लुम्बिनी प्रदेश सभामा राजस्व संकलन गर्ने विधेयक पेस



दाङ ।

लुम्बिनी प्रदेश सभामा प्रदेश सामयिक कर राजस्व संकलन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस भएको छ । बिहीबार बसेको प्रदेश सभाको छैटौँ अधिवेशनको दोस्रो बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले विधेयक पेस गरेका हुन् । प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा सम्बोधन गर्दै नीति तथा कार्यक्रम, बजेटको तालमेल, चालू वर्षको बजेट कार्यान्वयनको अवस्थाका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन ।

प्रदेश सभा सदस्य डिल्लीराज भुसालले चालू वर्षको बजेट पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको, योजना किन कार्यान्वयन भएन भनेर समीक्षा गरिनुपर्ने बताए । रातो किताबमा बजेटमा परे पनि कार्यान्वयन हुन नसक्दा जटिलता उत्पन्न भएको उल्लेख गरे ।

प्रदेश सभा सदस्य दिपेन्द्रकुमार पुनले जनतासँग सरोकार राख्ने कानुन निर्माण गर्न तत्पर हुनुपर्ने बताए । कानुन निर्माण गरेर त्यसलाई लागू गर्न सक्नुपर्ने, सम्बन्धित मन्त्रालयले विजनेस उत्पादन गर्नुपर्ने भन्दै उनले टिमुर खेतीलाई प्रवद्र्धन गरी त्यसबाट राजस्व संकलनको आधार निर्माण गरिनुपर्ने बताए ।

प्रदेश सभा सदस्य रत्नबहादुर खत्रीले प्रतिगमनकारीहरूले शिर उठाउन खोजेको भन्दै उपलब्धिहरूको रक्षा नै प्रमुख सवाल भएको बताए । प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठले नीति तथा कार्यक्रम बजेटको गाइड लाइन भएको बताइन् । नीति तथा कार्यक्रम र बजेटबीच तालमेल हुनुपर्ने बताएकी हुन् ।

प्रदेश सभा सदस्य तारा थापाले कृषि र पशुपन्क्षी क्षेत्रमा कूल बजेटको ३० प्रतिशत सुनिश्चित गर्न माग गरिन् । सिँचाइ, जग्गाको सुरक्षा, हरियो मल उत्पादनलाई प्राथमिकता दिनुपर्ने, १५ शय्याका आधारभूत अस्पताल सञ्चालनको जिम्मेवारी लिनुपर्ने बताइन् ।

प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ताले लुम्बिनी भ्रमण गर्न आउने पर्यटकलाई नाका क्षेत्रमा सहजता हुनुपर्ने, नाकामा बिचौलियाहरूको चलखेल रहेको दाबी गरे । लुम्बिनी पर्यटनको प्रदेश भएपनि पर्यटनमैत्री व्यवहार नभएको बताए ।
प्रदेश सभा सदस्य शान्ति लोधले भाषण गरेर मात्र लुम्बिनीको समृद्धि हासिल नहुने भन्दै काम गर्न सुझाव दिइन् । प्रदेश सभा सदस्य हेमा बेल्वासेले बजेट कम छ भनेर त्रास फैलाउने काम हुन थालेको बताइन् । क्षेत्र विकास कोषको रकम खर्च हुन नसकेको, नीति तथा कार्यक्रम जनतामुखी हुनुपर्ने, रोजगारी सृजना, जनमुखी संवादजस्ता कामलाई प्राथमिकतामा राख्नुपर्ने बताइन् ।

प्रदेश सभा सदस्य दुर्गाप्रसाद चौधरीले बजेटको समीक्षा गर्ने अधिकार संसदमा हुनुपर्ने बताए । प्रदेश सभा सदस्य मिनाकुमारी बोहराले जनताले चलाउन सक्ने गरी बजेट बनाउनुपर्ने बताइन् । स्वास्थ्यमा लुम्बिनी पछाडि परेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । प्रदेश सभा सदस्य भगवती अधिकारीले लुम्बिनी प्रदेशको बुटवल आसपासमा खानेपानीको गम्भीर समस्या देखिएको बताइन् । शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्रलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सबै विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट निर्माण गरिनुपर्ने बताइन् ।

प्रदेश सभा सदस्य बसन्ती न्यौपानेले जलन उपचारलाई प्राथमिकतामा राख्दै प्रदेशमा जलन उपचार केन्द्र स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराइन् । कुलत तथा दुव्र्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेगरी योजना बनाउनुपर्ने सुझाव दिइन् । प्रदेश सभा सदस्य भुवनेश्वर चौधरीले समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश बनाउने सबैको साझा लक्ष्य भएको बताए । कानुन निर्माण, नीति तथा कार्यक्रम तथा बजेट निर्माणमा ध्यान दिनुपर्ने, प्राथमिकता र सिद्धान्तको विषयमा सुरुबाटै छलफल गर्नुपर्ने बताए ।

प्रदेश सभा सदस्य मिनाकुमारी श्रेष्ठले आगामी नीति तथा कार्यक्रम र बजेटको समीक्षा गरी नयाँ नीति तथा कार्यक्रम बनाउन सुझाव दिइन् । प्रदेश सभा सदस्य गिरिधारीलाल न्यौपानेले स्रोतको आधारमा बजेट निर्माण गरिनुपर्ने बताए । लागू गर्न सकिने योजनाहरू मात्रै थालिनुपर्ने, सबै क्षेत्रमा तत्काल गर्नुपर्ने कामहरूको रेखाङ्कन गरेर अघि बढ्नुपर्ने बताए ।

प्रदेशसभा सदस्य लोककुमारी विश्वकर्माले जातजाति र भूगोलका समस्याहरू पहिचान गरेर नीति तथा कार्यक्रम तथा बजेट बनाउनुपर्ने बताइन् । कार्यान्वयनयोग्य बजेट निर्माण गर्नुपर्ने, प्रदेश सभा सांसदसँग समन्वय तथा अनुगमनको व्यवस्था गरिनुपर्ने बताइन् ।

प्रदेश सभा सदस्य धर्मबहादुर चौधरीले दिगो विकासको आधार शिक्षा भएकोले प्रदेश गौरवका आयोजनाको रूपमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई बजेटमा प्राथमिकतामा राखिनुपर्ने धारणा राखे । प्रदेश सभाको आगामी तेस्रो बैठक जेठ २ गते शुक्रबार दिउँसो १ बजे बस्ने सभामुख तुलाराम घर्तीमगरले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ २ गते शुक्रबार