छ लेन सडकको नाली निर्माणमा सुस्तता



शेरबहादुर ऐर । कैलाली ।

कैलालीको धनगढी उपमहानगरपालिकाको मोहनापुलदेखि छ लेन सडकमा वडा नम्बर २ र ३ को प्रमुख समस्या डुबान हटाउन पानी नाली निर्माण आयोजना सञ्चालनमा रहेको छ ।

दुवै वडामा दुई चरणमा नाली निर्माण कार्य अघि बढेको छ । तर, अहिले नाली खनेर अल्पत्र छोड्दा निर्माण सम्पन्न भएको सो सडकनै कटानको जोखिममा परेको छ । वडा नम्बर २ मा मोहनादेखि चौराहसम्म नाली निर्माण गर्ने क्रममा खनिएको नालीले मिलनचौकस्थित पुलदेखि नाली छेउमा निर्माण भएको पैदलमार्ग कटान भइसकेको छ । सोही पैदलमार्गमा रोपिएको बोटविरुवा पनि खसेको छ भने त्यहाँ राखिएको विद्युत् पोल पनि कुन समयमा घरमाथि खस्ने भन्ने स्थानीयको चिन्ता रहेको छ ।

स्थानीय निरु न्यौपानेले सोही क्षेत्रमा व्यवसायी गर्दै आएकी छिन् । अहिले नाली खनेर अल्पत्र छोड्दा व्यवसाय गर्न पनि समस्या भएको बताइन् । उनले निर्माण कम्पनी र जनप्रतिनिधिलाई अनुरोध गर्दासमेत निर्माण चाँडो सम्पन्न गर्नमा चासो नदिएको बताइन् । केही दिनअघि परेको सामान्य (बेमौसमी) वर्षाका कारण उनको घरछेउमै छ लेन सडकको केही भाग कटान भएको थियो । उनले विद्युत् पोल पनि खस्ने जोखिम रहेकोले सो घरमा बस्न त्रास भएको बताइन् ।

उनले भनिन, ‘जथाभाबी नाली खन्दा विद्युत्को पोल खस्ने अवस्थामा रहेको छ । रातिको समयमा अरुको घरमा गएर बस्नुपरेको छ । कति महिनासम्म हामीले अरुको घरमा आश्रय लिएर बस्नुपरेको छ ।’ स्थानीय बसुन्धरा घिमिरेले निर्माण कम्पनीले नाली चैत १४ गते खनेर छोड्दा आफनो घरको संरचना पनि कटानमा पर्ने जोखिम रहेको बताइन् । उनले पानी परेपछि घर भत्कने जोखिम रहेको र घर भत्केपछि कसरी निर्माण गर्ने चिन्ता बढेको बताइन् ।

‘अहिले नाली खन्दा सडकमात्र होइन मेरो घर पनि भत्कन्छ कि भन्ने चिन्ता रहेको छ । यो भत्किए कहाँ गएर बस्ने होला । कसरी घर बनाउने र कसले घर बनाइदेला भन्ने चिन्ता छ,’ उनले भनिन, ‘नाली निर्माण कार्य छिटोभन्दा छिटो भइदिएको भए बर्सातमा हामीलाई कटानको चिन्ता हुन्थेन ।’

स्थानीय मिना तिमिल्सिना पोखरेलले बर्सातको महिना नजिकिइसकेको तर, सडक कटानको जोखिम रहँदासमेत निर्माण कम्पनीले सुस्त गतिमा कार्य गरिरहेको बताइन् । उनले कटान भएर परेको क्षतिको रकम आफूहरूले पाउनुपर्ने बताइन् । उनले अहिले व्यापार ठप्प हुनुका साथै कटानको जोखिमले घरमै बस्न सक्ने वातावरण नभएको बताइन् । उनले भनिन, ‘हामीले यहाँ बिरुवा रोपेका थियौँ । अहिले नाली निर्माणका क्रममा सो कटानले ढलेको छ । यसको क्षतिपूर्ति उपमहानगरपालिकाले नभई हामीले पाउनुपर्छ । ट्रष्टका नाममा रोपिएको यो बिरुवा पुनः सडक निर्माण गरी रोपण गरिनुपर्छ ।’

स्थानीय देवी थापाले निर्माण कम्पनीले कछुवाको गतिमा कार्य गरेको बताइन् । उनले बर्सातको मौसम सुरु हुँदा हिँड्न पनि समस्या हुने बताइन् । उनले भनिन्, ‘अहिले सामान्य वर्षा हुँदा हामी आफ्नो पसल जान सक्ने अवस्था छैन् । त्यसैमा ग्राहक कसरी आउलान् ? अहिले व्यवसायमा शून्यता हुँदा घरखर्चको जोहो गर्न पनि समस्या रहेको छ ।’ वडा नम्बर २ मा व्यापार गरिरहेका राजेन्द्रकुमार गुप्ताले नाला अधुरो राख्दा व्यापार व्यवसाय पनि ठप्प रहेको बताए । उनले सरकारी काम भन्दै निर्माण कम्पनीले आयोजनामा मनोमानी गरिरहेको बताए । उनले ढिलासुस्तीसँगै सो आयोजनामा गुणस्तरहीन कार्य भइरहेको बताए । उनले भने, ‘जति निर्माण गर्न सकिन्छ त्यतिनै कम्पनीले खन्नुपर्ने थियो । तर, बढी खनेर अल्पत्र छोड्दा हामीले सास्ती भोग्नुपरेको छ ।’

धनगढी वडा नम्बर २ का वडा अध्यक्ष धर्मराज ओझाले निर्माण व्यवसायीले सुरुमा कार्यमा तीव्रता दिएको भएपछि पछिल्लो समय सुस्त गतिमा कार्य भइरहेको बताए । उनले काम गर्ने मजदुर सङ्ख्या घटेकोले ढिलाइ भएको बताए । उनले नेपाल सरकारको मापदण्डअनुसार जति खन्नुपर्ने हो र निर्माण गर्नुपर्ने हो त्यो हुन नसकेको बताए ।

उनले मापदण्ड अनुसार २० मिटर खन्ने र त्यसलाई बनाउने भन्ने सहमति भएको तर, अहिले छिटो र छिरितो गर्ने सोचका साथ बढी खन्दा केही दिनअघि भएको वर्षाले धेरै क्षति भएको बताए । उनले भने, ‘सडक मापदण्डअनुसार निर्माण कम्पनीले खनेर नाली निर्माण गर्नुपर्दछ । बढी जनशक्तिको प्रयोेग गरी नागरिकलाई र भौतिक संरचनामा क्षति हुन नदिनमा निर्माण कम्पनीले ध्यान दिन जरुरी देखिन्छ ।’

धनगढीको मोहना पुलदेखि चौराहसम्म बर्सात पानी नाली निर्माण आयोजनाको निर्माण सम्झौता गत असार २० गते भएको थियो । आयोजनाको सम्झौता भएको पाँच महिनापछि निर्माण कार्य अघि बढाइएको थियो । दुई चरणमा गरिएको ठेक्का सम्झौता धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मोहनादेखि चौराहसम्म शुभलक्ष्मी–आदर्श जेभी र धनगढी उपमहानगरपालिका वडा नम्बर २ मोहनादेखि चौराहसम्म सनराइज–चन्द्रविकास–मष्टा जेभिसँग भएको थियो ।

वडा नम्बर २ को योजनाको कूल लागत छ करोड पाँच लाख एक हजार आठ सय ३२ रहेको छ भने वडा नम्बर ३ को आठ करोड ४० लाख २९ हजार दुई सय ९३ रहेको छ । दुवै योजनाको २०८३ वैशाख १६ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने आयोजना कार्यालयले जनाएको छ । कार्यालयका अनुसार वडा नम्बर ३ को नाली दुई÷दुई मिटरको चौडाइमा एक हजार चार सय ५० मिटर लम्बाइ रहेको छ भने वडा नम्बर २ नालाको एक हजार तीन सय ६५ मिटर लम्बाइ रहने छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ १४ गते बुधबार