सरकारी बजेटमा सबैको समान अवसर हुनुपर्छः गभर्नर पौडेल



प्रचण्ड खत्री । रूकुम पश्चिम ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले सरकारी बजेटमा सबैको अवसर समान हुनुपर्ने बताएका छन् ।

मौद्रिक नीति र लगानीको अवस्था लगायतका बारेमा जिल्लास्तरका सरोकारवालाहरूको राय संकलनका लागि रूकुम पश्चिमको सदरमुकाम मुसीकोट आएका गर्भनर पौडेलले राष्ट्र बैंकको बजेट कसैको व्यक्तिगत नभएको र सबैका लागि समान रहेको बताए । उनले बराबरी अवसर सबैमा रहेमा मात्र नेपालीको भविष्य सुनिश्चित हुने बताएका हुन् ।

हालै सरकारबाट १८औँ गभर्नरका रूपमा नियुक्त भएका पौडेलले नीतिगत निरन्तरता र थप सुधार आफ्नो प्राथमिकता रहेको बताए । गभर्नर पौडेलले सम्पत्तिमा विविधिकरण हुनुपर्नेमा जोड दिए । सेयर बजार लगायतका एउटै क्षेत्रमा हौसिएर लगानी गर्नुभन्दा पनि लगानीको विविधिकरण भएमा चुर्लुम्म डुब्ने अवस्था नआउने उनले उल्लेख गरे ।

उनले केही साना र कृषि उद्योगमा खराब लगानी भएको समेत उल्लेख गरेका थिए । जिल्लाका विभिन्न बैंकहरूले कृषि क्षेत्रको लगानीमा समस्या रहेको जानकारी गराएपछि उनले लगानी गर्दा गल्ती नदोहोरिने गरेर सही किसानलाई मात्र ऋण प्रवाह गर्नुपर्ने बताए । पौडेलले सरकारको नीति तथा कार्यक्रमपछि आउने मौद्रिक नीतिले पछाडी परेको वा पारिएको वर्गलाई अगाडि बढाउन प्रेरित गर्ने बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले मौद्रिक नीति तथा बजेटका सवालमा भएका नीतिहरू परिवर्तनको आवश्यकता रहेकोले जनस्तरका भावना ग्रहण गर्न जिल्लामा आएको बताए । बैंक तथा वित्तीय संस्थाहरूमा स्रोतको परिचालन, कृषि कर्जाको व्यवस्था, कृषि अर्थतन्त्रमा लगानीको अवस्था लगायतका विषयमा सरोकारवालाहरूसँग छलफल गर्न थालेको उनको भनाइ थियोे ।

नार्कका कार्यकारी निर्देशक कृष्ण तिमिल्सेना, नार्कका वैज्ञानिक सुमित अर्याल लगायतको सहभागिता रहेको थियो । छलफलमा सहभागी जिल्लाका व्यवसायी, कृषि अगुवा, बैंकरहरूले कृषि उत्पादनमा सही लगानी नभएको, सडकले नछोएको ठूलो र उर्वर कृषि भूमिमा लगानी हुन नसकेको, कृषि बजारमा बिचौलिया हाबी रहेको, राजमार्गका आसपासका जमिनमा उत्पादनका गतिविधिहरू हुन नसकेको लगायतका विषयका बारेमा जानकारी गराएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ २४ गते शनिबार