कोहलपुरमा रात्रिकालीन क्रिकेटको ‘नौलो अभ्यास’



कोहलपुर नगर खेलकुद विकास समितिको आयोजनामा जेठ ९ गतेदेखि कोहलपुरमा रात्रिकालीन क्रिकेट प्रतियोगिता सुरु भएको हो । कोहलपुर नगरपालिकाको संरक्षकत्वमा कोहलपुरमा पहिलोपटक रात्रिकालीन प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता कोहलपुरलाई चिनाउन र खेलकुदको विकास गर्ने उद्देश्यले आयोजना गरिएको जइनाएको छ । प्रतियोगिता जेठ २० गतेसम्म सञ्चालन हुनेछ ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

कोहलपुर नगर खेलकुद विकास समितिको आयोजनामा कोहलपुरमा रात्रिकालीन क्रिकेट प्रतियोगिता–२०८२ सुरु भएको छ । खेलकुद नगरीको रूपमा विकास हुँदै गइरहेको कोहलपुरमा पहिलोपटक रात्रिकालीन क्रिकेट प्रतियोगता सुरु भएको हो । शुक्रबारदेखि सुरु भएको प्रतियोगिता जेठ २० गतेसम्म सञ्चालन हुनेछ । खेल हरेकदिन राति ८ बजेदेखि १२ बजेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा २३ वटा टिमको सहभागिता रहेको छ । ती टोलीलाई चार समूहमा बाँडिएको छ ।

कोहलपुरलाई खेलकुदका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने तथा खेल पर्यटन प्रवद्र्धन गर्ने रात्रिकालीन क्रिकेट प्रतियोगिताको उद्देश्य रहेको छ । यतिमात्रै होइन, प्रतियोगितामार्फत सामाजिक सद्भाव कायम हुने, पर्यटन प्रवद्र्धन गर्ने, व्यवसाय प्रवद्र्धनमा सहयोग पु¥याउने, आपसी मित्रता बन्धुत्व हासिल गर्ने आयोजकको अपेक्षा रहेको छ । केही वर्षयता लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता मुख्यमन्त्री कोहलपुर गोल्डकप आयोजना भइरहेको कोहलपुरमा रात्रिकालीन क्रिकेट प्रतियोगिता नौलो अभ्यास हो ।

बाँके जिल्लामा सञ्चालन हुने क्रिकेट प्रतियोगिताहरूमध्ये अहिलेसम्मकै ठूलो धनराशि भएको प्रतियोगिताबाट खेलाडीमात्रै होइन क्रिकेटप्रेमीहरूमा समेत उत्साह थपेको छ । रात्रिकालीन क्रिकेटप्रतिको आकर्षण, खेलप्रेमीहरूको उत्साह र कोहलपुरमा लुप्त रहेको क्रिकेटप्रेम प्रतियोगिता उद्घाटनकै दिन देखियो । ३०औँ हजार मानिस अटाउने क्षमता भएको कोहलपुर–११ न्युरोडस्थित कोहलपुर खुला मैदानमा सुरु भएको प्रतियोगितामा पहिलोदिन स्थानीयहरूको उत्साहजनक सहभागिता देखिएको थियो । क्रिकेट हेर्न खेलप्रेमीसहित बालबालिका, महिला, युवा, जेष्ठ नागरिक, विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

आयोजक नगर खेलकुद समितिका अनुसार अनुमानित ५ देखि ६ हजार जनासम्म दर्शकहरू रात्रिकालीन क्रिकेट अवलोकनका लागि खुल्ला मैदानमा आएका थिए । रात्रिकालीन क्रिकेट सुरु गर्ने निर्णय गर्दा आफूहरूमा अनेक अनेक संशय रहेपनि पहिलो दिननै दर्शकहरूको उल्लेख्य सहभागिताले आफूलाई हौसला थपिएको कोहलपुर नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र चिमला क्षेत्री बताउँछन् । उनी भन्छन्, ‘कोहलपुर रात्रिकालीन क्रिकेट नौलो अभ्यास हो । कोहलपुरलाई खेलकुद नगरी बनाउने हाम्रो अभियानको एउटा पाइला हो । पहिलो दिनको दर्शकहरूको उपस्थितिले हामीलाई हौसला मिलेको छ ।’

कोहलपुरमा पहिलोपटक आयोजना गरिएको रात्रिकालीन क्रिकेटमार्फत आम नागरिकहरूमा खेलकुद विशेषगरी क्रिकेटप्रतिको क्रेज छताछुल्न भएको अध्यक्ष क्षेत्रीको भनाइ छ । उनका अनुसार गोल्डकप सुरु गर्दापनि यहाँका सरोकारवाला, दर्शकहरूको निकै ठूलो साथ र सपोर्ट थियो । अहिले रात्रिकालीन क्रिकेट सुरु गर्दासमेत उस्तै साथ सहयोग प्राप्त गरेको छ । उनले प्रतियोगितालाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए ।
नेपाली पुरुष क्रिकेट टिमका पूर्वकप्तान एलबी क्षेत्री कोहलपुरमा रात्रिकालीन क्रिकेट प्रतियोगिता सुरु हुनु खुसीको कुरा भएको बताउँछन् । उनका अनुसार कोहलपुरमा चिनाउन प्रतियोगिताले भूमिका खेल्नेछ ।

उनी लेख्छन्, ‘ठाउँलाई देश–विदेशमा चिनाउनेछ । नगरवासीहरूमा क्रिकेट खेलका बारेमा जागरुकता र सचेतना बढाउनेछ । रात्रिकालीन क्रिकेटले बालबालिकाहरूमा खेलप्रति आकर्षणसेमत बढाउनेछ ।’ रात्रिकालीन क्रिकेट अवलोकन मात्रै नभएर व्यवसाय पवद्र्धनका लागिसमेत सहयोगी बन्ने उनले बताए । रातिको समयमा स्थानीय व्यापारीहरूले खाजा, नास्ता बिक्री गरी केही आयआर्जन गर्न सक्ने उनको भनाइ थियो । कोहलपुरमा अहिले धेरै गर्मी छ । गर्मीको समयमा घरपरिवासँगै बसेर खुल्ला चौरमा क्रिकेट हेरेर केही समय मनोरञ्जन तथा मुड फ्रेससमेत हुन्छ ।

यसैगरी उनले खेल मैदानमा बोटबिरुवासमेत लगाइएकोले आफ्नो नगर सफा राख्नु र बोटबिरुवाहरूको संरक्षण गर्नु सबैको कर्तव्य र जिम्मेवारी भएको समेत बताएका छन् । उनी थप्छन्, ‘यो पहिलो प्रयास हो, सकारात्मक लिनुपर्छ र आयोजनापछि सिकाइको समीक्षा गरेर देखिएका कमी कमजोरीहरूलाई न्यूनीकरण गर्दै आगामी वर्षहरूमा राम्रो अभ्यासलाई निरन्तरता र अझ परिष्कृत रुपले सञ्चालन गर्ने अगाडि बढ्नुपर्छ ।’

प्रतियोगिताको प्रंशसा, प्रचारशैलीबारे आलोचना

कोहलपुरमा पहिलोपटक सुरु भएको रात्रिकालीन क्रिकेट प्रतियोगिताका विषयमा व्यापक रूपमा प्रंशसा भइरहेको छ । खेलकुद विकासको नौलो शैली अपनाइएको भन्दै नगरवासीले आयोजकको प्रंशसा गरेका हुन् । कोहलपुरस्थित खुला मैदानमा पहिलोपटक रात्रिकालीन त्रिकेट हेरेर अधिकांशले प्रतियोगिताका विषयमा सकारात्मक प्रतिक्रिया दिएका थिए । प्रतियोगिताको उद्घाटन खेल हेर्न खुल्ला मैदानमा पुगेका ओमप्रकाश रेग्मीले कोहलपुरमा रात्रिकालीन क्रिकेट हुनु राम्रो सुरुवात भएको बताए । क्रिकेटप्रेमीसमेत रहेका उनको कोहलपुरमा यस्तो प्रतियोगिता हुनु खुसीको कुरा भएको उनको भनाइ थियो । रेग्मीले प्रतियोगितालाई अझै व्यवस्थित र निरन्तर सञ्चालन गर्नुपर्ने राय दिए ।

कोहलपुर– १२ घर भई हाल वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा रहेका सन्दिप सुमनले सामाजिक सञ्चाज फेसबुकमा लेखेका छन्, ‘खेलले नगर, प्रदेश अनि देशलाई नै समृद्धिको दिशातर्फ अगाडि बढाउँछ । हाम्रो कोहलपुर नगरपालिकामा पहिलोपटक सुरु भएको छ, रात्रिकालिन क्रिकेट प्रतियोगिता । आउनुस् खेलाडीहरूको हौसला बढाऔँ, सहरको उत्सवमा सहभागी बनौँ ।’

कोहलपुर नगरपालिकाकी पूर्वकार्यपालिका सदस्यसमेत रहेकी नारायणी वली रात्रिकालीन क्रिकेट प्रतियोगिता हेर्न सपरिवार खुल्ला मैदानमा आएकी थिइन् । उनले कोहलपुर नगरपालिकाले खेलकुदको विकासका लागि नयाँ कामको सुरुवात गरेको प्रतिक्रिया दिइन् । उनका अनुसार प्रतियोगिता नौलो अभ्यासका रूपमा आएको छ । यसले कोहलपुरमा नयाँ क्रिकेट खेलाडी उत्पादनमा सहयोग पुग्नेछ । नयाँ पुस्तालाई प्रतियोगिताले सकारात्मक प्रभाव पार्ने उनले बताइन् । रात्रिकालीन क्रिकेट प्रतियोगिताका लागि आयोजकलाई राजनीतिकर्मीसमेत रहेकी वलीले धन्यवाद दिइन् ।

प्रतियोगिताको विषयमा समग्रमा सकारात्मक प्रतिक्रिया आएपनि आयोजकले अपनाएको प्रचारप्रसार शैलीको भने व्यापक आचोलना भएको छ । समग्रमा रात्रिकालीन क्रिकेट प्रतियोगिता सञ्चालन हुनु सकारात्मक विषय भएपनि प्रतियोगितालाई छायाँमा पार्नेगरी आयोजना स्थलका पोलपोलमा टाँगिएका जनप्रतिनिधिका तस्बिरका विषयमा टीकाटिप्पणी भएको हो । केहीले छोटे राजाहरूको प्रचारशैली भन्दै टिप्पणी गरिरहेका छन् ।

आयोजक खेलकुद् विकास समितिले मैदानमा गाडिएका पोलहरूमा कोहलपुर नगरपालिकाका नगर प्रमुख र उपप्रमुख तथा वडा अध्यक्षहरूको फोटा झुण्ड्याएको छ । कोहलपुर नगरपालिकाकै संरक्षकत्वमा सुरु भएको प्रतियोगितामा जनप्रतिनिधिहरूको अनावश्यक प्रचारप्रसार गरिएको भन्दै आलोचना भएको हो । प्रतियोगिता स्थलमा फोटो टाँगिएका कोहलपुर नगरपालिकाकै जनप्रतिनिधिले आयोजकको प्रचारप्रसार शैलीको विषयमा असन्तुष्टि जनाएका छन् ।

कोहलपुर वडा नम्बर ३ का वडाध्यक्ष माधव रिजालले आयोजना स्थलमा आफ्नो फोटो अनुमतिबेगर राखिएको भन्दै असन्तुष्टि जनाएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘प्रतियोगिता सञ्चालन हुनु आफैँमा राम्रो कुरा हो । जनप्रतिनिधिहरूको फोटो अनुमतिबेगर पोलमा टास्ने कार्य तुरुन्त सच्चाउन माग गर्दछु । आगामी दिनमा यस्ता कार्य नदोहोरिउन भन्ने आशा लिएको छु ।’ यस्तै सचेत युवा कोहलपुरका अगुवा शंकर न्यौपानेले रात्रिकालीन क्रिकेटले कोहलपुरमा रौनकता ल्याएको बताउँदै नयाँ अभ्यासलाई निरन्तरता दिनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘यो नयाँ अभ्यास हो । यसलाई निरन्तरता दिनुपर्छ । जनप्रतिनिधिको फोटो पोलमा टाँस्नुभन्दा राष्ट्रिय क्रिकेट खेलाडीको फोटो टाँसेको भए सुनमा सुगन्ध हुने थियो ।’

आफूलाई अभियान्ता भनेर चिनाउने कोहलपुरका स्थानीयसमेत रहेका भूम भण्डारीले कार्यालयमा धितामरुञ्जेल देखिएका अनुहारहरू मनोरञ्जन र खेल स्थलमा हेरिनुपर्ने यो कस्तो बाध्यता आइलाग्यो भन्दै व्यंग्यात्मक रूपमा प्रश्न गरेका छन् । कोहलपुर रात्रिकालीन क्रिकेट प्रतियोगिताको उद्घाटन सत्रमा सहभागी भएका नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिका अध्यक्ष बलबहादुर खड्काले लेखेका छन्, ‘वडाका अध्यक्षहरू कार्यक्रम स्थलमा हुनुहुन्थ्यो । कोही बोलेको देखिएन । केही अध्यक्षले विरोध गरेको पनि सुनियो । सहभागी धेरै मान्छेहरूको प्रतिक्रिया थियो, यी छोटे राजाका फोटा किन रखिएका होलान ?’ उनले पनि प्रतियोगिता आफैँमा राम्रो भएपनि जनप्रतिनिधिको फोटो टाँस्ने विषय राम्रो नभएको बताए ।

कोहलपुर क्रिकेट मैदान हुँदाहुँदै खुल्ला मैदानमा किन ?

कोहलपुरमा अन्तर्राष्ट्रियस्तरको कोहलपुर क्रिकेट मैदान छ । २०६६ सालदेखि निर्माण सुरु भएको क्रिकेट रंगशाला अहिलेपनि निर्माणाधीन अवस्थामै छ । उक्त मैदानमा छिटफुट रूपमा क्रिकेट प्रतियोगितासमेत हुँदै आएका छन् ।

पछिल्लो पटक कोहलपुर उपप्रमुख कप महिला क्रिकेट प्रतियोगिता त्यही मैदानमा भएको थियो । कोहलपुर नगर विकास समितिले अहिले आयोजना गरिएको प्रतियोगिता किन उक्त मैदानमा आयोजना गरिएन भन्दै प्रश्न उठेको छ । कोहलपुरमा करोडौँ लगानीमा निर्माण गरिएको क्रिकेट मैदान हुँदाहुँदै खुला मैदानमा नै किन प्रतियोगिता आयोजना गरियो भन्दै धेरैले आयोजकप्रति प्रश्न तेस्र्याएका छन् ।

आफ्नो फोटो अनुमतिबेगर टाँसियो भन्दै हटाउन माग गरेका वडा नम्बर ३ का वडा अध्यक्ष रिजालले प्रतियोगिता स्थलका विषयमा समेत असन्तुष्टि जनाएका छन् । उनले प्रतियोगिता क्रिकेट मैदानमा नगरी खुला मैदानमा गर्नु आफैँमा ठिक विषय नभएको बताएका हुन् । यस विषयमा आयोजकले भने सुरक्षाका कारण क्रिकेट मैदानमा प्रतियोगिता सम्भव नभएकाले खुला मैदानमा प्रतियोगिता आयोजना गरिएको बताएको छ । अध्यक्ष क्षेत्रीले रात्रिकालीन प्रतियोगिता आफैँमा जोखिमपूर्ण रहेकाले सुरक्षाका दृष्टिले समस्या नहोस् भने खुला मैदानमा प्रतियोगिता आयोजना गरिएको बताएका छन् ।

यसैगरी पूर्वकप्तान एलबी क्षेत्रीले सुरक्षा तथा भर्खरै निर्माण भएका संरचनामा हुन सक्ने क्षति लगायतका कारणले खुला मैदानमा प्रतियोगिता आयोजना गरिएको बताएका छन् । उनका अनुसार सुरक्षाको दृष्टिकोण र निर्माणाधीन अवस्थामा रहेका संरचनामा क्षति पुग्न सक्ने र बलहरू धेरै हराउन सक्ने साथै दर्शकहरूलाई रातिको समयमा असहज वा असुरक्षित हुन सक्ने हुनाले आयोजकले खुला मैदान रोजेको हो । प्रतियोगितामा २३ टिम सहभागी छन् । प्रथम हुने टिमले १ लाख ५० हजार र उपविजेता बन्ने टिमले ७५ हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ ११ गते आइतबार