कर्णाली विकासमा हातेमालो गर्न जोड



सुर्खेत ।

कर्णाली प्रदेशको विकासका लागि सबै क्षेत्रले हातेमालो गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । मानव अधिकार तथा शान्ति समाज सुर्खेतद्वारा आयोजित नागरिक संवाद कार्यक्रममा बोल्ने पूर्वमुख्यमन्त्रीदेखि वर्तमान मन्त्री, सांसद र अन्य सहभागीले यस्तो बताएका हुन् ।

समुन्नत, समृद्ध कर्णालीका लागि सार्थक योगदान गर्न नागरिक संवाद कार्यक्रम गरिएको शान्ति समाज सुर्खेतका सभापति दिपक गौतमले जानकारी दिए ।
पूर्वमुख्यमन्त्री तथा नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली विकासका सन्दर्भमा जानेबुझेका मान्छेले नै केही हुँदैन सकियो भन्ने गलत भाष्य बनाउन नहुने बताए । प्रदेश सरकारले उपलब्ध स्रोत साधन अनुसार विकासको काम जारी राखेको भन्दै विकासका गतिविधिमा सबै क्षेत्रले हातेमालो गरी काम गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘यो मुलुक हामी जस्ता चेतनशील बुझेका मान्छेबाटै बिग्रेको हो । सामान्य नागरिकले भन्दा पदीय जिम्मेवारीमा रहेका व्यक्तिले काम गर्दा होस् वा बोल्दा ख्याल गर्नुपर्छ । अहिले बाटोमा हिँडेपनि नेतालाई चोर हो भन्ने सोच बढ्दै गएको छ । यो राम्रो होइन । अनि चोर नेता बनाउने जनता के हुन् त ? त्यसैले सकारात्मक सोच बनाउँ ।’ कर्णाली सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सार्वजनिक पद धारणा गरेका व्यक्तिका कारण नागरिकमा निराशा बढेको भन्दै सबैले एक पटक सच्चिएर काम गर्नुपर्ने बताए । उनले भने, ‘कर्णाली बन्दैछ बन्छ तर सबैले पारदर्शी र जवाफदेही भएर काम गर्नुपर्छ ।’

कर्णाली प्रदेश सभा सदस्य वेदराज सिंहले नागरिकको चेतना विकास नभएसम्म अन्य क्षेत्रको जतिनै विकास भएपनि उनीहरूले सोच्ने नैराश्यता अन्त्य नहुने बताए । उनले भने, ‘२०६२÷०६३ अघिको नेपालभन्दा हाल धेरै विकास भएको छ । विकास बिस्तारै हुँदै जाने हो । तर राजनैतिक नेतृत्व पनि सुधारिँदै जानुपर्छ ।’

नेकपा माओवादी केन्द्रका सांसद तथा कर्णाली प्रदेश सभा सार्वजनिक लेखा समितिका सभापति विन्दमान विष्टले कर्णाली विकासको अवधारणाअनुसार प्रदेश सरकार अघि बढ्न नसकेको उल्लेख गरे । कर्णालीको विकासमा निजी तथा सरकारी क्षेत्रले लगानी बढाउने परियोजना निर्माण गर्नुपर्ने उनले बताए । मध्यपश्चिम विश्वविद्यालयका रजिस्ट्रार सोभाकर कँडेलले कर्णालीमा उपलब्ध प्राकृतिक स्रोत साधानको पहिचान र उपयोग गर्न सकेको खण्डमा विकाससँगै आन्तरिक आय पनि वृद्धि हुने बताए । कर्णाली प्रदेश योजना आयोगका सदस्य असोकनाथ योगीले कर्णालीमा भाषणभन्दा पनि काम गरेर देखाउने समय आएको बताए ।

शान्ति समाजका केन्द्रीय सभापति रेणुका पौडेलले गणतन्त्रको मर्मअनुसार समुन्नत, समृद्ध कर्णालीका लागि विकासको काम भयो कि भएन ? भनेर यसबारे अभियान चलाइएको बताइन् । उन्नत गणतन्त्र र सुदृढ गणतन्त्रको विकल्प नरहेको भन्दै जनअपेक्षा अनुसार विकासको काम गर्न राजनैनिक दलहरू पनि सुध्रिन पर्ने उनको भनाइ छ ।

कर्णालीको उत्थानमा योगदान

मानव अधिकार तथा शान्ति समाजले कर्णालीको उत्थानमा योगदान गर्न आग्रह गर्दै २०८० प्रारम्भदेखि विशेष अभियान प्रारम्भ गरेको छ । यो अभियानको पहिलो चरणमा शान्ति समाजले कर्णालीका विकट हिमाली जिल्ला केन्द्रित ३ वर्षे बालिका छात्रवृत्ति अभियान सञ्चालन गरेको समाजका केन्द्रीय महासचिव प्रकाश शाहीले बताए ।

उनले भने, ‘यस क्रममा २०८० जेठको अन्तिम साता हुम्ला, मुगु, जुम्ला, कालिकोट, दैलेखलगायत कर्णाली प्रदेशका छ जिल्लामा कक्षा ६ मा अध्ययनरत आधा दर्जनबढी विद्यालयका ८४ जना विपन्न दलित समुदायका बालिकाहरूलाई पहिलो वर्षको छात्रवृत्ति सहयोग रकम जनही १२ हजार प्रदान गरिएको छ ।’

यो कार्यक्रमको उद्देश्यमध्ये शैक्षिक निरन्तरतालाई प्रवद्र्धन गर्नु र कसैले पनि विद्यालय नछोडुन् भन्ने रहेको उनको भनाइ छ । शान्ति समाजका ८० जना सदस्य तथा शुभचिन्तकहरूबाट प्राप्त भएको १० लाख ८ हजारबाटै ८४ जना बालिकाहरूलाई छात्रवृत्ति प्रदान गरिएको हो । यसैगरी २०८१ जेठमा ७९ जना बालिकालाई छात्रवृत्ति प्रदान गरिएको थियो । यो बिचमा ५ जनाले विद्यालय छाडेका थिए ।

तेस्रो तथा अन्तिम वर्षको छात्रवृत्ति २०८२ जेठ अन्तिम सातामा प्रदान गरिँदैछ । आगामी वर्षहरूमा शान्ति समाजले कर्णालीमा केन्द्रित दलित बालिका छात्रवृत्ति अभिमानलाई निरन्तरता दिने सोच बाएको छ । यसका लागि पहिलो चरणमा २५ लाखको अक्षयकोष स्थापना गरिने र त्यसबाट प्राप्त हुने ब्याजको रकमबाट न्यूनतम २५ जना बालिकालाई प्रत्येक वर्ष १० हजार छात्रवृत्ति प्रदान गर्ने योजना रहेको महासचिव शाहीले बताए ।

कर्णालीको उत्थान र विकासमा योगदान गर्न आग्रहसहित शान्ति समाजले दोस्रो चरणको अभियान २०८१ जेठ महिनामा प्रारम्भ गरेको थियो । यस क्रममा विभिन्न निकाय समुदायको ध्यानाकर्षण गराउँदै २०८१ जेठ १४ गते काठमाडौँबाट नागरिक संवाद कार्यक्रमको थालनी भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ २५ गते आइतबार