नेपालगन्जमा गरियो इच्छुकको सम्झना



नेपालगन्ज ।

नेपालगन्जमा पत्रकार तथा कवि कृष्ण सेन ‘इच्छुक’को २३औँ स्मृति दिवसमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस सेन्टर नेपाल बाँकको आयोजनामा भएको अन्तक्र्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले जनतालाई केन्द्रबिन्दु बनाएर पत्रकारिता गर्नु पर्नेमा जोड दिएका छन् ।

कार्यक्रमका वक्ताहरूले पछिल्लो समय आफूलाई लोकतान्त्रिक भन्ने दलहरू नै लोकतन्त्रको मर्मप्रति गम्भीर नभएको, सच्चा पत्रकारहरूलाई राज्यले उपेक्षा गरेको र प्रतिगमनकारी शक्तिले टाउको उठाउने अवस्था आएको बताएका छन् । उनीहरूले पत्रकारले लोभ, लालच र सुविधा त्यागेर उत्पीडित उपेक्षित जनतामा केन्द्रित हुन सके मात्र कृष्ण सेन प्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए । कृष्ण सेनको पदचाप पछ्याउन त्यत्ति सजिलो नभएको उल्लेख गर्दै वक्ताहरूले निडर र सिद्धान्तपरक निष्ठा प्रकट गरेर मात्र कृष्ण सेनको बाटो पछ्याउन सकिने बताए ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रकी स्थायी समिति सदस्य पूर्णकुमारी सुवेदीले युद्ध पत्रकारहरूको सम्मान गर्न नसकिएको स्वीकार गरिन् । जनयुद्धमा ज्यान जोखिममा राखेर पार्टीका एजेण्डा जनतामा पु¥याउने पत्रकारहरूलाई पार्टीले नबिर्से पनि सम्मान गर्न नसकिएको उनको भनाइ थियो । कृष्ण सेन आफूभन्दा २ वर्ष जेठो भएर पनि आफूलाई दिदी भन्ने गरेको स्मरण गर्दै उनले कृष्ण सेन बन्न त्यत्ति सजिलो नभएको बताइन् ।

कार्यक्रममा पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, पत्रकार महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलि, पूर्व अध्यक्षद्वय निरज गौतम र झलक गैरे, प्रेस सेन्टरका नेता डा.डक्टप्रसाद धिताल, प्रेस चौतारी बाँकेका अध्यक्ष कमल डाँगी, प्रेस युनियनका अध्यक्ष प्रियास्मृति ढकाल, पत्रकार शरण कर्माचार्य लगायतले इच्छुकको यागदानको चर्चा गरेका थिए ।

कार्यक्रममा साहित्यकार मणी अर्याल, कपिल अन्जान, पत्रकार बीपी अस्तु लगायतले कविता वाचनसमेत गरेका थिए भने नेकपा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे, नेताहरू राजकुमार बिक, बलबहादुर खड्का लगायतको सहभागिता रहेको थियो । जनपक्षीय पत्रकारिता गरेको र कवितामा क्रान्तिकारी स्वर दिएकै कारण इच्छुकलाई विसं २०५९ साल जेठ १३ गते हिरासतमै अमानवीय यातना दिई हत्या गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ १४ गते बुधबार