नेपालगन्ज ।
नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर रायलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ । बैंकको दुई अर्ब ५० करोड रूपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा सिआईबीले रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको सीआईबीका प्रमुख एआईजी चन्द्रकुबेर खापुङले जानकारी दिएका छन् ।
प्रहरीले बेलहियाबाट पक्राउ गरेको भनेपनि भारतबाट पक्राउ गरिल्याएको आशंका गरिएको छ । उनी भारतको लखनउमा अपार्टमेन्ट भाडा लिएर बस्दै आएको पाइएको छ । रायलाई बाँकेमै म्याद थप गरिने र बाँकेमै राखेर अनुसन्धान गरिने सीआईबीले जनाएको छ । बैंकमा रकम हिनामिना भई बचतकर्ताको रकम फिर्ता गर्न नसके खुलासा भएपछि राय फरार भएका थिए । २०६० सालमा खुलेको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय २०७६ देखि २०७९ सालसम्म प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत रहेका थिए । उनी यसबीचमा पटक–पटक सञ्चालक समितिको अध्यक्ष रहेर काम गरेका थिए ।
रायलाई बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको पनि सीआईबीले जानकारी दिएको छ । सल्यान स्थायी घर भएका राय पछिल्लो समयमा बाँकेका स्थायी बासिन्दा रहेका थिए । सीआईबीका प्रमुख खापुङका अनुसार यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरू समेत अनुसन्धानको दायरामा छन् ।
उक्त प्रकरणमा बैंकका पूर्वसिईओ दिनेशकुमार रावत, पूर्ववित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी र हालका सिईओ तथा वित्त विभाग प्रमुख निरज विक्रम शाह लगायतहरु पनि अनुसन्धानको दायरामा तानिएका छन् । बैंकमा हिनामिना भएको आरोप लागेपछि बैंकका सञ्चालक समिति अध्यक्ष ओमप्रकाश मिश्रको संयोजकत्वमा गत पुस ५ गते छानविन समिति गठन भएको थियो । उक्त समितिले अनियमिततामा रायसहितका व्यक्तिले एक अर्ब २६ करोड रूपैयाँभन्दा बढी हिनामिना गरेको र अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाउनुपर्ने राय दिएको थियो ।
उनीहरुले विभिन्न बैंकको खातामा रहेको मौज्दातको नक्कली ब्यालेन्स सर्टिफिकेट बनाई अपचलन गरेको पाइएको छ । त्यसैगरी, खातामा ब्यालेन्स नभएकै अवस्थामा पनि चेक क्लियरिङमार्फत रकमान्तर–चेक भुक्तानी गरेर घोटाला गरेको पाइएको छ । यसका साथै सोझै टेलरबाट नगदै पैसा झिकेर पनि अपचलन गरेको अध्ययनबाट खुलेको थियो ।
पक्राउ परेका रायविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । २०६० सालमा स्थापना भएको कर्णाली विकास बैंकमा रायको बैंकमा करिब ८० प्रतिशत संस्थापक सेयर रहेको छ । उनी बैंक स्थापनादेखि नै कार्यकारी अध्यक्ष तथा सीईओका रूपमा करिब १५ वर्षसम्म कार्यरत थिए । रकम अपचलनपछि बैंक समस्याग्रस्त भएपछि नेपाल राष्ट्र बंंैकको व्यवस्थापन समूहले नियन्त्रणमा लिएर सम्हाल्ने कोसिस गरिरहेको छ ।









प्रतिक्रिया दिनुहोस्