भुर स्वास्थ्य चौकीलाई पोषणमैत्री घोषणा



जाजरकोट ।

जिल्लाको भेरी नगरपालिका–९ स्थित भुर स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ ।

भुर स्वास्थ्य चौकीले पोषणमैत्री स्वास्थ्य संस्था निर्देशिकाअनुसार तोकिएका १० मापदण्ड र १६ वटा सूचकहरू पूरा गरेपछि घोषणा गरिएको हो । निर्देशिकामा उल्लेख गरिएका मानव संशाधन व्यवस्थापन, ऊर्जा, खानेपानी, शौचालय, फोहोर व्यवस्थापन, औषधीको सुरक्षित प्रयोग, सामाजिक सचेतना तथा भौतिक पूर्वाधार व्यवस्थापनजस्ता मापदण्डहरू भुर स्वास्थ्य चौकीले पूरा गरेको छ ।

भेरी नगरपालिका–९ का वडाध्यक्ष तथा स्वास्थ्य संस्था व्यवस्थापन समिति अध्यक्ष हिराप्रसाद शर्माले १६ वटा सूचकहरू सफलतापूर्वक पूरा गरेकोमा काम गर्ने स्वास्थ्यकर्मी महिला स्वयंमसेविकालाई धन्यवाद दिए ।

स्वास्थ्य चौकी इन्चार्ज लालबहादुर खड्काका अनुसार नियमित गर्भजाँच, बालविकास अनुगमन, समयमै स्तनपान, भिटामिन ‘ए’ र जुकाको औषधी वितरण, ६ महिनासम्मको पूर्ण स्तनपान, त्यसपछि पुरक आहार, पूर्णखोप, किशोरीलाई फोलिक एसिड, झाडापखालाका बेलामा जिंक चक्की र ओआरएसको प्रयोगजस्ता सबै सूूचक स्वास्थ्य चौकीले पूरा गरेको हो ।

पोषणमैत्री स्वास्थ्य संस्था निर्देशिकामा १५ देखि १६ अंक प्राप्त गरेको स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्न सकिने व्यवस्था भएको उनले जानकारी दिए । भुर स्वास्थ्य चौकीले राम्रो अंक प्राप्त गरी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । यसअघि कुदु स्वास्थ्य चौकीलाई जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ १४ गते बुधबार