पूर्वखेलाडी समाज बाँकेले ब्याडमिन्टन र भलिबल प्रतियोगिता गर्दै



बाँके ।

नेपालगन्जमा पूर्वखेलाडी समाज, बाँकेले ब्याडमिन्टन र भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी जेठ ९ र १० गते ब्याडमिन्टन तथा १६ देखि १८ गतेसम्म नेपालगन्जमा भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको समाजका कार्यवाहक अध्यक्ष निजामुद्दिन सिद्दिकीले जानकारी दिए । ‘सबै ठाउँमा केही न केही खेलकुद भइरहेको छ तर नेपालगन्जमा पुराना खेलाडीको बाहुल्य रहे पनि खेलकुद नभएकाले त्यसलाई पुनः सक्रिय गराउन खोजिएको हो’ उनले भने ।

ब्याडमिन्टनमा रू तीन लाख ५० हजार र भलिबल खेलमा रू चार लाख ५० हजार खर्च हुने सिद्दिकीले जानकारी दिए । सो खेलका लागि नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ । ब्याडमिन्टन अण्डर १५ मा प्रथम द्धितीय र तृतीयलाई रू १० हजार, पाँच हजार र रू दुई हजार ५००, मेन्स डबल्समा प्रथम, द्धितीय र तृतीय हुने टिमलाई रू २० हजार, १५ हजार र रू १० हजार पुरस्कार वितरण गरिनेछ ।

नकआउट प्रणालीमा खेलाइने प्रतियोगितामा भलिबलतर्फ महिला र पुरूष गरी २५ टिम र ब्याडमिन्टनतर्फ ७५ खेलाडी सहभागी रहने आयोजकले जनाएको छ । भलिबलका पुराना राष्ट्रिय खेलाडी राकेश श्रीवास्तवले करिब १५ वर्षपछि आफू खेलकुदमा सक्रिय हुन थालेको जानकारी दिँदै सामाजिक उत्तरदायित्वका कारण पनि खेलप्रतिको निष्ठा कायम रहेको बताए ।

उनले २०३० देखि २०४२ सालसम्म भलिबलको राष्ट्रिय खेलाडीका रूपमा योगदान गरेको उल्लेख गर्दै विगतमा जागिरे जीवन भएका कारण केही कठिनाई झेल्नुपरेको बताए । ‘जिल्ला ओझेलमा परेकाले पनि यसलाई पुनः जगाउने प्रयास गरिएको छ’, उनले भने । पूर्वखेलाडी समाजका कार्यवाहक अध्यक्ष निजामुद्दिन सिद्दिकीले करिब १० वर्षपछि आफू खेलकुदमा सक्रिय हुन थालेको जानकारी दिँदै सबै ठाउँमा खेलकुदका कार्यक्रम भए पनि नेपालगन्जमा कम हुन थालेको गुनासो गरे ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ ४ गते आइतबार