नन्दराम जैशी । दैलेख ।
जिल्लामा एकीकृत कृषि बजार सञ्चालनमा आएको छ । मंगलबार एक कार्यक्रमकाबीच एकीकृत कृषि बजारको उद्घाटन गरिएको हो । कर्णाली सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले कृषि बजार उद्घाटन गरेका हुन् । जिल्लाको नारायण नगरपालिका र कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेतको साझेदारीमा कृषि बजारका संरचना निर्माण गरिएका छन् । दैलेख सदरमुकाम नजिकै कृषि बजार निर्माण गरिएको हो ।
कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेतका कार्यक्रम संयोजक बासुदेव काफ्लेका अनुसार कृषि बजार निर्माणका लागि २०७९ असोज ३० गते रोहित कन्ट्रक्सन प्रालिसँग निर्माण सम्झौता भएको थियो । कुल १ करोड ७ लाख ८७ हजार लागतमा कृषि बजार निर्माण भएको उनले बताए । १० प्रतिशत नारायण नगरपालिका र ९० प्रतिशत कृषि क्षेत्र विकास कार्यक्रमको लागतमा कृषि बजार निर्माण भएको हो ।
‘यसको अपनत्व लिएर संरक्षण र सञ्चालन गर्ने जिम्मा नारायण नगरपालिकाको हुनेछ,’ उनले भने, ‘अब कृषि बजारलाई दिगो रूपमा सञ्चालन गर्न जोड दिनुपर्छ । किसानले उत्पादन गरेका कृषि उपजलाई सहज रूपमा बजारसँग जोड्ने उद्देश्यले कृषि बजार स्थापना गरिएको हो ।’
कृषि बजारमा कृषि उपज सहज रूपमा बेच्न कृषकका लागि आवश्यक संरचनासहितको ठाउँ व्यवस्थापन गरिएको छ । कृषि उपज स्टोरका लागि भवनहरु निर्माण गरिएका छन् । उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष नरेन्द्रबहादुर थापाले कृषि बजार दिगो रूपमा सञ्चालन गर्न उद्योग वाणिज्य संघले आवश्यक समन्वय गर्ने बताए । उनले भने, ‘जिल्लामा कृषि बजारको आवश्यक थियो । ढिलै भएपनि सञ्चालनमा आएको छ । तर यसको संरक्षण र नियमित सञ्चालनमा ध्यान दिनुपर्छ । नत्र बनेका भौतिक संरचनामात्रै जीर्ण हुने छैनन्, करोडको लगानी पनि खेर जानेछ ।’
कृषि मन्त्रालयका सचिव प्रशुराम रावतले कृषि बजारमा महत्वपूर्ण संरचना निर्माण भएको भन्दै यसको प्रयोगमा ध्यान नदिए उद्देश्य पूरा नहुने बताए । किसानले उत्पादन गरेका कृषि बस्तुले उचित मूल्य पाउन र उनीहरू नठगिउन भनेर उनीहरूले आफैँ बेच्न पाउनेगरी हाटबजार सञ्चालनमा आएको उल्लेख गरे । हाटबजारको दीर्घकालीन रूपमा सञ्चालनका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने उनको भनाइ छ ।
कृषि मन्त्री विनोदकुमार शाहले किसानलाई व्यवसायिक रूपमा कृषि उपज उत्पादन गर्न अनुरोध गरे । किसानले थोरै थोरै उत्पादन गरेको तरकारी कृषि बजारमा आएपछि त्यहाँबाट ठूलो परिणाममा निर्यात गर्न सहज होस् भन्ने ध्ययेले कृषि बजारको परिकल्पना गरिएको उनको भनाइ छ ।
‘यस्ता संरचना धेरै ठाउँ पहिले पनि बनेका छन् । ती कुनै प्रयोगमा आएर सफल बनेका छन् भने कुनै प्रयोगविहीन भएर असफल पनि बनेका छन् । यसको सदुपयोग कसरी गर्नुहुन्छ त्यो हेर्न बाँकी छ,’ उनले भने, ‘अब डोकोमा बोकेर घरघर तरकारी बेच्न लैजाने समस्या अन्त्य हुनेछ । त्यसैले कृषि बजारमा मात्रै कृषि उपज ल्याउने गरी होइन, अब गाडीमा निर्यात गर्नेगरी उत्पादन बढाउनुहोस् । बजार ग्यारेन्टी प्रदेश सरकारले गर्छ ।’
सरकारले गर्ने सहयोग जारी राखेको उल्लेख गर्दै किसानलाई आफैँ आत्मनिर्भर बन्नेगरी उत्पादनमा लाग्न उनको अनुरोध छ । २ हेक्टरभन्दा बढी जमिनमा खेती गर्ने किसानको बैंकको ब्याजपनि प्रदेश सरकारले तिरिदिने जानकारी दिँदै युवाहरुलाई कृषि ओैद्योगिकीकरणमा लाग्न उनको सुझाव छ । निजी क्षेत्रले अन्य विकास निर्माणसँगै कृषि उत्पादन र कृषि बजार सञ्चालनमा भूमिका खेल्नुपर्ने मन्त्री शाहले बताए ।
नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले कृषि बजार संरक्षण र सञ्चालनको जिम्मेवारी नगरपालिकालाई रहेको भन्दै यसको प्रयोगमा साथ दिन किसानहरुलाई अनुरोध गरे । ‘कृषि बजार नियमित सञ्चालनका लागि आवश्यक मापदण्ड बनाएका छौँ । त्यसका लागि समिति पनि बनिसकेको छ,’ उनले भने, ‘चिस्यान केन्द्र पनि निर्माण भएको छ । कृषि उपजले मूल्य नपाएको बेला चिस्यान भण्डारमा राखेर उचित मूल्य पाएको बेला बेच्नेगरी किसानले सहयोग लिन सक्नेछन् । जिल्ला कृषि विकास कार्यालय दैलेखका निमित्त प्रमुख दशरथ पाण्डेका अनुसार कृषि कार्यालयले निर्माण गरेको शीत भण्डार नारायण नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।









प्रतिक्रिया दिनुहोस्