विद्युत प्राधिकरणलाई कोहलपुर माओवादीको ध्यानाकर्षण



कोहलपुर (बाँके) ।

गर्मीयाम बढेसँगै विद्युत अनियमित हुँदा जनताले सास्ती भोगेको भन्दै नेकपा ‐माओवादी केन्द्र) कोहलपुर नगर समिति विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रलाई ध्यानाकर्षण गराएको छ । गर्मीयाममा अघोषित लोडसेडिङ हुँदा कोहलपुर क्षेत्रका नागरिकले सास्ती व्यहारेको भन्दै कोहलपुर माओवादीले विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको हो ।

सोमबार नगर अध्यक्ष बलबहादुर खड्काको नेतृत्वमा केन्द्रलाई सात बुँदे ध्यानाकर्षण पत्रसमेत बुझाइएको थियो ।
केन्द्र प्रमुख माधव महत महतलाई बुझाइएको सात बुँदे ध्यानाकर्षण पत्रमा झ्याप झ्याप लाइन गइरहने समस्या समाधान गर्नुपर्ने, विद्युत पोल गाडिएका क्षेत्रमा विद्युतको सहज आपूर्ति, ३३ केभिए प्रसारण लाइनका कारण जनताले भोग्नु परेको सास्ती, प्राविधिक कर्मचारीहरूको कार्यसम्पादनमा जनतामा रहेको व्यापक गुनासो सुनुवाई, लोडसेडिङ भएमा पूर्व सूचना दिनुपर्ने, बिजुली आउँदा–जाँदाको कुनै रेकर्ड नरहेको आशंका रहेको जनाइएको छ ।

अध्यक्ष खड्काले गर्मीको समयमा पटकपटक बत्ती जाने समस्याका कारण यहाँका नागरिक, व्यवसायी, उद्योगी लगायत सम्पूर्णले सास्ती भोगेको भन्दै समस्या समाधानको लागि माग गरिएको बताए । विद्युत सेवा नियमित नहुँदा नागरिकको दैनिकी प्रभावित भएको, कार्यालय तथा विद्युतीय उपकरण सञ्चालक व्यवसायहरूमा समेत बाधा पुगेको भन्दै ध्यानाकर्षण गराइएको उनले बताए । अध्यक्ष खड्का अनुसार कार्यालयमै पुगेर केन्द्र प्रमुखलाई लिखित रूपमै सात बुँदे ध्यानाकर्षण पत्र बुझाइएको छ ।

कोहलपुर नगरपालिका क्षेत्रभित्र विद्युत आपूर्तिमा निरन्तर समस्या देखिँदै आएको छ । नेपाल विद्युत प्राधिकरण, कोहलपुर वितरण केन्द्रले केही महिना अघि सहज आपूर्ति गरिरहेको भएपनि पछिल्लो समय विद्युत सेवामा चरम अव्यवस्था देखिएको भन्दै स्थानीय नागरिक तथा विभिन्न संघसंस्थाहरू आक्रोशित भएका छन् । विद्युत आपूर्ति सहज गराउन सम्बन्धित निकायलाई कोहलपुर माओवादीले सचेत गराएको हो । ध्यानाकर्षण पत्रको पहिलो बुँदामा भनिएको छ, ‘विद्युत सेवा दिनमा धेरैपटक झ्याप्प झ्याप्प जाने समस्या देखिएको छ । जसले कार्यालय, उद्योग, सञ्चार, स्वास्थ्य सेवा, तथा अन्य विद्युतमा आश्रित सेवामा गम्भीर असर पारेको छ ।’

तार तानिएको ठाउँमा सेवा नहुँदा असमझदारी रहेको भन्दै केही स्थानमा पोल र तार तानिएको भएपनि हालसम्म सेवा विस्तार नगरिएको र यस्ता ठाउँमा तत्काल लाइन विस्तार गर्न माग गरिएको उल्लेख छ । ३३ केभीए प्रसारण लाइनमा नियमित समस्या बारम्बार सिस्टम बिग्रिने सूचना आएपनि त्यसको कारण र समाधानबारे सेवाग्राहीलाई जानकारी नदिइएको भन्दै प्राधिकरणबाट स्पष्ट जानकारी दिनुपर्ने माग गरिएको गरिएको अध्यक्ष खड्काको भनाइ छ ।

ढल्न लागेको पोलको तत्काल अनुगमन र मर्मतको माग गर्दै केही ठाउँमा पोलहरू ढल्न लागेको अवस्थामा रहेकोले यस्ता पोल ढल्दा मानवीय क्षति हुन सक्ने भन्दै तत्काल अनुगमन गरी मर्मत गर्न अपील गरिएको छ । मिटर रिडिङसँगै मिटर वितरण–दुरुपयोगको आशंका व्यक्त गर्दै माओवादीले मिटर रिडिङ गर्ने कर्मचारीहरूले मिटर बक्स समेत वितरण गर्दै आएको गुनासो आएकोले दोहोरो जिम्मेवारीबाट दुरुपयोग हुनसक्ने आशंका रहेको ध्यानार्षण पत्रमा उल्लेख गरेको छ । लोडसेडिङ भएमा पूर्व सूचना दिनुपर्ने माओवादीले माग गरेको छ ।

बिजुली आउँदा–जाँदाको कुनै रेकर्ड नरहेको आशंका व्यक्त गर्दै ध्यानाकर्षण पत्रमा ‘पत्र तयार पार्ने क्रममा मात्रै ४ पटक लाइन गएको उल्लेख गर्दै कार्यालयमा फोन गर्दा ट्रान्समिटर बिग्रिएको भनेर अस्पष्ट उत्तर आएको बताइएको छ । कार्यालयसँग लाइन जानु आउनुको रेकर्ड हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि छ ।

सात बुँदे ध्यानाकर्षण पत्र बुझ्दै नेपाल विद्युत प्राधिकरण, कोहलपुर वितरण केन्द्रका प्रमुख माधव महतले झ्यापझ्याप लाइन जानुलाई लोडसेडिङसँग नजोड्न आग्रह गरे । उनले भने, ‘लोडसेडिङ तब हुन्छ जब माग आपूर्ति भन्दा बढी हुन्छ । अहिले उत्पादन धेरै भएर भारतलाई समेत बेचिएको अवस्थामा लोडसेडिङ हुनुपर्ने कारण छैन । तर कहिलेकाहीँ ट्रान्सफर्मर वा फिडरमा समस्या हुँदा लाइन झ्यापझ्याप जाने गर्छ ।’ यता, नगर समिति अध्यक्ष खड्काले विद्युत समस्या शीघ्र समाधान नभए कोहलपुरमा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ १३ गते मंगलबार