भन्सार नाका अव्यवस्थित बनाएर नागरिकको हुर्मत लिइँदै



भन्सारको यात्रु शाखा रहेको बिन्दुबाट प्रहरीले नै छुट दिएर भित्रिएका सामानहरू फेरी अर्काे जाँचबिन्दुमा समातेर भन्सार नतिरेकोले अवैध सामान हो भन्दै सशस्त्रले जफत गर्ने गरेको छ । त्यसक्रममा नागरिकहरूसँग विवाद हुँदा सशस्त्र प्रहरीले संयमता गुमाएर हातपात तथा कुटपिट नै गर्ने गरेको छ ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेको जमुनाहा नाकाबाट घरायसी सामान खरिद गरी आउने नागरिकमाथि सशस्त्र प्रहरीले हातपात तथा कुटपिट गर्ने क्रम रोकिएको छैन । भारतबाट खरिद गरी आउनेहरूलाई भन्सार नतिरी कुनैपनि मालबस्तु ल्याउन नदिनेगरी कडाइ गरेपनि मानिसहरू भारतीय बजार पुगेर किनमेल गरी आउने क्रम घटेको छैन । त्यसरी किनमेलन गरी आउनेहरूलाई प्रहरीले अनिवार्य भन्सार तिर्न लगाउने नभइ मान्छे हेरेर मनमौजी व्यवहार गर्ने गरेको छ ।

भन्सारको यात्रु शाखा रहेको बिन्दुबाट प्रहरीले नै छुट दिएर भित्रिएका सामानहरू फेरी अर्काे जाँचबिन्दुमा समातेर भन्सार नतिरेकोले अवैध सामान हो भन्दै सशस्त्रले जफत गर्ने गरेको छ । त्यसक्रममा नागरिकहरूसँग विवाद हुँदा सशस्त्र प्रहरीले संयमता गुमाएर हातपात तथा कुटपिट नै गर्ने गरेको छ ।

जेठ २ गते शनिबार पनि एक महिलालाई पुरुष सशस्त्र प्रहरीले हातपात गरेको भिडिओ सामाजिक सञ्जालबाट सार्वजनिक भयो । उक्त भिडिओमा प्रहरीले कब्जामा लिएको सामानको बोरा ती महिलाले खोस्न खोज्दा प्रहरीले कुहिनाले महिलालाई धकेलेर लडाएको देखिन्छ । उक्त भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा महिलामाथि पुरुष प्रहरीले हातपात गरेको भन्दै आलोचना गरिएको छ ।

यसअघि वैशाख १ गते पनि एक महिलाले भारतबाट ल्याएको चिसो पेय पदार्थ प्रहरीले बरामद गरेपछि भएको विवादमा पनि सशस्त्र प्रहरीले नागरिकमाथि हातपात गरेका भिडिओहरू सार्वजनिक भएका थिए । गतवर्ष पनि पटक पटक नागरिकमाथि प्रहरीले कुटपिट गरेको तथा अनुचित व्यवहार गरेका घटनाहरू सार्वजनिक भएका थिए ।

सशस्त्र प्रहरीको यस्तो व्यवहारले नागरिकहरूमा नकारात्मक प्रभाव परेको सामाजिक सञ्जालका प्रतिक्रियाहरूले देखाउँछन् । प्रहरीले ठूला तस्करहरूलाई छुट दिएर सर्वसाधारण नागरिकमाथि भने बल प्रयोग गर्ने गरेको नागरिकहरूको बुझाइ बनेको देखिन्छ ।

सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भिडिओमा प्रतिक्रिया जनाउँदै एनबी घर्ती भन्छन्, ‘लुट्ने पावर देखाउने त सर्वसाधारणलाई हो नि । करोडौँको सामान सेटिङ्गमा आइहाल्छ ।’ लक्ष्मी दर्लामी मगर लेख्छिन्, ‘सधैँ ल्याउनेले पैसा दिइहाल्छन्, बाहिर व्यापार गर्नेहरूले । कहिलेकाहीँ ल्याउने हामीलाई सधैँ सास्ती खेप्नुपर्ने । नियम नै पैसाले बनेको छ ।’

नागरिकहरूमा यस्तो खालको धारणा बन्नुका पछाडि सरकारी संयन्त्रकै द्वेध व्यवहार र नाकाको अव्यवस्था कारण रहेको देखिन्छ । प्रहरीले तस्कहरूलाई पहिचान तथा पक्राउ गरेर उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याएको पाइँदैन । सम्बन्धित व्यक्तिकै हातबाट खोखिएको सामान पनि प्रहरीले बेवारिसे अवस्थामा भेटिएको भन्दै भन्सारमा बुझाउने गरेको छ । जसले गर्दा तस्करहरू उम्किरहने र क्यारिङ्ग गर्ने (साइकल तथा मोटरसाइकलमा सामान ओसार्ने र तस्करी गराउने व्यापारीकहाँ पु¥याउने काम)लाई पेशा नै बनाउने गरेका छन् । तर, घरायसी प्रयोजनका लागि भनेर खरिद गरिआएका नागरिकहरूलाई भन्सार तिर्ने सहज वातावरण बनाउनुको सट्टा मान्छे हेरेर व्यवहार गर्ने गरेका कारणले पनि नागरिकहरूले प्रहरीको विश्वास गर्न छोडेका पाइएको छ ।

अर्काेतर्फ नेपालगन्ज भन्सारको यात्रु शाखामा रहेको एक्स रे मेसिन बिग्रिएर थन्क्याइएको छ । एक्सरे मेसिन नहुँदा हातहतियार तथा लागूऔषधको जाँच आँखाले हेरेर र हातले छामेर गर्ने गरिएको छ । साथै अन्य सामान पनि हातले छामेकै भरमा प्रहरीले भन्सार तिर्न लगाउने कि नतिरेरै जान दिने भन्ने मनमौजी निर्णय लिने गरेको छ । सुरु बिन्दुबाट यसरी छुट दिइएको सामानलाई फेरी अर्काे जाँच बिन्दुमा बसेको सशस्त्र प्रहरीले नै बरामद गर्न खोज्दा नागरिकहरू आक्रोशित हुने र त्यसक्रममा प्रहरीले पनि संयमता गुमाएर नागरिकमाथि हातपात तथा कुटपिट गर्ने गरेको पाइएको छ ।

सशस्त्र प्रहरीको ३० नम्बर गण नेपालगन्जका सूचना अधिकारी एवम् डीएसपी महेशविक्रम केसी नागरिक र प्रहरी दुवैतर्फबाट संयमता नपनाउँदा यस्ता घटना हुने गरेको स्वीकार्छन् । उनले भने, ‘नागरिकले पनि बर्दी लगाएको प्रहरीमाथि झम्टिने, कानुनी प्रक्रियाबाट जानुभन्दा बलजफ्ती गर्न खोज्ने गर्दा यस्ता घटनाहरू भइरहेका हुन्छन् । यसमा प्रहरीकातर्फबाट पनि संयमता अपाउनुपर्छ भन्ने कुरामा हामी स्ष्पट छौँ । मैले यस्ता घटनामा जोडिएका प्रहरीलाई सचेत गराएको छु ।’

प्रहरीले आँखाले हेरेर र हातले छामेर शंकास्पद बस्तु र व्यक्तिको पहिचान गर्नुपर्ने अवस्था रहेको बताउँदै त्यसले नागरिकमा सशस्त्र प्रहरीप्रति अविश्वासको अवस्था सृजना गरेको डिएसपी केसीको पनि बुझाइ छ । उनले सीमा नाकामा मेटल डिटेक्टर तथा एक्स रे मेशिन नहुँदा नागरिकले झन्झट व्यहोर्नुपरेको र प्रहरीलाई पनि विश्वास लाग्नेगरी सेवा दिन अप्ठ्यारो भइरहेको बताए ।

डीएसपी केसीका अनुसार नाकामा एकै व्यक्ति पटक पटक ओहोरदोहोर गरेर सामान ओसारपसार गर्दा पनि प्रहरीले पहिचान गर्न सक्ने संयन्त्र निर्माण गरिएको छैन । किनकी प्रहरीसँग नाकामा आवतजावतको वास्तविक तथ्यांकमा आधारित निगरानी प्रणाली नै छैन । यसरी तस्करी गर्ने व्यक्तिहरूले चाहीँ छुट पाइरहँदा तस्करहरूसँग प्रहरीको साँठगाँठ रहेको तर नागरिकमाथि प्रहरीले बल प्रयोग गर्ने गरेको बुझाइ व्यापक हुँदै गएको छ ।

यसै अव्यवस्थाका कारण नागरिकमाथि सशस्त्र प्रहरीले हातपात र कुटपिट गर्ने घटना नाकामा दैनिकजसो हुने गरेका छन् । कतिपय अवस्थामा नागरिकहरू गम्भीर भाइते भएर अस्पताल भर्ना समेत हुनुपरेको छ । २०८१ मंसिर ३१ गते एक व्यक्तिमाथि सशस्त्र प्रहरीले कुटपिट गरेपछि अस्पताल भर्ना गर्नुपरेको थियो । उक्त घटना सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि तत्कालीन ३० नम्बर गणका प्रमुखलाई सशस्त्र प्रहरीले सरुवा गरेको थियो ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नागरिकमाथि प्रहरीले हातपात गरेको विषयमा प्रशासनमा हालसम्म आधिकारिक जाहेरी नपरेको बताउँछन् । यदि त्यस्तो जाहेरी परेमा दोषीमाथि कानुनमुताबिक कारबाही अघि बढाइने उनले बताए ।

नेपालगन्जमा एकीकृत भन्सार जाँच चौकी सञ्चालनमा आएसँगै यात्रु शाखा पनि व्यवस्थित बनाइने दाबी गरिएको थियो । तर, सीमापारी भारततर्फको भन्सार यात्रु जाँच बिन्दुमा प्रविधिको अधिकतम प्रयाग भइरहँदा नेपालको भन्सारको यात्रु शाखा भने अहिले पनि अव्यवस्थित रहेको छ । नेपालगन्ज भन्सारका प्रमुख जनार्दन पौडेल यात्रु शाखा व्यवस्थित बनाउन प्रविधिमैत्री बनाउने विषयमा पटक पटक सम्बन्धित निकाय तथा व्यक्तिहरूको ध्यानाकर्षण गराइएको दाबी गर्छन् । तर, उनको दाबीलाई पुष्टि गर्नेगरी परिणाम देखिन सकेको छैन ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ १० गते शनिबार