श्यामलाल पोखरेल । बुटवल ।
देवदहको चरंगेमा छाडा कुकुरका लागि उपचार केन्द्र सञ्चालन गरिएको छ । छाडा कुकुर उपचार केन्द्रको आइतबार उद्घाटन गरिएको थियो । छाडा छोडिएका कुकुरहरूको बिगबिगी बढेको अवस्थामा यशोदा पार्वती फाउण्डेसनको सहयोगमा अल केयर नेपालको व्यवस्थापनमा उपचार केन्द्र सञ्चालन ल्याएको हो । अबोध पशुहरूको सुरक्षा गरी उनीहरूको संरक्षण गर्नुपर्छ भन्ने भावनाले कुकुरका लागि उपचार केन्द्र खोलिएको अल केयर नेपालले जनाएको छ ।
देवदह नगरपालिका–१० मा सञ्चालन गरिएको कुकुर उपचार केन्द्रको देवदह नगरपालिकाका नगर प्रमुख धुर्वप्रसाद खरेलले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले असहाय घरपालुवा पशु कुकुरहरूको उपचारका लागि उपचार केन्द्र तथा अस्पताल खोलेर यशोदा पार्वती फाउण्डेसनले समाजलाई ठूलो गुन लगाएको बताए । उनले कुकुर उपचार केन्द्रको दिर्घकालिन रूपमा सञ्चालन गर्नका लागि नगरपालिकाको तर्फबाट आर्थिक, भौतिक, नैतिक सहयोग गर्ने प्रतिबद्वता जनाए ।
वडाध्यक्ष यमबहादुर सुनारले कुकुर उपचार केन्द्रलाई आवश्यक पर्ने सहयोग गर्ने बताउँदै कुकुरको संरक्षणमा व्यक्तिगत र वडा कार्यालयबाट सहयोग पु¥याउने बताए । गाइ संरक्षण अभियन्ता सोमराज ‘महाराज’ ले मानव सभ्यताको सुरुवाती कालदेखि नै कुकुर र मानिसको सम्बन्ध घनिष्ट रहेको बताउँदै कुकुर मान्छेभन्दा पनि विश्वासिलो प्राणी रहेको बताएका थिए । कुकुरले सुगेर जस्तो पनि थाहा पाउने भएकाले अनुसन्धानमा संसारकै सेना, पुलिसले कुुकुरको साहार लिने गरेको उल्लेख गर्दै उनले कुकुर जस्तो ज्ञानी पशुलाई कहिल्यै घृणा गर्न नहुने बताए । सो अवसरमा बिरामी कुकुर बोक्नका लागि आवश्यक पर्ने एउटा एम्बुलेन्स अल केयर नेपाललाई प्रदान गरिएको थियो ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले कुकुर व्यवस्थापन र गौशाला स्थापनामा लगायतका थुपै्र सामाजिक काममा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै कुकुर उपचार केन्द्रलाई स्थायित्व दिनुपर्नेमा जोड दिए ।
यशोदा पार्वती फाउण्डेसनकी अध्यक्ष सुरन्दा मालपानी र यशोदा फुड्स प्रालिका सञ्चालक तथा बुटवल उपमहानगरपालिका–४ का वडाध्यक्ष नरेश्वर पौडेलले सडकमा वा बजारदेखि गाउँमा छाडा छोडिएका कुकुरहरूलाई उद्दार गरेर संरक्षण गरि उनीहरूको औषधी उपचारका लागि कुकुर उपचार केन्द्र खोलिएको जानकारी दिएका थिए । यशोदा फुड्स प्रालिका सञ्चालक चुन्नु पौडेलको अध्यक्षता र सरस्वती बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।









प्रतिक्रिया दिनुहोस्