‘कर्मचारीको गल्तीमा मन्त्रीको राजिनामा माग्नु गलत’



धनगढी ।

उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिहंले कर्मचारीको गल्तीलाई लिएर मन्त्रीको राजिनामा माग्नु उपयुक्त नभएको बताएका छन् । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री सिहंले कर्मचारीले गलत गरेकै आधारमा गृहमन्त्रीको राजिनामा माग गर्ने विषय उपयुक्त नभएको बताएका हुन् । अध्यागमनका कर्मचारीले गल्ती गरेकै कारण अख्तियारले छानबिन गरिरहेको सिंहले दाबी गरे ।

अख्तियारको छानबिन चलिरहेकै बेला सोझै गृहमन्त्रीको राजिनामा मागेर सदन अवरुद्ध गर्नु ठिक नभएको उनले बताए । गृहमन्त्रीको नाम अहिलेसम्म कतै नजोडिएपनि विपक्षी दलहरूले राजिनामा मागेको भन्दै उनले आपत्ति जनाएका थिए । सदनको अवरोध हटाउन शिर्ष नेताहरूबीच छलफल चलिरहेको बताउँदै सिंहले छिट्टै सदन सञ्चालन हुने विश्वास व्यक्त गरे ।

काँग्रेस भित्रैबाट सरकारको विकल्प खोजिन थालेको हो भन्ने प्रश्नमा मन्त्री सिंहले सरकार ठिक दिशामा अगाडी बढेको दावी गरेका थिए । सरकार गठनका बेला भएका सहमती अनुसारनै नेतृत्व अगाडी बढेको बताउँदै उनले गठबन्धनबाट चलेको सरकार एक व्यक्तीले भनेजस्तै चल्न नसक्ने दाबी गरे । संविधान संशोधन लगायतका विषय चरणबद्ध रूपमा अगाडी बढ्ने उनको भनाइ थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ २३ गते शुक्रबार