धनगढी ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाश चौधरीलाई सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री बनाउन निर्देशन दिएकी छिन् । प्रदेशको मन्त्रीको टुंगो लगाउन अधिकार प्रत्यायोजन गर्न माग गर्दै प्रदेश संसदीय दलले सिफारिस गरेपछि श्रेष्ठले प्रदेश सभा सदस्य चौधरीलाई मन्त्री बनाउन निर्देशन दिएकी हुन् ।
श्रेष्ठले प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र पठाउँदै कैलाशलाई मन्त्री बनाउन निर्देशन दिएको नाउपाले जनाएको छ । अध्यक्ष श्रेष्ठका स्वकीय सचिव भक्त चलाउनेले प्रदेश संसदीय दलले मन्त्रीबारे निर्णय गर्न नसकेपछि पार्टी केन्द्रले निर्णय दिनुपरेको बताए । उनले संरक्षक रेशम चौधरी र अध्यक्ष श्रेष्ठसहित केही समय अगाडि धनगढीमै बसेको बैठकले मन्त्रीबारे समझदारी गरिसकेको र सोहीअनुसार अहिले निर्णय लिइएको जानकारी दिए ।
‘प्रदेश संसदीय दलले सरकारमा कसलाई पठाउने भनेर अधिकार माग्नै पर्दैन नी ! त्यो अधिकार उहाँहरूलाई छँदैछ,’ चलाउनेले भने, ‘तर संसदीय दलले निर्णय गर्न नसकेपछि पार्टी केन्द्रले निर्णय दिएको हो ।’ सोही निर्णयका आधारमा अब मन्त्री नियुक्त हुने उनी बताउँछन् ।
आर्थिक लेनदेनसम्बन्धी विवादित अडिओ सार्वजनिक भएपछि नाउपाबाट उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री बनेका लक्ष्मणकिशोर चौधरीले १६ चैतमा पदबाट राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे छलफल गर्न मंगलबार नाउपा प्रदेश संसदीय दलको बैठक बसेको थियो ।
तर बैठकले मन्त्रीबारे निर्णय गर्ने अधिकार प्रत्योजन गर्न केन्द्रीय कमिटीलाई माग गर्ने निर्णय गर्दै पत्राचार गरेको संसदीय दलका नेता घनश्याम चौधरीले बताएका थिए । पार्टी केन्द्रले भने सोही पत्रका आधारमा भन्दै कैलाश चौधरीको नाम नै तोकेर पठाएको छ ।









प्रतिक्रिया दिनुहोस्