४५ लाखको काममा २३ लाख भ्रष्टाचार



सुर्खेत ।

मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसमेत ११ जनाउपर गैरकानुनी लाभ तथा हानी पु¥याइ भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनीहरूविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।

आयोगले मल्ल, इन्जिनियर प्रकाश आचार्य, असिस्टेन्ट सबइन्जिनियर मनोज धामी, लेखापाल जेठबहादुर बुढा, योजना शाखा प्रमुख नविन बुमीविरुद्ध आरोपपत्र दायर गरेको हो । यसैगरी, सडक निर्माण योजनाको श्रम कार्यदल (उपभोक्ता समिति)का अध्यक्ष विष्णुदत्त जैसी, कोषाध्यक्ष नन्ददेवी जैसी, सचिव पौमल सार्की, सडक निर्माण अनुगमन समिति संयोजक दलविर सार्की, समिति सदस्य धर्मराज जैसी र सोरु गाउँपालिका–१० का तत्कालीन कार्यवाहक वडा अध्यक्ष वीरेन्द्रबहादुर मल्ललाई पनि प्रतिवादी बनाइएको छ ।

उनीहरूले आर्थिक वर्ष २०७७-०७८ मा सोरु गाउँपालिका–१० स्थित शहीदगेटदेखि कोटसम्म सडक निर्माण योजनामा वास्तविक कामभन्दा बढी मूल्यांकन गरी रकम हिनामिना गरेको आयोगको ठहर छ । सडक निर्माण योजनाको कूल लागत अनुमान ४३ लाख ९५ हजार २ रूपैयाँ तयार गरी उक्त निर्माण योजनामा उपभोक्ता समिति गठनपूर्व नै योजना सम्झौता गरी कार्यादेश दिएको, स्वीकृत लागत अनुमान बमोजिम कार्य नभएको, स्थलगत गई यथार्थपरक नापजाँच गर्नुपर्नेमा सो नगरी कम काम भएकोलाई बढी काम गरेको भनी प्राविधिक मूल्यांकनसहितको कार्य सम्पन्न प्रतिवेदन तयार गरेको आयोगको भनाइ छ ।

यस्तै, सडक निर्माण संरचनाहरू नापी किताबमा ६६२३.८ घनमिटर उल्लेख भएकोमा स्थलगत रूपमा नापजाँच गरी पेस भएको प्राविधिक प्रतिवेदनमा ३११३.०३ घनमिटर मात्र सम्पन्न गरेको देखिएकोले उनीहरूले ३५१०.७५ घनमिटर बढी काम गरेको भनी नापी किताब र कार्य सम्पन्न प्रतिवेदनमा उल्लेख गरे गराएको आयोगले विशेषमा दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

योजना अनुगमन तथा मूल्यांकन समितिले अनुगमनका बखत भर्नुपर्ने प्रतिवेदनमा योजनासँग सम्बन्धित सम्पूर्ण विवरण नै नभरी प्रतिवेदन दिई भुक्तानीको लागि सिफारिस गरेको र सोही बमोजिम भुक्तानीको टिप्पणी आदेश स्वीकृत गरी उपभोक्ता समितिलाई वास्तविक भए गरेको कार्यभन्दा २३ लाख २२ हजार ८३२ रूपैयाँ १६ पैसा बढी भुक्तानी लिई-दिई आफूहरूलाई गैरकानूनी लाभ र सोरु गाउँपालिकालाई हानिनोक्सानी पु¥याएको भन्दै विशेषमा आरोपपत्र दायर गरिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ ९ गते शुक्रबार