सुर्खेत ।
जिल्लाको पर्यटकीय क्षेत्र गोठिकाँडा हुँदै बराहताल गाउँपालिकाको कल्याणकाँध जोड्ने सडकको स्तरोन्नति कार्य सुरु भएको छ । कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सडक स्तरोन्नति कार्यको शिलान्यास गरेका हुन् । वीरेन्द्रनगर–१४ स्थित गोठिकाँबाट सुरु भई बराहताल गाउँपालिकाको कल्याणकाँध जोड्ने (छेडा–गढी–लेखगाउँ–श्रीचौर–कल्याणकाँध) सडकको स्तरोन्नति कार्य सुरु भएपछि स्थानीय खुसी भएका छन् ।
पर्यटकीय सम्भावना बोकेको गोठिकाँडा क्षेत्रसँगै बराहताला गाउँपालिकाको उत्तरी क्षेत्रका नागरिकलाई यातायात सेवा लिन सहज हुने अपेक्षा छ । ७ करोड ९८ लाख लागतमा पूर्वाधार निर्देशनालय र निर्माण व्यवसायी बिआई एस कन्सट्रक्सन प्रालिबीच निर्माण सम्झौता भई सडक स्तरोन्नतिको कार्य अघि बढेको हो । आगामी १५ असार २०८३ भित्र सम्पन्न गर्ने कार्यादेशसहित सडक स्तरोन्नतिको काम सुुरु भएको छ । पूर्वाधार निर्देशनालयका अनुसार प्रदेश सरकारले हालै स्वीकृत गरेको प्रादेशिक सडक गुरुयोजनामा समावेश भएको छेडा–गढी–लेखगाउँ–श्रीचौर–कल्याणकाँध खण्डको ७ किलोमिटर सडक स्तरोन्नति गरिनेछ ।
पहिलो खण्डमा साढे ३ किलोमिटर सकड कालोपत्रे गरिनेछ भने बाँकी साढे ३ किलोमिटर सडक नालासहित ग्राभेल गरिनेछ । सडक स्तरोन्नति कार्यको शुभारम्भ गर्दै मुख्यमन्त्री कँडेलले यस सडकले पर्यटकीय सम्भावना बोकेको गोठीकाँडा क्षेत्रको विकास तथा बराहताल गाँउपालिकाकोे माथिल्लो भेगका नागरिकलाई यातायात सेवामा सहजता ल्याउने बताए । गोठिकाँडा क्षेत्रलाई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने प्रशस्त आधार भएको उल्लेख गर्दै उनले स्थानीयस्तरमा विवाद सृजना नभएको खण्डमा तोकिएकै समयमा सडकले पूर्णता पाउने विश्वास व्यक्त गरे ।
‘गोठिकाँडा क्षेत्रलाई पर्यटकीय हब बनाउने योजनाअन्तर्गत प्रदेश सरकारले सडक स्तरोन्नतिको कार्य अघि बढाएको हो,’ उनले भने, ‘विकास जनप्रतिनिधि र कर्मचारीको मात्रै हो भन्ने मानसिकता त्याग्नुुपर्छ । सडकसँगै स्थानीय उत्पादन र उत्पादकत्व बढ्ने खालका आयमूलक क्षेत्रमा स्थानीयवासीले पनि जोड दिनुपर्छ ।’









प्रतिक्रिया दिनुहोस्