नेपालगन्ज ।
भारतमा रोजगारी गर्न गएका नेपालीहरू बाँकेको जमुनाहा नाका हुँदै नेपाल फर्किने क्रम सामान्य रहेको पाइएको छ । भारत–पाकिस्तानबीच भएको युद्धका कारण मानिसहरू नेपाल फर्किएको नपाइएको सीमामा खटिएका सुरक्षाकर्मीहरू बताउँछन् ।
सीमामा खटिएको सशस्त्र प्रहरीका अनुसार रोजगारी गरी फर्किने नेपालीको सङ्ख्या साविककै अनुसार रहेको छ । भारतमा रोजगारी गर्न गएका नेपालीहरू दैनिक तीन सय देखि चार सयको हाराहारीमा दैनिक भित्र्दँै आएको र अहिले पनि उक्त सङ्ख्या नबढेको प्रहरीको भनाइ छ ।
आइतबार सीमा नाकाबाट भित्रिँदै गरेकामध्ये केही मानिसहरूले वर्षे बाली लगाउने सिजन नजिकिँदै गर्दा स्वदेश फर्किएको बताएका थिए । स्वदेश फर्किँदै गरेकाहरूले युद्धकै कारण फर्किनुपर्ने अवस्था नरहेको बताए । भारत र पाकिस्तानबीच युद्ध चर्किने अवस्था आएपछि भारतमा भएका नेपालीहरू स्वदेश फर्किनसक्ने आंकलन गरिएपनि युद्धबिराम भएपछि उक्त अवस्था टरेको छ ।
यद्धपी सीमा नाकामा प्रहरीले सुरक्षा जाँचमा गरेको कडाई भने अझै यथावत छ । प्रहरीले नाका हुँदै आउजाउ गर्ने सबैको परिचय पत्र चेकजाँच गरिरहेको छ । साथै नेपाल भित्र्ने मानिसहरूको रेकर्ड राख्ने काम पनि प्रहरीले गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्