सानीभेरी सामाजिक सुरक्षा कोषमा सूचीकृत



प्रचण्ड खत्री । रूकुम पश्चिम ।

रूकुम पश्चिमको सानीभेरी गाउँपालिका सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको छ । जेठ १ गते बिहीबार सामाजिक सुरक्षा कोषले सानीभेरी गाउँपालिकालाई औपचारिक रूपमा कोषमा सूचीकृत गरी रोजगारदाता सूचीकरण प्रमाणपत्र प्रदान गरेको हो ।

सूचीकृत भएसँगै गाउँपालिकाले औपचारिक, अनौपचारिक तथा स्वरोजगारमा संलग्न श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्ने प्रक्रिया अघि बढाएको छ ।

गाउँपालिकाले पहिलो चरणमा आफ्ना वडा कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थामा कार्यरत कार्यालय सहयोगीहरूलाई कोषमा आबद्ध गराउने जनाएको छ । यसका लागि वैशाख २१ गते सूचना प्रकाशित गरी फारम संकलन कार्य सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले बताए ।

गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०८२-८३ देखि सबै संगठित तथा असंगठित क्षेत्रमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा सहभागी गराइनेछ ।

कोषमा योगदान गर्दा योगदानकर्ताको आधारभूत तलबको कम्तीमा ६० प्रतिशतलाई आधारभूत तलब मानी, त्यसको २० प्रतिशत सानीभेरी गाउँपालिकाबाट र ११ प्रतिशत श्रमिक स्वयंको तर्फबाट कट्टा गरी कोषमा जम्मा गरिने व्यवस्था गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ ४ गते आइतबार