खगेन्द्र दाहाल । खजुरा (बाँके ।
बाँकेको खजुरामा तीन प्रतिशत बालबालिका कुपोषणको सिकार भएको पाइएको छ । हालै खजुरा गाउँपालिका स्वास्थ्य शाखाले गरेको प्रक्षेपणअनुसार दुई वर्षमुनिका बालबालिकामा गत वर्षभन्दा एक प्रतिशत कुपोषण बढेको पाइएको हो ।
गत वर्ष दुई प्रतिशत रहेको खजुरामा चालू आर्थिक वर्षमा पालिकाले प्रत्येक स्वास्थ्य चौकीमा ओसीटी सेन्टर स्थापना गरी खोज पड्ताल कार्यलाई तीव्रता दिँदा सङ्ख्या बढेको शाखा प्रमुख लक्ष्मी केसी ओलीले जानकारी दिइन् । ओसीटी सेन्टर सञ्चालन पछि ५६ जना कडा कुपोषित बालबालिकालाई सुपोषित बनाइएको शाखा प्रमुख केसीले जनाइन् ।
गत वर्षको तुलनामा केही बढेको जस्तो देखिएपनि यसलाई सकारात्मक रूपमा लिँदै अर्को वर्ष कुपोषित बालबालिकाहरूको सङ्ख्यामा धेरै नै कमी आउने विश्वास लिइएको शुक्रबार आयोजित पोषण कार्यक्रमको पालिकास्तरीय अर्धवार्षिक समीक्षा गोष्ठीमा बोल्दै पालिका अध्यक्ष डम्बरबहादुर विकले बताए ।
खजुरा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा विभिन्न स्वास्थ्य केन्द्र, सरोकारवाला निकाय, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको कार्यक्रममा पोषणमा समग्र खजुराको प्रगति हुँदै गएको अध्यक्ष विकले जानकारी दिए । खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले कुपोषणबाट सबै बालबालिकालाई जोगाउनु स्थानीय सरकारको कर्तव्य रहेकाले आगामी योजना थप मजबुत हुने गरी निर्माण गरिने बताइन् ।
सामाजिक विकास संयोजक कृष्णा पोखरेलले अहिलेको गतिमा स्वास्थ्यकर्मीले काम गरेको खण्डमा आगामी वर्ष कुपोषण न्यूनीकरणतर्फ उन्मुख हुने उल्लेख गरिन् । योसँगै प्रोटकलअनुसार चार पटक गर्भवती जाँच गराउने महिलाहरु गत वर्ष ६६ प्रतिशत थिए भने चालू वर्षमा ७१ प्रतिशत पुगेको छ । यस्तै आठ पटक गर्भवती जाँच गराउने महिला गत वर्ष ४५ प्रतिशत थिए भने चालू वर्षमा पनि ४५ प्रतिशतनै रहेको शाखाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्