जुम्ला ।
जिल्लाको चन्दननाथ नगरपालिकामा एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्र सुरु भएपछि सेवाग्राहीलाई सहज भएको छ । सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन तथा आमनागरिकलाई बिनाझन्झट सहज र कम समयमै गुणस्तरीय सेवा दिने लक्ष्यसहित नगरपालिकाले एकीकृत सेवा प्रवाह सुरु गरेको हो ।
यो सेवा गत वैशाख २ गतेदेखि सुरु भएको हो । यो सेवाको माध्ययमबाट नगरपालिकाको जनशक्ति, साधन स्रोत व्यवस्थापनसँगै सेवा व्यवस्थापनको कार्यमा सहजता ल्याउन नगरपालिकाले पहल सुुरु गरेको छ । चन्दननाथकी उपप्रमुख रामदेवी खड्काले एकीकृत सेवा प्रवाह सुरु भएपछि नागरिकलाई सेवा दिन सहज हुँदै गएको बताइन् ।
‘नगरपालिकाबाट प्रवाह हुने नियमित र अत्यावश्यक सेवासँगै समावेशी योजना तथा बजेट निर्माणमा पनि सहज हुन थालेको छ,’ उनले भनिन्, ‘परम्परागत अनुगमन र मूल्यांकन प्रणालीको अन्त्य भई नतिजामुखी सेवा प्रणालीको सुरु भएको छ ।’ लैङ्गिक समावेशिताको सवाल सम्बोधनमा पनि एकीकृत सेवाले सहज बनाएको उनको भनाइ छ ।
यो सेवाले नगरपालिकाले गर्ने दैनिक कार्यसम्पादनको तथ्यांक व्यवस्थापनमा पनि सहज भएको उपप्रमुख खड्काले जानकारी दिइन् । एकीकृत सेवा दिन थालेपछि टाढाबाट आउने नागरिकलाई लामो समय कुरेर बस्नुपर्ने बाध्यता हटेको छ भने काम गराउन नमस्कार नै गर्नुपर्ने अवस्था अन्त्य भएको स्थानीयवासी बताउँछन् ।
चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले यो सेवाले सेवाग्राहीलाई सहजता भएको बताए । छिटो र सहज रूपमा सेवा दिने उद्देश्यअनुरूप नगरपालिकाले यो कार्यको सुरुवात गरेको उनको भनाइ छ । सुशासन पारदर्शिता र जवाफदेहिता बनाउनेतर्फ नगरपालिका लागेको उनले बताए ।
‘अहिले एकीकृत सेवा सुरु भएपछि सबै कामहरूको तथ्यांक राख्न सुरु भएको छ । यसले नागरिकलाई सहज र सेवामा हुने विभेदको अन्त्य भएको छ,’ उनले भने, ‘कर्मचारीहरू पनि सेवाग्राहीप्रति उत्तरदायी र जवाफदेही बनेका छन् । अब यो विद्युतीय सुशासनलाई नगरपालिकाका १० वटै वडा र जिल्लाका सबै पालिकामा लागु गर्न आवश्यक छ ।’
नगरपालिकामा पुग्ने सेवाग्राहीलाई सुरुवातमा सोधपुछ कक्षमा सहजीकरण गरिन्छ । त्यसपछि सेवाग्राहीले भेटघाट वा कामको टोकन लिन्छन् । एकीकृत सेवा अन्य सेवा भन्ने टोकन हुन्छ । जनप्रतिनिधि र कर्मचारीलाई भेट्न पुगेका सेवाग्राहीले अन्य सेवा भने टोकन लिन्छन् भने निश्चित उद्देश्य कामका लागि एकीकृत सेवाको टोकन लिन्छन् । अहिले कुल १ हजार २४८ जना सेवाग्राहीले टोकन मार्फत सेवा लिएको तथ्यांक छ ।
फाइल दर्ता भएपछि केन्द्रका कर्मचारीले नै फाइलहरूको वर्गीकरण गर्दै सम्बन्धित शाखालाई काम सम्पन्न गर्नका लागि समय निर्धारण गर्छन् । कार्यालयमा रहेका हरेक शाखाले आफ्नो शाखाका लागि आएको कामबारे सिस्टममार्फत नै जानकारी पाउँछन् । त्यहीअनुसार शाखाहरूले तोकिएको समयमा काम सम्पन्न गर्छन् ।
यो कार्यले कर्मचारीको नियमितता र अनुशासन र लगनशीलता हुन मद्दत गरेको छ भने यी प्रक्रियाहरू सबै सेवाग्राहीले प्रतीक्षा कक्षमा बसेर डिस्प्लेमा हेर्न पाउँछन् । यदि कागजात नपुगेको अवस्थामा भने सुरुवातमै सेवाग्राहीलाई आवश्यक प्रमाण जुटाउनका लागि आग्रह गरिन्छ ।
यो सेवाअन्तर्गत नगरपालिकाबाट दैनिक हुने कार्यसम्पादनको तथ्यांकसमेत व्यवस्थित गर्ने गरेको छ । यो प्रयास संघीयताको सुन्दर पक्ष मानिन्छ । यसबाट नागरिकले कार्यालयमा कर्मचारीलाई खोज्दै धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।









प्रतिक्रिया दिनुहोस्