नन्दराम जैशी । सुर्खेत ।
कर्णाली, लुुम्बिनी र सुुदूरपश्चिम प्रदेशमा निर्माणाधीन ६ वटा राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक छ । कर्णालीमा निर्माणधीन कर्णाली कोरिडोर र भेरी बबई डाइभर्सन, लुुम्बिनी प्रदेशको बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ र बर्दियाको बबई सिँचाइ आयोजना तथा सुुदूरपश्चिममा निर्माणाधीन रानीजमरा कुलरिया सिँचाइ र महाकाली सिँचाइ आयोजनाको कामले गति लिन नसकेको हो ।
यी ६ वटै आयोजना नेपाल सरकारले आर्थिक वर्ष २०८०-०८१ सम्म घोषणा गरेका २७ वटा राष्ट्रिय गौरवका आयोजनाभित्र पर्दछन् । तर यी आयोजनाको कामको प्रगति हेर्दा निराशाजनक अवस्था छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८०-०८१ को लेखापरीक्षण प्रतिवेदनले राष्ट्रिय प्राथमिकता प्राप्त भई अघि बढेका यी गौरवका आयोजनाको प्रगति सन्तोषजनक नरहेको देखाएको हो ।
राष्ट्रिय गौरवका आयोजनाको अवधारणा नआउनुअघि निर्माण कार्य प्रारम्भ भएका आयोजनाको प्रगति झन् भद्रगोल अवस्थामा छ । आयोजना वर्गीकरणको आधार तथा मापदण्ड, २०८० को दफा १३ बमोजिम राष्ट्रिय गौरवका नयाँ आयोजनाहरूमा लागत अनुमान कम्तीमा ५० अर्ब हुनुपर्ने र दफा १६ मा राष्ट्रिय गौरवका आयोजनाहरू १० वर्षभित्र सम्पन्न गर्नुपर्ने उल्लेख छ । तर महालेखाको प्रतिवेदनअनुसार यस्ता आयोजनाको निर्माण अवधि १० वर्ष व्यतीत भइसक्दा समेत सम्पन्न भएका छैनन् ।
पूर्वाधार विकासमा पछि परेको कर्णाली प्रदेशलाई दक्षिणको भारत र उत्तरको चीनसँग जोड्ने लक्ष्यका साथ कर्णाली कोरिडोर परियोजना अघि बढाइएको थियो । तर कालिकोट (खुलालु–हिल्सा–सिमिकोट–सलिसल्ला)बाट सुरु हुने यो सडकले निर्माण थालिएको एक दशक बित्दासमेत पूर्णता पाएको छैन । आर्थिक वर्ष २०६९-०७० बाट सुरु भई आर्थिक वर्ष २०८४-०८५ सम्म सम्पन्न भइसक्नुपर्ने आयोजनाले हालसम्म २२ प्रतिशत भौतिक प्रगति गरेको छ । यो सडकले पूर्णता पाएको खण्डमा कर्णाली त्रिदेशीय सडक सञ्जालसँग जोडिने छ । यसले कर्णालीलाई विकासको मूलधारमा आउन निकै सघाउ पुग्ने पूर्वाधारको रुपमा हेरिएको छ ।
कर्णाली प्रदेशमा राष्ट्रिय प्राथमिकता प्राप्त भई अघि बढेको अर्को परियोजना हो, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना । आर्थिक वर्ष २०६८-०६९ बाट सुरु भएको यो परियोजनाको सुरुङको ‘बे्रक थु्र’ पछिका कामले तीव्रता पाउन सकेका छैनन् । नेपालमा पहिलोपटक टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधिको प्रयोग गरी निर्धारित समयअघि नै सुरुङमार्गको ‘ब्रेक थ्रु’ भई चर्चा कमाएको आयोजना त्यसयता भने सुस्त गतिमा छ ।
पटक पटक म्याद थप भई निर्माण सम्पन्न गर्ने मिति आर्थिक वर्ष २०८३-०८४ सम्म पु¥याइएको आयोजनाले हालसम्म ६५ प्रतिशत भौतिक प्रगति गरेको छ । यो आयोजना नेपालका ठूला सिँचाइ परियोजनामध्ये एक हो । जसले भेरी नदीको पानीलाई सुरुङमार्फत बबई नदीमा खसालेर बाँके र बर्दियाको झण्डै ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइसँगै ४६ मेगावाट बिजुली निकाल्ने लक्ष्य राखेको छ ।
सुस्त गतिमा सिँचाइ आयोजना
महालेखा परीक्षकको रिपोर्टअनुसार राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेका सिँचाइ आयोजनाको काम निकै सुस्त गतिमा भइरहेको छ । आर्थिक वर्ष २०६१-०६२ बाट लुुम्बिनी प्रदेशको बाँकेमा सुरु भएको बहुप्रतिक्षित आयोजना सिक्टा सिँचाइ आयोजनाले पनि गति लिन सकेको छैन ।
झण्डै २० वर्षअघि कार्यान्वयनमा आएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको लक्ष्य बाँके जिल्लाको ४२ हजार सात सय ६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने छ । निर्माण कार्य सुरु भएदेखि हालसम्म १९ अर्ब बढी रुपैयाँ खर्च भइसकेको छ । तर आयोजनाको कुल भौतिक प्रगति भने ४१ दशमलव ७९ प्रतिशत छ । दुई दशकअघि सुरु भएको यस आयोजनाले पूर्णता नपाउँदा सरकारी लक्ष्यले पनि सार्थकता पाएको छैन् भने बर्सेनि अर्बौँको बजेट राप्ती नदीको बालुवामा बगिरहेको छ ।
यता ३५ वर्षअघि कार्यान्वयनमा आएको अर्को महत्वपूर्ण सिँचाइ परियोजना हो बबई सिँचाइ आयोजना । आर्थिक वर्ष २०४५-०४६ मा सुरु भएको यस आयोजनाले हालसम्म पनि पूर्णता पाउन सकेको छैन् । बर्दिया जिल्लाको करिव ३६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यका साथ अघि सारिएको आयोजनाले हालसम्म ७२ दशमलव २२ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । विगतदेखि नै राष्ट्रिय प्राथमिकता पाउँदै आएको यो आयोजनाले कहिले पूर्णता पाउने हो यकिन छैन । निर्माण कार्य प्रारम्भ भएयता विभिन्न समयमा म्याद थप भई आगामी आर्थिक वर्ष २०८२-०८३ मा सम्पन्न गर्नुपर्ने कार्यादेश यस आयोजनालाई छ ।
यता सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित आर्थिक वर्ष २०६७-०६८ मा सुरु भएको रानीजमरा कुलरिया सिँचाइ आयोजना गत आर्थिक वर्षमै सम्पन्न हुनुपर्ने हो । तर आयोजनालाई पूर्णता दिने मिति समाप्त भएको एक वर्ष बित्दा पनि कूल भौतिक प्रगति ७४ दशमलव ७२ प्रतिशत छ । यस आयोजनाको मूल उद्देश्य रानीजमरा कुलरिया सिँचाइ प्रणालीको १४ हजार ३०० हेक्टर, नयाँ शाखा नहर विस्तार (लम्की विस्तार)को ६ हजार हेक्टर र सिंचित क्षेत्र विस्तारअन्तर्गत पथरैयादेखि कान्द्रा नदीसम्मको थप १८ हजार हेक्टर गरी जम्मा ३८ हजार ३०० हेक्टर खेतीयोग्य जमिनमा वर्षैभरी सिँचाइ सुबिधा उपलब्ध गराउनु हो । तर निर्माणको काम सुस्त छ ।
आर्थिक वर्ष २०६३÷०६४ बाट सुरु भएको महाकाली सिँचाइ आयोजनाको हालत पनि उस्तै छ । आर्थिक वर्ष २०८७-०८८ सम्म निर्माण सम्पन्न हुने यस आयोजनाको काम कछुवाकै गतिमा छ । हालसम्म भौतिक प्रगति जम्मा २२ दशमलव १८ प्रतिशत छ । यस आयोजनाले सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र कैलाली जिल्लाको ३५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ महाकाली नदीबाट पानी ल्याउने योजना १८ वर्षसम्म गतिविहीन छ ।
दिगो विकास लक्ष्यमा चुनौती
संघीय सरकारले आर्थिक वर्ष २०६८-०६९ मा समृद्ध नेपाल निर्माणका लागि राष्ट्रिय गौरवका आयोजनाको अवधारणा अघि सारेपछि देशभर १७ आयोजनालाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गर्न राष्ट्रिय गौरवका आयोजना घोषणा गरेको थियो । उतिबेला सरकारले सडक पूर्वाधार विकासको आधारशीला निर्माण गर्ने, सिँचाइ सुविधामार्फत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउने, जलविद्युत्, विमानस्थल निर्माण, खानेपानी व्यवस्था, सांस्कृतिक सम्पदाको संरक्षण लगायतका क्षेत्रमा महत्वपूर्ण देखिएका आयोजना छनोट गरेको हो । तर गत आर्थिक वर्ष २०८०-०८१ सम्म आइपुग्दा राष्ट्रिय गौरवका आयोजनाको कूल सङ्ख्या २७ पुगेको छ ।
नेपालको सन्दर्भमा राष्ट्रिय गौरवका आयोजनाहरू सरकारद्वारा पहिचान गरिएका अत्यन्त महत्वपूर्ण र दीर्घकालीन विकासका परियोजनाहरू हुन् । जसले राष्ट्रिय हित, आर्थिक समृद्धि, पूर्वाधारको विकास र सामाजिक रूपान्तरणमा टेवा पु¥याउने अपेक्षा गरिएको छ । यसरी पहिचान भएका परियोजनाका लागि अग्रिम स्रोत सुनिश्चितता मात्रै होइन् कार्यान्वयन गर्ने छुट्टै आयोजना कार्यालयसमेत स्थापना भएका छन् । तर राष्ट्रिय गौरवका आयोजना घोषणा भई अघि बढेको झण्डै १२ वर्षको अविधिसम्म पनि अधिकांश ठूला आयोजनाहरुको प्रगति निराशाजनक रहेको छ ।
देशभर राष्ट्रिय प्राथमिकता प्राप्त भई अघि बढेका सबै गौरवका आयोजना निर्माणको गति बढाउन महालेखा परीक्षकको कार्यालयले सुुझाव दिँदै आएको छ । तर महालेखा परीक्षकको कार्यालयको सुुझावका आधारमा समेत आयोजना निर्माणको काम अघि बढाइँदैन् । जसले गर्दा सरकारले कल्पना गरेको दिगो विकास लक्ष्यमा समेत चुनौती थपिएको छ ।









प्रतिक्रिया दिनुहोस्