगरेर मिलेर जानुपर्ने भन्दै नेपालगन्जको गणेशमान चोक नजिकै पु¥याएका थिए । त्यहाँको एक मासु पसलमा तीनजना घुमुवा प्रहरीले पसल सञ्चालकलाई कतै उजुरी गरेर राम्रो नहुने भन्दै चुपचाप बस्न धम्की दिएका थिए । घटनामा संघका अध्यक्ष भण्डारी र उनीसँग गएका रिजालको भूमिका शंकास्पद देखिन्छ । मंगलबार मात्रै मिसन टुडेको सम्पर्कमा आएमा रिजालले भने आफू भण्डारीसँगै मोबाइल पसलमा गएको स्वीकार गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्