दर्ताबिना सञ्चालित १० वटा स्वास्थ्य संस्था बन्द



oplus_1024

श्यामलाल पोखरेल । बुटवल ।

रुपन्देहीको भैरहवामा दर्ताबिना सञ्चालन गरिएका आठवटा क्लिनिक र दुई ल्याब गरी १० वटा स्वास्थ्य संस्था प्रशासनले बन्द गरेको छ । अनुगमन गर्दा दर्ताबिना सञ्चालन गरिएको भेटिएपछि अनुगमन समितिको सिफारिसमा क्लिनिक र ल्याब बन्द गरिएको हो । बुधबार अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका र दर्ताबिनै सञ्चालन भइरहेको भेटिएपछि व्यवसायिक स्वास्थ्य संस्था बन्द गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी रानाले जानकारी दिए ।

१४ वटा निजी स्वास्थ्य संस्थामा अनुगमन गर्दा १० वटा मापदण्डविपरीत सञ्चालन भएको भेटिएपछि बन्द गरिएको उनले बताए । कतिपय क्लिनिकले बिरामी भर्ना गरेरै उपचार गरिरहेको पाइएको अनुगमन समितिको टोलीले जनाएको छ । अनुगमन टोलीले दर्ता गरी मापदण्ड पूरा गरेर सञ्चालन गर्न निर्देशन दिएको छ । फार्मेसी सञ्चालनको अनुमति लिए पनि क्लिनिक सञ्चालनको अनुमति नलिएको पाइएपछि बन्द गरिएको हो ।

बन्द गरिएका क्लिनिकहरूमा सिद्धार्थनगरमा सञ्चालित शिवम् क्लिनिक प्रालि, महादेजस फार्मेसीमा सञ्चालित क्लिनिक, होमटाउन फार्मेसीमा सञ्चालित क्लिनिक, श्रीनगर अप्टिकल सेन्टरमा सञ्चालित क्लिनिक, नेपाल चम्सा पसलमा सञ्चालित क्लिनिक छन् । यस्तै, जिविका मेडिकल प्रालिमा सञ्चालित क्लिनिक, श्रद्धा क्लिनिक र रोशिष प्याथोलोजी एण्ड क्लिनिक छन्, लुम्बिनी प्थालोजी र न्यु ओम प्याथोलोजी ल्याब पनि बन्द गरिएको छ । बन्द गरिएका क्लिनिक र ल्याबहरू सिद्धार्थनगर वडा ७, १२ र १३ का हुन् ।

यीमध्ये दर्ता नभएका र मापदण्ड नपुगेका अधिकांश भैरहवास्थित जिल्ला अस्पताल भीम अस्पताल आसपासका छन् । अनुगमनको क्रममा स्वास्थ्य संस्थामध्ये केहीले स्वास्थ्य कार्यालय रुपन्देही र केहीले सिद्धार्थनगर नगरपालिकाबाट अनुमति नै नलिइ सञ्चालन गरेको स्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले जानकारी दिए । सञ्चालन अनुमति नलिँदासम्म यी क्लिनिक र ल्याब सञ्चालनमा रोक लगाइएको अनुगमन टोलीले जानकारी गराएको छ । यसअघि दर्ताबिना सञ्चालन गरिएका बुटवलका ६ वटा क्लिनिक बन्द गरिएको थियो । बुटवलमा पनि अनुगमनका क्रममा दर्ताबिना सञ्चालन भएको भेटिएपछि बन्द गराइएको हो ।

बुटवलमा धेरै क्लिनिक खोलिएपनि केही दर्ताबिना सञ्चालन भएका भेटिएपछि कारबाही गरिएको हो । पछिल्लो समयमा बुटवल र भैरहवामा उजुरी पर्न थालेपछि स्वास्थ्य क्षेत्रमा अनुगमन अगाडी बढाइएको छ । अनुगमनलाई निरन्तता दिए रुपन्देहीमा अझै थुप्रै क्लिनिकहरू बिनादर्ता सञ्चालित भएको भेटिन सक्ने अनुमान गरिएको छ । स्वास्थ्य क्षेत्रमा बेथिति रहेको अनुगमनले पुष्टि गरेको छ ।

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा भएको अनुगमनमा, सिद्धार्थनगर नगरपालिका, स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी, सिद्धार्थ उद्योग वाणिज्य संघ, भीम अस्पतालका चिकित्सक, उपभोक्ता हित संरक्षण मञ्च, औषधी व्यवसायी संघ लगायतका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ २९ गते बिहीबार