‘सारङ्गी बजाउने मात्रै होइन बनाउने तालिम चाहियो’



नेपालगन्ज (बाँके) ।

कोहलपुर नगरपालिकाको वडा नम्बर २, ३, ५, ११, १२, १३ लगायतका वडाहरूमा दैलेख, सुर्खेत, दाङ, सल्यान लगायतका पहाडि जिल्लाबाट बसाइँसराइ गरेर आएका गन्धर्व समुदायको बस्ती रहेको छ । गन्धर्व समुदायका पुरुषहरू पुख्र्यौली र परम्परागत पेशा सारङ्गी बजाएर गीत सुनाउँदै विभिन्न स्थानमा जाने गरेका छन् । उनीहरूको मुख्य आयस्रोतका रूपमा सारङ्गी बजाउने पेशा नै रहेको छ ।

उक्त समुदायका महिलाहरू घरमै बसेर घरायसी काम गर्ने र युवाहरू भने रोजगारीका लागि भारतका विभिन्न स्थानहरूमा जाने गरेका छन् । केही दिनअघि मात्र कोहलपुर नगरपालिकाले गन्धर्व समुदायका महिलाहरूलाई पनि सीप सिकाएर आयआर्जनमा जोड्ने उद्देश्यका साथ उनीहरूलाई सारङ्गी बजाउने तालिम प्रदान ग¥यो ।

कोहलपुर नगरपालिकाले गन्धर्व समुदायको संस्कृति बचाउन र प्रवर्धन गर्नका लागि केही दिनअघि कोहलपुर नगरपालिका वडा नम्बर ११ गन्धर्व टोलका गन्धर्व समुदायका महिलाहरूलाई दिएको ६ दिने सारङ्गी बजाउने तालिममा २५ जना गन्धर्व समुदायका महिलाहरूले भाग लिए । वडा नम्बर ११ गन्धर्व टोलमा २२ घरपरिवार गन्धर्व समुदायको बसोबास रहेको छ ।

उक्त तालिम लिएका गन्धर्व महिलाहरू अहिले उत्साहित बनेका छन् । तालिमबाट धेरै कुराहरू सिक्न पाएको भन्दै अझै यसप्रकारका अन्य तालिमहरू पनि सञ्चालन हुनुपर्ने उनीहरूको माग छ । ‘कोहलपुर नगरपालिकाले हाम्रो समुदायका महिलाहरूलाई लक्षित गरी ६ दिने सारङ्गी बजाउने तालिम दियो, हामी अति खुसी छौँ, तालिमबाट केही न केही सिक्न पायौँ, यो सिकाइले हामीलाई अझै उत्साहित बनाएको छ ।’ तालिम लिएकी रामकुमारी गन्धर्वले भनिन्, ‘यो तालिम छोटो भयो, अझै लामो समयको तालिम भएको भए अझै धेरै सिक्न पाइन्थ्यो, अब हामीलाई सारङ्गी बजाउने मात्रै नभएर सारङ्गी बनाउने र मर्मतसम्म गर्नसक्ने पनि तालिमको खाँचो छ ।’

पछिल्लो समयमा यो संस्कार र संस्कृति हराउँदै गएको र बनाउने सीप त झनै लोप भइसकेको भन्दै उनले सारङ्गीसँग आफ्नो इतिहास जोडिएको, पुख्र्यौैली पेशा भएको, जीवनयापन गर्ने माध्यम बन्दै आएको र अब नयाँ पुस्तासम्म यो संस्कृति जोगाइ राख्नका लागि लामो समयसम्मको बजाउने तालिमका साथसाथै बनाउने र मर्मतसमेत गर्नसक्ने तालिमको आवश्यकता रहेको बताइन् ।

भीमसरा गायनले अन्य समुदायका महिलाहरूलाई पनि नगरपालिकाले विभिन्न तालिम दिएर सीपयुक्त बनाएको देख्दा आफूमा पनि सारङ्गी बजाउने सीप पूर्णरूपमा सिक्ने अनि समूह बनाएर विभिन्न कार्यक्रमहरूमा गएर आयआर्जन गर्नका लागि उत्साह थपिएको बताइन् ।

‘नगरपालिका लगायतका संघसंस्थाहरूले अन्य समुदायका दिदीबहिनीहरूलाई पनि विभिन्न तालिम दिएको छ, कोहलपुरकै विभिन्न वडाहरूमा पञ्चैबाजा बजाउने तालिम दिएको थियो, अहिले त्यो तालिम लिएका दिदीबहिनीहरूले सीप सिकेर समूह बनाउनुभएको छ, विभिन्न कार्यक्रमहरूमा उहाँहरूलाई निमन्त्रणा आउँछ, उहाँहरू बाजा बजाउन जानुहुन्छ र आर्थिक आम्दानीसमेत गरिरहनुभएको छ ।’ गायनले भनिन्, ‘हामीलाई पनि त्यस्तै रहर जागेको छ, तर त्यसका लागि अलि लामो तालिम चाहियो, अनिमात्र हामी पनि पूर्णरूपमा सीप सिकेर समूह बनाएर विभिन्न कार्यक्रममा गएर आम्दानी गर्न सक्थ्यौँ ।’

तालिम लिएकी अर्की गन्धर्व महिला भवगती गन्धर्वले पुख्र्यौली पेशालाई निरन्तरता दिनका लागि पनि आफू तालिम लिन गएको बताइन् । ‘हाम्रो पेशा अहिले संकटमा छ, पछिल्लो पुस्ताले यसबारेमा जानकारी लिनै चाहन्न, सिक्नै चाहन्न, गाउँगाउँ चाहर्नभन्दा बरु कमाइ गर्न कालापहाडतिर जाने गरेका छन्, लोप हुने अवस्थामा पुगेको यो पेशालाई जोगाइराख्न पर्छ भनेर तालिम लिन गएकी हुँ, तालिमले धेरै कुरा सिकायो, बाउबाजेदेखिको पुख्र्यौली पेसालाई जोगाउन र प्रवद्र्धन गर्न हामीले पनि केही गर्नुपर्छ, हामी पनि विभिन्न कार्यक्रममा सारङ्गी बजाएर आयआर्जन गर्न सकिन्छ कि भन्ने आशा पलाएको छ ।’ उनले भनिन् ।

बस्नका लागि कोहलपुर नगरपालिका र विभिन्न संघसंस्थाले घर बनाइदिएपनि हातमुख जोड्नका लागि अन्न उब्जाउने जग्गाजमिन नहुँदा उमेर पुगेका उक्त समुदायका युवाहरू कमाइ गर्न कालापहाड (भारत) तिर जाने गरेका छन् । गन्धर्व समुदायले आफ्ना बालबालिकालाई विदेश जानबाट रोकेर एकघर एक रोजगारको व्यवस्था गरिदिनसमेत आग्रह गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख २९ गते सोमबार