पुरिदैँ नेपालगन्जको धोबी तलाउ



सरकारी जमिनमा रहेको तलाउ स्थानीय तह गठनपछि मास्ने प्रपञ्चमा नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिहरू नै लागेका छन् । करिब ६ कट्ठा क्षेत्रफलमा फैलिएको उक्त तलाउमा स्थानीय तहको पहिलो कार्यकालमा बाँके जिल्ला फुटबल संघलाई दिनेगरी प्रपञ्च रचिएको पाइएको छ । संघलाई जग्गा वैधानिकरूपले नदिइँदै उक्त तलाउमा संघको भवन र ग्रासरुट फुटबल मैदानको शिलान्यास पूर्वनगर प्रमुख डा.धवलशमशेर राणाले २०७८ साल चैत २६ गते गरेका थिए ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।

नेपालगन्ज उपमहानगरमा रहेका पुराना तालतलैया मासेर भौतिक संरचनाहरू निर्माण गर्ने क्रममा पछिल्लो समय अर्काे एक तलाउ पनि मास्ने षडयन्त्र भइरहेको पाइएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ रंगशाला नजिकै रहेको एउटा तलाउलाई पुरेर भौतिक संरचना बनाउन वडा कार्यालय र बाँके जिल्ला फुटबल संघले कसरत गरिरहेका छन् ।

स्थानीयहरूले धोबी तलाउ भनेर चिन्ने उक्त तलाउ कुनै समय नेपालगन्जमा धोबी पेशा गर्नेहरूले कपडा धुने तलाउ रहेको स्थानीयहरू बताउँछन् । उक्त तलाउमा सिंगडा खेती पनि हुँदै आएको स्थानीयहरूले बताए । सरकारी जमिनमा रहेको उक्त तलाउ स्थानीय तह गठनपछि मास्ने प्रपञ्चमा नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिहरू नै लागेको पाइएको छ ।

करिब ६ कट्ठा क्षेत्रफलमा फैलिएको उक्त तलाउमा स्थानीय तहको पहिलो कार्यकालमा बाँके जिल्ला फुटबल संघलाई दिनेगरी प्रपञ्च रचिएको पाइएको छ । संघलाई जग्गा वैधानिकरूपले नदिइँदै उक्त तलाउमा संघको भवन र ग्रासरुट फुटबल मैदानको शिलान्यास गरिएको पाइएको छ । पूर्वनगर प्रमुख डा.धवलशमशेर राणाले २०७८ साल चैत २६ गते उक्त तलाउमा संघको भवन र ग्रासरुट फुटबल मैदान बनाउने योजनाको शिलान्यास गरेका थिए । उक्त शिलान्यासको बेला राखिएको शिलालेख अहिलेपनि उक्त तलाउ छेउमै रहेको छ ।

तर, संघलाई उक्त तलाउको जग्गा दिने विषयमा हालसम्म उपमहानगरको कार्यपालिकाबाट कुनैपनि निर्णय भएको छैन । उपमहानगरपालिकाको नापी तथा भूमिसम्बन्धी शाखाले पनि उक्त जग्गा कसैलाई दिएको जानकारीमा नरहेको बताएको छ । बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही पनि उक्त जग्गा संघलाई दिने निर्णय कार्यपालिकाबाट हुन नसकेको बताउँछन् ।

शाहीले मिसन टुडेसँग भने, ‘हामी स्थानीय तह हुनुभन्दा पहिलेदेखि नै उक्त जग्गाका लागि प्रक्रियामा थियौँ । अघिल्लो कार्यकालमा हामीले फेरि प्रक्रिया अघि बढाएपछि यति समयभित्र भवन निर्माणको काम अघि बढाउनुस् भनेर चिठ्ठी आएको थियो । तर हामीले त्यो अवधिमा बजेट अभावले काम अघि बढाउन सकेनौँ । अहिले पनि वैधानिक रूपमै उक्त जग्गा हामीलाई प्राप्त भएको छैन । केही कागजपत्रहरू पुगेको छैन । कार्यपालिकाबाट पनि त्यसको लागि निर्णय हुन बाँकी छ ।’

तत्कालीन नगर प्रमुख तथा वर्तमान प्रतिनिधि सभा सदस्य डा.धवलशमशेर राणा आफूहरूले भवन बनाउने संघलाई पत्र लेखेर भवन बनाउने अनुमति दिएपछि शिलान्यास गरिएको बताए । वैधानिक रूपले निर्णय नहुँदै उक्त ऐलानी जग्गामा रहेको तलाउ पुरेर एउटा संस्थाले भवन बनाउने योजना अघि सा¥यो । तत्कालीन नगर प्रमुख डा. राणाले पनि हतारमा एउटा संस्थालाई ताल पुर्न दिन सहमति दिए । त्यसपछि संघले तलाउको एक छेउबाट माटो भर्दै तलाउ पुर्न पनि सुरु गरिसकेको छ । बजेट अभावमा माटो पुर्ने काम रोकिएको अध्यक्ष शाहीले बताएका छन् ।

पूर्वनगर प्रमुख राणा उक्त तलाउको कुनै समय धोबीहरूले कपडा धुन प्रयोग हुने गरेको भएपनि अहिलेको समयमा आवश्यकता नभएको तर्क गरे । उनले फुटबल संघलाई सुम्पिन खोजेको तलाउ अहिले वडा नम्बर ८ को पनि निशानामा परेको छ । वडा नम्बर ८ का एकजना वडा सदस्य निखिल कुमार वैश्य वडाको वडा कार्यालय बनाउन वडाको क्षेत्रमा कुनैपनि सार्वजनिक जमिन नभएको बताउँछन् । त्यही भएर उक्त तलाउ पुरेर वडा कार्यालय बनाउने योजनामा वडा कार्यालय रहेको उनले खुलाए ।

उनका अनुसार संघ र वडाले बाँडेर उक्त तलाउमा भौतिक संरचनाहरू बनाउने सहमति जुटेको छ । ‘यत्रो वडाभरी हामीसँग वडा कार्यालय बनाउने जमिन नै छैन । वडा कार्यालय भाडाको भवनमा चलाइरहेका छौँ । हामी बाध्य भएर त्यहाँ वडा कार्यालय बनाउने निर्णयमा पुगेका हौँ । अहिले त्यसका लागि बजेटको स्रोत खोजिरहेका छौँ,’ वैश्यले भने ।

वडा नम्बर ८ का अध्यक्ष रजनीश बाजपेयी पनि उक्त तलाउमाथि वडा कार्यालय बनाउने योजना रहेको बताउँछन् । तर, यदि वडा कार्यालयका लागि जग्गा अभाव थियो भने फुटबल संघलाई पूरै तलाउ नै सुम्पिने सहमति जनप्रतिनिधिहरूले कसरी दिए ? र कसरी जग्गा संघलाई दिने आधिकारिक निर्णय नहुँदै भवनको लागि शिलान्यास भयो ? भन्ने विषयमा आफूलाई केही थाहा नभएको वडाध्यक्ष बाजपेयीको भनाइ छ । उनी भन्छन्, ‘त्यहाँ कसरी कसलाई जग्गा दिइएको हो । मलाई केही पनि थाहा छैन,’ बाजपेयीले भने ।

अत्यधिक गर्मी हुने सहर नेपालगन्जमा पछिल्ला केही वर्षमा जमिनमुनिको पानीमा आश्रित हाते पम्पहरू सुक्दै जान थालेका छन् । गर्मीको प्रभाव कम गर्न र जमिनमुनिको पानीको रिचार्ज गर्न भएका तलैयाहरूको संरक्षण गर्नुपर्ने विज्ञहरू बताउँछन् । तर, नेपालगन्ज उपमहानगरले भएका ताल तलैयाहरू मासेर विभिन्न भौतिक संरचनाहरू बनाइसकेको छ । गगनगन्जको भगवान तलाउमाथि स्वास्थ्य चौकी बनाइएको छ, भने हनुमननगढी छेउको तलाउमाथि एक सय ८ फिटे हनुमानको मूर्ति ठड्याइँदै छ । अन्य वडाहरूले पनि तलाउ मासेर विभिन्न संरचनाहरू बनाएका छन् । यसकै पछिल्लो कडीका रूपमौ उक्त धोबी तलाउ पनि मास्ने प्रपञ्च भइरहेको हो ।

उक्त तलाउमा केही वर्ष पहिलेसम्म बाह्रै महिना पानी जम्मा हुने गरेकोमा पछिल्ला केही वर्षमा पानी सुक्न थालेको वडा सदस्य वैश्यले बताए । उनले भने, ‘हामीलाई पनि उक्त तलाउलाई तलाउ नै रहन दिन मन हो । तर, वडा कार्यालय बनाउन वडामा कहीँ पनि जग्गा छैन । हामी बाध्य भएर त्यहाँ वडा कार्यालय बनाउने निर्णयमा पुगेका हौँ ।’ उनले वडा कार्यालय बनाउन जमिन नभएको वडाको उक्त तलाउमा फुटबल संघले कसरी भवनको शिलान्यास गरेको भनेर आफूहरूले पनि जान्न नपाएको बताए ।

वडा नम्बर ८ ले थुपार्दैछ तलाउमा फोहोर 

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ की उषा खड्काको घर वडा नम्बर ८ मा पर्ने धोबी तलाउको छेउमै छ । पछिल्ला केही दिनयता उनले फाहोरको गन्धले राम्ररी खाना खान नपाएको बताइन् । किनकी धोबी तलाउमा वडा नम्बर ८ ले फोहोर थुपारेर उक्त क्षेत्र नै दुर्गन्धमय बनाएको छ । ‘नियम लगाउने वडाले नै यसरी जनतालाई दुःख दिइरहेको छ । जति आग्रह गर्दा पनि यहाँ फोहोर फाल्न छाडेका छैनन्,’ खड्काले भनिन् ।

वडा कार्यालय निर्माण गर्ने योजना बनाइरहेको धोबी तलाउमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ ले अर्काे गल्ती पनि गरिरहेको छ । वडा नम्बर ८ ले धोबी तलाउमा विभिन्न ठाउँबाट संकलन गरी ल्याएको फोहोर थुपारिरहेको छ । स्थानीयवासीहरू वडा कार्यालयले तलाउमा फोहोर जम्मा गरेर पुर्ने षडयन्त्र गरिरहेको बताउँछन् ।

वडा कार्यालय भने विभिन्न स्थानबाट संकलन गरी ल्याएको फोहोर उक्त तलाउमा जम्मा गर्ने गरिएको र त्यहाँबाट ट्याक्टरमा लोड गरेर ल्याण्डफिल साइटमा पु¥याउने गरिएको बताउँछ । उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐनले जथाभाबी फोहोर फाल्नेहरूलाई जरिवानाको व्यवस्था गरेको छ । जसअनुसार सर्वसाधारणलाई उपमहानगरले नगरवासीलाई कारबाहीसमेत गर्दै आएको छ । तर, वडा कार्यालयले नै जथाभाबी फोहोर फालेर उक्त क्षेत्रमा दुर्गन्ध फैलाइरहेको छ ।

स्थानीयवासीहरू उक्त फोहोरको गन्धले घरभित्रैसम्म असर गरिरहेको बताउँछन् । स्थानीय प्रमिला खड्काले आफूहरूको स्वाथ्यमाथि खेलबाड गरिरहेको बताइन् । वडा नम्बर ८ का वडाध्यक्ष रजनीश बाजपेयी भने उक्त फोहोर वडाले नभई नगरपालिकाले थुपारेको जिकिर गर्छन् । तर, सोही वडाका एक वडा सदस्यले वडाका भित्री गल्लीमा ट्याक्टर छिर्न नसक्ने अवस्था रहेकोले त्यहाँबाट संकलित फोहोर उक्त तलाउमा जम्मा गरेर ल्याण्डफिल साइटमा लैजाने गरिएको बताए । तर, स्थानीयवासीहरू भने वडाले फोहोर जम्मा गरेरै तलाउ पुर्ने योजना बनाएको आशंका गर्छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ १७ गते शनिबार