चलचित्र पत्रकार संघ बाँकेद्वारा सुवेदी र गिरी सम्मानित



नेपालगन्ज ।

चलचित्र पत्रकार संघ नेपाल बाँकेले मोफसलमा रहेर कला कर्म र पत्रकारिता गरिरहेका २ जनालाई सम्मान गरेको छ । २६औँ वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसको अवसरमा आइतबार नेपालगन्जमा आयोजित एक कार्यक्रममा संघले निर्देशक तथा नृत्यकार नवराज सुवेदी र पत्रकार सावित्री गिरीलाई सम्मान गरेको हो ।

सुवेदीलाई तीन हजार एकसय र गिरीलाई दुई हजार एकसय नगद रूपैयाँ तथा प्रमाणपत्रसहित सम्मान गरिएको संघले जानकारी दिएको छ । सुवेदीले दर्जनौँ म्युजिक भिडिओ र लघु चलचित्र निर्देशन गरेका छन् । यस्तै चलचित्र विधामा कलम चलाउन प्रोत्साहन गर्ने गरी पत्रकार गिरीलाई सम्मान गरिएको चलचित्र पत्रकार संघ नेपाल बाँकेका अध्यक्ष रामचन्द्र पौडेलले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले चलचित्रप्रतिको आफ्नो लगाव रहेको बताउँदै चलचित्र हेर्नका लागि गरेको विगतको संघर्ष स्मरण गरे । सिनेकर्मी, पत्रकार, सिनेमा हल र दर्शक एकअर्काको परिपूरक भएको बताउँदै चलचित्र पत्रकार संघले यी निकायबीच समन्वय बढाउन भूमिका खेलिरहेको पनि उनले बताए ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरस्ले अहिले नेपाली चलचित्रहरूले राम्रो व्यापार गरिरहेको बताउँदै नेपालगन्जमा सुविधासम्पन्न फिल्म हल निर्माण हुनु पनि गौरवको विषय भएको बताए । केन्द्रबाट दर्शक भेट्न नेपालगन्ज आएका कलाकारलाई पत्रकारसँग साक्षात्कार गराउने कामलाई निरन्तरता दिन संघलाई उनले सुझाव दिए । पत्रकार निरज गौतम, संगितकर्मी तथा चलचित्र पत्रकार संघ नेपाल बाँकेका सल्लाहकार सुन्दर गुरुङले विधागत पत्रकारिता गर्न सुझाव दिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ ५ गते सोमबार