
नेपालगन्ज ।
भारतका विभिन्न सहरबाट गौरीफन्टा नाका भएर स्वदेश फर्किरहेका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उता भारतमा पछिल्लो ५ दिनमा मात्रै ३७ जना कोरोना संक्रमितको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छज् । तर, नेपालगन्जस्थित जमुनाह नाकामा रहेको हेल्थ डेस्कमा भारतबाट आउनेहरूमा कोरोनाको परीक्षणका लागि कुनै सुरसार छैन । उक्त हेल्थ डेस्कमा हाल कोरोनाको स्कृनिङ गर्नका लागि किटहरूसमेत नरहेको पाइएको छ ।
हेल्थ डेस्कका इन्चार्ज नर्सिङ अधिकृत सुनिता मौर्यका अनुसार बिहीबार साँझसम्म कोरोनाको स्कृनिङका लागि कुनै खालको निर्देशन आएको छैन । उनले आफूले कोरोनाको जाँच किटका बारेमा स्वास्थ्य कार्यालयसँग माग गरेको तर जिल्लामै किट नरहेको जानकारी पाएको मौर्यले बताइन् ।
स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले हाल नाकामा कोरोनाको स्कृनिङ नभइरहेको तर शंकास्पद भएमा भेरी अस्पतालमा पठाएर जाँच गर्ने गरिएको बताए । उनले संघीय सरकार र प्रदेश सरकारबाट निर्देशन आएपछि मात्रै थप रणनीति अघि बढाइने भएकोले अहिलेसम्म कोरोनाका लागि कुनै नयाँ निर्देशन नआएको बताए । हाल कार्यालयमा कोरोना जाँचको किट पनि नरहेको उनले बताए ।
गौरफन्टामा कोभिड पुष्टि हुनेमा दुई पुरूष र एक महिला रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कञ्चनपुरको पुनर्वासका २० वर्षीय युवक, अछामको ढकारीका ३२ वर्षीय युवक र कैलालीको धनगढीकी २४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । भारतबाट स्वदेश फर्किरहेका शङ्कास्पद ३६ जनाको परीक्षण गर्दा तीन जनामा कोभिड पुष्टि भएको हो । कोभिड पुष्टि भएका सबैलाई होम आइसोलेसन बस्न लगाइएको छ ।
कोभिड पुष्टि भएका सबैको पीसीआर परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएको र परीक्षणपछि उनीहरूमा कोभिडको कुन भेरियन्ट रहेछ भन्ने पत्ता लाग्ने पनि निर्देशनालयले जनाएको छ । उता भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । हालसम्म कोरोना संक्रमणका कारण ४४ जनको मृत्यु भएको र चार हजार तीन सय जनाभन्दा बढी बिरामी रहेका भारतीय सन्चारमाध्यमहरूले जनाएका छन् ।
भारतमा रुघाखोकी र ज्वरो देखिनासाथ कोरोना परीक्षण अनिवार्य गरिएको छ भने सरकारले मानिसहरूलाई भिडभाड हुने ठाउँमा मास्क लगाउन, शारीरिक दूरी कायम गर्न र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ । तर, दैनिक हजारौँ नागरिक तथा भारतीयहरू नेपाल आइरहेको अवस्थामा पनि नाकामा आवश्यक सतर्कता अपनाइएको छैन ।
अहिले वर्षे बाली लगाउने सिजन सुरु भएसँगै भारतमा रोजगारी गर्न गएकाहरू धमाधम स्वदेश फर्किने क्रम पनि बढिरहेको छ । जमुनाहमा रहेको हेल्थ डेस्कमा १२ जना कर्मचारीहरू खटाइएका छन् । उनीहरूले अहिले मलेरिया, कालाजार लगायतका संक्रमणको मात्रै नमुनाका आधारमा स्कृनिङ गरिरहेका छन् ।
भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार त्यहाँ अहिले फैलिएको कोभिड– १९ को नयाँ ओमिक्रोन उप भेरिएन्ट हो । यद्यपी, यो भेरियन्ट कम जोखिमयुक्त भएको र अधिकांश बिरामीको उपचार घरमा नै सम्भव भएको बताइएको छ । विश्व स्वस्थ्य संगठनले पनि यसलाई जोखिमयुक्तको सूचीमा राखेको छैन । तर, यस भेरियन्टका संक्रमितमा लक्षणहरू कति लामो समय रहने र यसले पछि महामारीको रुप लिन सक्ने या नसक्नेबारे जानकारी दिइएको छैन ।









प्रतिक्रिया दिनुहोस्