लुम्बिनी प्रदेशमै शवदाह गृह बनाउने पालिकामा कोहलपुर नगरपालिका पहिलो बनेको छ । योसँगै केही दिनमै शवदाह गर्न ४२ किलोमिटर दुरी पार गरेर राप्ती सोनारीस्थित अगैया जानुपर्ने कोहलपुरसहित यस क्षेत्रका नागरिकको समस्या समाधान हुनेछ । अत्याधुनिक शवदाह गृह शिलान्यास भएको सात महिना १६ दिनमा निर्माण गरेर मेसिनको आइतबार सफल परीक्षण समेत सम्पन्न भइसकेको छ ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा १०९ स्थानीय तह रहेका छन् । तीमध्ये ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका रहेका छन् । बाँकेमा ८ स्थानीय तह छन् । लुम्बिनीमा रहेका ३२ नगरमध्येको एक र बाँकेको एकमात्र नगरपालिका हो, कोहलपुर नगरपालिका । जुन जिल्ला सदरमुकाम नेपालगन्जदेखि उत्तरतर्फ १६ किलोमिटर दुरीमा पर्छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको ट्रान्जिट प्वाइन्टका रूपमा रहेको कोहलपुरको प्रमुख समस्यामध्ये एक थियो, शवदाह गृह । कोहलपुरबाट शवदाहका लागि ४२ किलोमिटर टाढा रहेको राप्ती सोनारीस्थित अगैया जानुपथ्र्यो । सो समस्या समाधानको लागि कोहलपुर नगरपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा शवदाह गृह निर्माण गर्ने नीति समेटिएको थियो । सुरुमा नगरपालिकाले १५ लाख रूपैयाँ विनियोजन गरेको थियो ।
कोहलपुरवासीको सपना पूरा गर्न दीर्घकालीन समाधानको खोजी गर्न गत वर्षको भदौमा बसेको कोहलपुर नगरपालिका नगर कार्यपालिका बैठकले जग्गा पहिचानका लागि एउटा समिति नै बनायो । नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष वीरेन्द्रबहादुर शाहको संयोजकत्वमा कोहलपुर–५ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठ, कोहलपुर–९ का वडाध्यक्ष ओपेन्द्रनाथ योगी र इन्जिनियरसहितको शवदाह गृह पहिचान समिति बनाउने निर्णय गरेको थियो । उक्त समितिले कोहलपुरका विभिन्न सात वटा ठाउँमा शवदाह गृह निर्माण गर्न उपयुक्त रहेको भन्दै नगरपालिकालाई राय पेश ग¥यो ।
संयोजक शाह तीमध्ये सबैभन्दा उपयुक्त स्थानका रूपमा कोहलपुर–११ स्थित डुडुवा र रोहिणी खोलाको क्षेत्रलाई सिफारिस गरिएको स्मरण गर्छन् । त्यसपछि व्यवसायी चक्र अधिकारीको संयोजकत्वमा ९ सदस्यीय आर्थिक संकलन तथा निर्माण उपभोक्ता समिति गठन गरियो । त्यसको एक महिनापछि असोज १९ गते नगर प्रमुख आचार्यले धार्मिक विधिअनुसार अत्याधुनिक शवदाह गृह निर्माणको शिलान्यास गरेका थिए । शिलान्यास भएको सात महिना १६ दिनमा कोहलपुरमा अत्याधुनिक सुविधासहितको शवदाह गृह निर्माणको सफल परीक्षण गरिएको छ । आइतबार कोहलपुर नगरपालिकाका जनप्रतिनिधि, उद्योगी, व्यवसायी, राजनीतिक दलहरूको उपस्थितिमा ‘कोहलपुर शवदाह गृहको परीक्षण’ गरिएको हो ।
कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदीले कोहलपुर नगरपालिकामा शवदाह गृह निर्माणले पूर्णता पाएको बताइन् । पहिलो चरणमा मेसिनको सफल परीक्षणसमेत भएको भन्दै उनले खुसी व्यक्त गरिन् । ‘यो समग्र कोहलपुरवासीको लागि खुसीको क्षण हो । यहाँका स्थानीयलाई शवदाह गर्न सहयोग पुगोस् र मलामीहरूलाई पनि सहज होस् भन्ने उद्देश्यले यो निर्माण गरिएको हो । यसमा धेरै क्षेत्रको राम्रो सहयोग रह्यो ।’ उनले भनिन्, ‘बैंक तथा वित्तीय क्षेत्र, यहाँका सहयोगी दाता र निर्माण उपभोक्ता समिति धन्यवादको पात्रका रूपमा रहेका छन् । उहाँहरूको सहयोग र अथक प्रयासका कारण एउटा गौरवको काम सम्पन्न भएको छ ।’ उनले भनिन् ।
संयोजक अधिकारी कोहलपुर क्षेत्रका नागरिकको वर्षौँदेखिको सपना पूरा भएको बताउँछन् । भौतिक संरचना निर्माणको सम्पूर्ण कार्य पूरा गरेर परीक्षणसमेत सफल भएको उनले बताए । उनका अनुसार आइतबारको परीक्षण सफल भएको छ । केही समयपछि समितिले शवदाह गृह नगरपालिकालाई हस्तान्तरण गर्ने उनको भनाइ छ । ‘समितिको सक्रियतामा शवदाह गृह निर्माण भएको छ । अबको कार्यभार नगरपालिकाको हो । हामीले नगरलाई शव वाहनको व्यवस्था गर्न र शवदाह गृह सञ्चालन कार्यविधि निर्माण गर्न सुझाव दिएका छौँ । सोही अनुसार नगरपालिका अघि बढ्छ’, संयोजक अधिकारीले भने ।
निर्माण उपभोक्ता समितिका सचिव तुल्सीप्रसाद आचार्यका अनुसार शवदाह गृह निर्माणका लागि अहिलेसम्म कूल ८७ लाख रूपैयाँ आम्दानी र ६७ लाख रूपैयाँ खर्च भएको छ । अहिलेसम्म नगर विकास समितिसहित एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, दुगड समूह, त्यसबाहेक विभिन्न संघ संस्थासहित ३२ जनाले शवदाह गृह निर्माणका लागि सहयोग गरेको उनले बताए । निजी क्षेत्रबाट एभरेष्ट बैंकले ५० लाख, ग्लोबल आइएमई बैंकले २० लाख सहयोग गरेका छन् । दुगड समूहले प्रतिक्षालय निर्माण गरिदिएको छ । त्यसमध्ये एभरेष्ट बैंकको २५ प्रतिशत भुक्तानी आउन बाँकी रहेको उनले बताए । अहिलेसम्म दुई वटा प्रतिक्षालय, तीनवटा शौचालय, तीन वटा स्नान गृह, सिँढी, धारा, लगायतका संरचना निर्माण गरिएको छ । अब शवदाह स्थलको बाटो पीच गर्ने, महादेवको आकृति निर्माण गर्ने र ढुंगेधारा निर्माण गर्न बाँकी रहेको उनले बताए ।
यस्तै पहिलाको वधशाला रहेको घरलाई पनि शवदाह गृहको लागि प्रयोगमा ल्याइने उनले जानकारी दिए । कोहलपुरमा शवदाह गृह स्थलदेखि ५ सय मिटर पर किरियापुत्री भवन रहेको छ । युरो टेक नेपालका पशुपति आचार्यको समूहले शवदाहको लागि आवश्यक मुख्य मेसिन जडान गरेको थियो । परीक्षण कार्यक्रममा बोल्दै मेसिन पूर्णत सुरक्षित र प्रदूषणरहित रहेको बताए । मेसिनबाट परम्परागत रुपमै दाउराबाट शवदाह गरिनेछ । एउटा शवदाह हुन एक घण्टा लाग्नेछ ।
आफूहरूले देशभर यस्तो काम गरिरहेको भन्दै बाँकेका अन्य स्थानीय तहलाई पनि शवदाह गृह निर्माण गर्न उनले सुझाव दिएका छन् । नेकपा एमाले कोहलपुर नगर कमिटीका अध्यक्ष कूलप्रसाद भट्टराईले कोहलपुरमा शवदाह गृह निर्माण हुनु सकारात्मक भएको बताएका थिए । उक्त अवसरमा कोहलपुर क्षेत्रका जनप्रतिनिधि, उद्योगी व्यवसायी तथा अन्य स्थानीयहरूको सहभागिता रहेको थियो । अत्याधुनिक सुविधासहितको शवदाह गृहको कूल लागत अनुमान १ करोड २५ लाख रूपैयाँ रहेको छ ।
पूर्णप्रसाद आचार्य
नगर प्रमुख, कोहलपुर न.पा.
कोहलपुरमा व्यवस्थित शवदाह गृह कोहलपुरको वर्षौँदेखिको सपना थियो । राप्ती सोनारीको अगैया जानुपर्ने हाम्रो बाध्यताका कारण दुःख पाइरहेका थियौँ । कोहलपुरमा एउटा शवदाह गृह आवश्यक रहेको कुरा चौतर्फी रूपमा माग भइरहेको थियो । हामी निर्वाचित भएर आइसकेपछि प्रक्रिया अघि बढायौँ । अब कोहलपुरवासीको शवदाह गृहको सपना पूरा भएको छ । समयमै यो काम सम्पन्न भएको छ ।
यसमा नगरपालिकाको तर्फबाट निर्माण उपभोक्ता समितिलाई धन्यवाद दिन चाहन्छु । हामीले मेसिनको सफल परीक्षण गरेका छौँ । अब लगत्तै बृहत् कार्यक्रम आयोजना गरेर शवदाह औपचारिक रूपमा सुरु हुनेछ । यसले कोहलपुर मात्रै नभएर राप्ती सोनारी, बैजनाथ, जानकीदेखि नेपालगन्जसम्मका नागरिकले सहज सेवा पाउने हाम्रो विश्वास रहेको छ । हामी निर्वाचित भएर आएपछि भएको जनपक्षीय कार्यका रूपमा मैले लिएको छु । अब यसको सञ्चालन नगरपालिकाले नै गर्ने हो । अब शव वाहन र गृह सञ्चालनको लागि कानुनी प्रक्रियासमेत अघि बढाउँछौँ ।









प्रतिक्रिया दिनुहोस्