लुम्बिनीको नीति तथा कार्यक्रम बहुमतले पारित



देउखुरी (दाङ) ।

लुम्बिनी प्रदेश सभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । छैटौँ अधिवेशनको आठौँ बैठकले आर्थिक वर्ष २०८२-०८३ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम पारित गरेको हो ।

बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । त्यसपछि सभामुख तुलाराम घर्तीमगरले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । ध्वनि मतको आधारमा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे ।

विगत दुई दिनदेखि प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल जारी थियो । प्रदेश सरकारले प्रदेशको समग्र विकास गर्ने गरी कृषि, उद्योग, पर्यटन, पूर्वाधार विकासलगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । जेठ ५ गते सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई सांसदहरूले प्रदेशको विकासका लागि उत्कृष्ट भन्दै त्यसलाई बजेटमार्फत सम्बोधन गर्न सुझाव दिएका थिए ।

मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रमलाई पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । शनिबार बसेको छैटौँ अधिवेशनको आठौँ बैठकलाई सम्बोधन गर्दै उनले कार्यान्वयनको लागि प्रभावकारी अनुगमन व्यवस्था मिलाइने जानकारी पनि दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ ११ गते आइतबार