
जुम्ला ।
छैटाँै जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधी पुरुषतर्फ दलबहादुर कुँवर र महिलातर्फ कल्पना बुढाले जितेका छन् ।
५१ किलोमिटर दुरीको अन्तिम चेक प्वाईन्ट सबैभन्दा पहिला फिनिसिङ गरेर कुँवर र बुढाले छैटौँ जुम्ला–रार अल्ट्रा म्याराथनको उपाधी उचालेका हुन् । तातोपानी गाउँपालिका–७ निवासी २३ वर्षीय कुँवरले ५१ किलोमिटर दुरी ५ घण्टा ५३ मिनेट ५७ सेकेण्डमा अन्तिम चेक प्वाईन्ट पार गरेर प्रथम हुन सफल भएका हुन् । दलबहादुर कुँवर म्याराथनको ५औँ संस्करणमा पनि प्रथम भएका थिए ।
त्यस्तै महिलातर्फ प्रथम हुन सफल धावक कल्पना बुढाले निर्धारित दुरी ७ घण्टा ५१ मिनेट ३१ सेकेण्डमा पार गरेकी थिईन् । पुरुषतर्फ दोस्रो हुनेमा ४२ वर्षीय त्रिभुवन आर्मी क्लबका सुवेदार होमलाल श्रेष्ठले ६ घण्टा ७ मिनेट ५५ सेकेन्डमा दुरी पार गरे । तृतीय हुने सोमबहादुर रावतले ६ घण्टा १० मिनेट ०४ सेकेन्डमा पार गरेका थिए । चौथो हुने चन्द बहादुर रावतले ६ घण्टा १९ मिनेट २८ सेकेन्ड र पाँचौँ हुने शेरबहादुर बुढाले ६ घण्टा ३१ मिनेट ४२ सेकेन्डमा दुरी पार गरेको आयोजकले जनाएको छ ।
साथै महिलातर्फ उपविजेता हुन जुम्लाकै २० वर्षीय राज्यलक्ष्मी रावल सफल भएकी छन् । उनले ५१ किलोमिटर दुरी ८ घण्टा ४८ मिनेट ४१ सेकेन्ड पूरा गरिन् । भने तेस्रोमा सन्दिभा बुढा भइन् । उनले कडा मेहनतका साथ ८ घण्टा ४६ मिनेट ०२ सेकेन्डमा अन्तिम चेक प्वाईन्ट फिनिसिङ गरिन् । चौथो स्थान हुन सफल पुसा बुढाले ९ घण्टा ३७ मिनेट ०७ सेकेन्ड र पाँचौँ हुन सफल अनिशा गुरुङ्गले ११ घण्टा ७ मिनेट २५ सेकेन्डमा दुरी पार गरिन् ।
प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो आउने धावकलाई क्रमशः नगद नगद १ लाख, ७५ हजार, ५० हजार र ३५ हजार, मेडल, प्रमाणपत्र हस्तान्तरण गरिएको आयोजक संस्था कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए । कर्णालीमा साहासिक खेल पर्यटनको विकास गर्न तथा विश्व सामु कर्णाली चिनाउन निरन्तर आयोजना भइरहेको म्याराथनले खेलाडीहरूमा उत्साह थपिएको उनले बताए ।
आर्थिक अभावका कारण अझै सोचे जस्तोगरी प्रतियोगितालाई व्यवस्थित गर्न नसिकएको उनको भनाइ छ । त्यस्तै ५ र १० किलोमिटर दुरीमा उत्कृष्ट आउने धावकहरूलाई हिजोनै पुरस्कार वितरण गरिएको छ । छैटौँ जुम्ला–रारा अल्ट्रा म्याराथनको तीन विधामा गरी जम्मा ५९१ जना धावक सहभागी रहेका थिए ।









प्रतिक्रिया दिनुहोस्