शिवु खनाल । दाङ ।
अवैधरूपमा वन्यजन्तु चोरी तस्करी गर्न सरकारी पोशाक प्रयोग गरेको पाइएको छ । तस्करले चोरीसिकारी गर्न अवैध हतियार बोकेर नेपाली सेना र सशस्त्र प्रहरीको पोशाक लगाइ वन क्षेत्रमा समूहमा हिँड्दै गरेको तस्बिर डिभिजन वन कार्यालय देउखुरीले सुरक्षित साथ राखेको जनाएको छ ।
तस्करले नेपाली सेना र सशस्त्र प्रहरीको पोशाक लगाइ अवैध हतियार बोकेर वन क्षेत्रमा अवैधरूपमा वन्यजन्तु चोरीसिकारी गर्न समूहमा हिँडेको तस्बिर वन कार्यालयसँग सुरक्षित रहेको डिभिजन वन कार्यालय देउखुरी लमहीका सिनियर डिभिजनल वन अधिकृत महेन्द्रराज वाग्लेले बताए । उनले क्यामरा ट्रयापिङ (मोसनको आधारमा स्वचालित हुने क्यामरा)मा तस्करले चोरीसिकारी गर्न अवैध हतियार बोकेर नेपाली सेना र सशस्त्र प्रहरीको पोशाक लगाइ वन क्षेत्रमा समूहमा हिँड्दै गरेको तस्बिर कैद भएको जानकारी दिए ।
‘तराई भू–परिधि कार्यक्रमको आर्थिक र प्राविधिक सहयोगमा डिभिजन वन कार्यालयको वन क्षेत्रमा वन्यजन्तुको अनुगमनको लागि राखिएको क्यामरा ट्रयापिङ (मोसनको आधारमा स्वचालित हुने क्यामरा)मा अवैध हातहतियारसहित सरकारी पोशाकमा तस्करहरू कैद भएका हुन् ।’ डिभिजनल वन अधिकृत वाग्लेले भने, ‘अर्जुनखोला आसपासको पूर्व पश्चिम राजमार्गदेखि करिब तीन सय मिटर भित्रको वन क्षेत्रमा रातिको समयमा तस्कर (सिकारी)हरू हतियार बोकी हिँडिरहेको अवस्थामा तस्बिर देखिएको र सिकारीहरूले नेपाली सेना र सशस्त्र प्रहरीले प्रयोग गर्ने सरकारी पोशाक लगाइ बन्दुक र टर्च लाइट जस्ता सामाग्रीहरू बोकी सिकार गर्ने प्रयोजनले हिँडेको तस्बिरहरू कैद भएको छ ।’
उनले नेपाली सेना र सशस्त्र प्रहरीको क्याम्प आसपासको क्षेत्रमा सिकारीहरू क्यामरा ट्र्यापिङमा कैद भएको हुदाँ क्यामरा आसपासको क्षेत्रमा समेत नियमितरूपमा गस्ती गरिदिन जिल्ला प्रशासन कार्यालय दाङलाई परिपत्र गरेको बताए । उनले तस्बिरमा कैद भएका व्यक्तिहरूको पहिचानसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय दाङलाई परिपत्र गरिसकेको बताए ।
वन्यजन्तु चोरीसिकारी गर्न इजाजतप्राप्त हतियारको प्रयोग
देउखुरीको सुरक्षा संयन्त्रमाथि यतीबेला प्रश्न उठिरहेको छ । देउखुरीका सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा जंगली जनावरको चोरीसिकारी गर्न इजाजतप्राप्त हतियार प्रयोग हुने गरेको जनगुनासो बढ्दै गएको छ । व्यक्तिगत सुरक्षाको लागि इजाजतप्राप्त हतियार वन्यजन्तु चोरीसिकारीका लागि प्रयोग हुने गरेको पाइएको हो ।
जसले सुरक्षा चुनौतीलाई थप गम्भीर बनाएको छ । सरकारले इजाजत लिएका हतियार चुनावका बेला जिल्ला प्रशासन कार्यालयमा जम्मा गर्न र चुनाव सकिएपछि फिर्ता दिने गरेको छ । तर, त्यसरी राखिएका हतियारको सदुपयोग, दुरुपयोग भए नभएकोमा जिल्ला प्रशासन कार्यालयबाट नियमन तथा अनुगमन र निगरानी नहुँदा सामुदायिक वनक्षेत्रमा तस्करहरू चोरीसिकारी गर्न हतियार लिएर निर्वाध पुग्ने स्थिति देखिएको हो ।
पेशेवर सिकारीहरू इजानतप्राप्त हतियार (बन्दुक) लिएर दिउँसो र रातको समयमा जंगली हरिण, बँदेल, कछुवा, मृग, वन कुखुरा लगायतका जंगली जनावरको सिकार गरेर लैजाने गरेको जनगुनासो छ । सो क्षेत्रमा प्रायः दैनिकजसो सिकारीले बन्दुक पड्काएको आवाज आउने गरेको स्थानीय बताउँछन् । सिकारीहरू हतियारसहित हुने भएकाले जंगलमा घाँस काट्न जाँदा पनि डराउँदै जानु परेको स्थानीयको भनाइ छ ।
कहिलेकाहीँ सिकारीको आक्रमणमा परी घाइते भएका जंगली जनावरसमेत भेटिने गरेको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले बताए । वन गस्ती टोलीले जंगली जनावरको भन्दा पनि जंगलका रूखहरूको सुरक्षामा ध्यान दिँदा जंगलमा रहेका जनावरको चोरीसिकारीमा भने ध्यान नपुगेकै कारण जंगली जनावर लोप हुन थालेको उनले बताए । उनका अनुसार केही वर्ष पहिलेसम्म मानिसको करेसाबारीसम्मै आउने बँदेल हाल औँलामा गन्न सकिने भएको छ । सिकारी समूहले जंगली जनावरको सिकार गर्नु सोखसहित बजारमा महंगो दरमा मासु बिक्री हुने भएकाले गर्ने गरिएको पाइएको जानकारहरू बताउँछन् ।
वन कार्यालयले बढायो वन गस्ती
देउखुरी क्षेत्रमा अवैधरूपमा वन्यजन्तु चोरी सिकारीका घटना बढ्दै जान थालेपछि वन क्षेत्रमा नियमितरूपमा वन गस्ती बढाइएको डिभिजन वन कार्यालय देउखुरी लमहीका सिनियर डिभिजन वन अधिकृत महेन्द्रराज वाग्लेले बताउँछन् । उनले देउखुरी क्षेत्रमा आफ्नो मातहतभित्र रहेका सवडिभिजन वन कार्यालयलाई नियमितरूपमा वन गस्ती गर्न परिपत्रसहित कडा निर्देशन गरेको बताए ।
‘बढ्दो चोरीसिकारीलाई मध्यनजर गर्दै अहिले वन गस्ती बढाइएको हो,’ उनले भने, ‘आवश्यक जनशक्ति सहितको टोली परिचालन गरिएको छ । सामुदायिक वनलाई समेत समन्वय गरी पदाधिकारीको सहयोगमा समूह बनाएर आ–आफ्नो वनक्षेत्रमा नियमितरूपमा वन गस्ती गर्न आग्रह गरिएको छ ।’









प्रतिक्रिया दिनुहोस्