कोहलपुर ।
बाँकेको कोहलपुरमा सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि बसका चालक, सहचालक तथा गाडी मजदुरहरूको निःशुल्क आँखा परीक्षण गरिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजना र कोहलपुर नगरपालिका, फत्तेबाल आँखा अस्पताल नेपालगन्ज र बागेश्वरी यातायात प्रालिको सहकार्यमा शुक्रबार बिहान कोहलपुर बसपार्कमा बसका चालक, सहचालक तथा गाडी मजदुरहरूको निःशुल्क आँखा परीक्षण गरिएको हो ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले शरीरका सबै अङ्गमध्ये आँखा महत्वपूर्ण र संवेदनशील अङ्ग भएका कारण ट्राफिक प्रहरी र इलाका प्रहरी कार्यालयले चालक तथा सहचालकको निःशुल्क आँखा शिविर आयोजना गरेर सराहनीय कार्य गरेको बताए । उनले सवारी दुर्घटनाका कारणमध्ये आँखाको दृष्टि पनि एक महत्वपूर्ण कारण भएकाले समयसमयमा अनिवार्यरूपमा गाडीका कर्मचारीहरूले आँखा परीक्षण गराउनुपर्ने बताए ।
‘नगरपालिकाले स्थानीयको स्वास्थ्यको ख्याल गर्दै हरेक वडा र टोलटोलमा विभिन्न स्वास्थ्य संस्थाहरूको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर गरिरहेका छौँ, स्वास्थ्य शिविरबाट उहाँहरू लाभान्वित भइरहनु भएको छ ।’ नगर प्रमुख आचार्यले भने, ‘तर हाम्रो यति नजिकै रहेको बसपार्क र सवारीसाधनका चालकहरूको स्वास्थ्य जाँचतर्फ हाम्रो ध्यान जान नसकेको रहेछ, आज ट्राफिक प्रहरी र इलाका प्रहरीले यो कार्यक्रम आयोजना गरेर उहाँहरूको आँखा जाँच गर्नुभएको कार्य सराहनीय छ, पक्कै पनि आँखाका कारण हुने दुर्घटनामा यसले न्यूनीकरण हुनेछ ।’
उनले यहाँ स्क्रिनिङबाट कुनै कर्मचारीको आँखाको शल्यक्रिया गर्नुपर्ने भएमा त्यसमा नगरपालिकाले सहयोग गर्ने उल्लेख गरे । इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी खनालले सवारी दुर्घटनाका कारण मध्ये आँखाको दृश्य पनि एक भएका कारण त्यसलाई न्यूनीकरण गर्नका लागि चालक तथा सहचालकको आँखा परीक्षण गरिएको बताइन् । उनले सवारी दुर्घटना न्यूनीकरण तथा जनचेतना जगाउने उद्देश्यले आँखा परीक्षण शिविर राखिएको बताइन् ।
‘आँखाको दृष्टि कमजोर हुँदा पनि दुर्घटना हुन सक्ने जोखिम भएकाले चालक तथा सहचालक र मजदुरहरूको बसपार्कमै आएर आँखा जाँच गरिएको हो ।’ डीएसपी खनालले भनिन्, ‘पछिल्लो समय बढ्दै गएको दुर्घटनाको दरलाई न्यूनीकरण गर्नका लागि र सन्देशमूलक तथा चेतनामूलक पनि हुने भएका कारण शिविर आयोजना गरिएको हो ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख ट्राफिक प्रहरी निरीक्षक पुष्करराज पन्तले चालक तथा सहचालकहरूले आफ्नो जीवनमा आफ्नो स्वास्थ्यलाई भन्दा पनि यात्रुहरूको समयलाई ध्यान दिई २४सै घण्टा सवारीसाधनलाई यात्रुहरूको गन्तव्यमा पु¥यानुपर्ने डिउटी हुने कारण सवारी दुर्घटनासमेत हुने सम्भावना रहेको हुँदा शिविर आयोजना गरिएको बताए ।
शिविरले स्वास्थ्यकै कारणबाट हुन सक्ने सवारी दुर्घटनामा कमी आउने आफूले विश्वास लिएको बताए ।
वागेश्वरी यातायात प्रालिका अध्यक्ष मनप्रसाद आचार्यले व्यवसायीको लगानी र सम्पूर्ण यात्रुको ज्यान चालकको हातमा हुने भन्दै गाडी चलाउँदा सावधानीपूर्वक संवेदनशील हुनुपर्ने बताए । उनले कैयौँ दुर्घटनाहरू आँखाको दृष्टिका कारण पनि हुने गरेको भन्दै शिविरले सकारात्मक सन्देशका साथै सवारीसाधन कर्मचारीहरूको आँखा परीक्षणले दुर्घटनामा न्यूनीकरण गर्न सहायता पुग्ने बताए ।
फत्तेबाल आँखा अस्पताल नेपालगन्जका नेत्र अधिकृत उमर सादिकले चालक, सहचालक तथा कर्मचारीहरूमध्ये अधिकांशको आँखा नर्मल देखिएपनि केहीमा दृष्टि दोष, आँखा चिलाउने तथा ४० वर्षमाथिका धेरैजसोमा नजिक नदेख्ने समस्या देखिएका कारण चस्मा लगाउनुपर्ने सल्लाह दिइएको बताए । उनका अनुसार १६६ जनाको आँखा परीक्षण गरिएको छ । कोहलपुरका नगरप्रमुखको आँखा परीक्षण गरेर शिविरको सुरुआत गरिएको थियो ।
बाँकेमा चालू आवको वैशाखसम्म साना ठूला गरेर ४०९ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनाका कारण ६६२ जना नागरिक घाइते भएका छन् भने ६३ जनाको मृत्यु भएको छ । गत आवमा जिल्लामा १३२ वटा सवारी दुर्घटना भएका थिए । जसका कारण १८३ जना नागरिक घाइते भएको र ६० जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्