कोहलपुर ।
बाँकेको कोहलपुरमा पहिलो पटक १४ वर्षमुनिका बालबालिकालाई ग्रासरुट लेबलको १० दिने फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ । प्रशिक्षण कार्यक्रको लुम्बिनी प्रदेश सांसद दुर्गाप्रसाद चौधरीले उद्घाटन गरेका हुन् ।
फुटबलमा रुचि राख्ने बालबालिकाहरूको खेलमा थप निखारता ल्याउन प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गरिएको उनले बताए । गाउँघर र कुनाकन्दरामा लुकेर रहेका प्रतिभाहरूको खोजी गर्ने पनि मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।
आफ्नो प्रतिभा देखाउने अवसर नपाउँदा कोहलपुरका खेलाडीहरूको राष्ट्रियस्तरसम्म प्रतिनिधित्व थोरै हुने गरेको बताए । त्यसैले प्रतिभा भएपनि अवसर नपाउँदा राष्ट्रियस्तरमा प्रतिनिधित्व कम हुन नदिन ग्रासरुटबाटै प्रशिक्षण दिन सुरु गरिएको उनले जानकारी दिए ।
६ जना प्रशिक्षक राखेर प्रशिक्षण गराइने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए । प्रशिक्षणमा १ सय ५० जना खेलाडीहरू सहभागी हुने उनको भनाइ छ । फुटबलको विकासका लागि ग्रासरुट लेबलबाट प्रशिक्षण सञ्चालन गर्न लुम्बिनी प्रदेश सरकारले गरेको काम निकै सराहनीय रहेको बताए ।
कोहलपुर नगरपालिकाभित्र रहेका तीनवटा राम्रा खेलमैदान भएका विद्यालय ज्ञानज्योति मावि चप्परगौडी, कृष्ण मावि कौशीलानगर र जीवनज्योती स्कुलमा प्ररीक्षण सञ्चालन हुने सिटी यूथ क्लबका अध्यक्ष युवराज शाहीले बताए । विद्यालयस्तरबाटै राीष्ट्रयस्तरका खेलाडीहरूको उत्पादन हुने भएकाले उनीहरूका लागि प्रशिक्षण सुनौलो अवसर रहेको उनको भनाइ छ ।
कोहलपुरलाई खेलकुदको माध्यमबाट चिनाउन पहिलो पटक खेलाडीहरूलाई जर्सीदेखि जुत्तासम्म सुविधा दिएर प्रशिक्षण सुरु भएको उनले बताए । घर बलियो बनाउन जग बलियो बनाउनुपर्छ भन्ने हिसाबले ग्रासरुटबाट प्रशिक्षण सुरु गरिएको उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्