‘भेरी–१’ जलविद्युत् आयोजना निर्माण हुने



जाजरकोट ।

नलगाड नगरपालिका र रूकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित भेरी नदीमा २७० मेगावाटको अर्धजलाशयुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ । चिनियाँ गेजुवा कम्पनीले जाजरकोट जिल्लाको नलगाढ नगरपालिका–१० देखि १३ र रूकुम पश्चिमको आठविसकोट नगरपालिका–४ देखि ६ मा २७० मेगावाटको भेरी–१ अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो ।

यो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमाथि वन तथा वातावरण मन्त्रालयमा छलफल गरी राय सुझाव लिइएको छ । मन्त्रालयका सहसचिव धीरेन्द्रकुमार प्रधानका अनुसार वातावरण संरक्षण ऐन, २०७६ ले तोकेको राय सुझाव समितिको बैठकमा लिइएको हो । स्थानीय जैविक विविधता, स्थानीय तथा आदिवासी जनताको जीविकोपार्जनलाई कम असर गर्नेगरी प्रस्तावित आयोजना निर्माणलाई अगाडि बढाउनुपर्ने छलफल भएको उनले बताए ।

बैठकमा राय सुझाव समितिका सदस्यसचिव एवम् मन्त्रालयका उपसचिव रमेश बस्नेतले वातावरणीय अध्ययन प्रतिवेदन औपचारिकतामा मात्रै सीमित नहुने बताए । उक्त प्रतिवेदन यस आयोजनाको दिगो सञ्चालनका लागि तयार पारिएकोे वैज्ञानिक एवम् कानुनी दस्तावेज भएको उनले उल्लेख गरे ।

उक्त आयोजनाको वातावरणीय अध्ययन गरिरहेको एनआरएसीका कार्यकारी निर्देशक डा. ज्योतीप्रसाद गजुरेलले आयोजना निर्माणका क्रममा २४.७५ हेक्टर जग्गाको प्रयोग हुने जानकारी दिए । उक्त आयोजना निर्माण गर्दा १५२ रुख काट्नुपर्ने आवश्यक देखिएको छ । ६ घण्टासम्म पानी जम्मा गर्नेगरी निर्माण गर्न लागिएको उक्त आयोजनाको ३८ मिटर अग्लो बाँध निर्माण हुने उल्लेख छ ।

यो आयोजनाको ५ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । उक्त आयोजना ४६ अर्बमा लागतमा सम्पन्न हुने अनुमान छ । आयोजनाका लागि भेरी नदीमा ३ वटा बेलिब्रिजसमेत निर्माण गर्नुपर्ने उल्लेख छ । आयोजनाको पावरहाउस रूकुम पश्चिमको आठविसकोट गाउँपालिकास्थित ज्यामिरेमा बन्नेछ भने ७ किलोमिटरको टनेल बन्ने बताइएको छ । उक्त आयोजना स्थलमा पुग्नका लागि मुख्य बाटोबाट ११ किलोमिटरको सहायक बाटो निर्माण गर्नुपर्ने उल्लेख छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ २९ गते बिहीबार