भारतबाट फर्किरहेका नेपालीबाट पैसा असुल्दै भारतीय सुरक्षाकर्मी



धनगढी ।

भारत–पाकिस्तानबीचको तनाव बढ्दै गएपछि भारतमा रोजगारीका लागि गएका नेपालीहरू धमाधम फर्कने क्रम चलिरहेको छ । सुदूरपश्चिमका दुई ठूला नाका गड्डाचौकी र गौरिफण्टाबाट नेपालीहरू फर्किरहेका छन् । तर, कैलाली र कञ्चनपुरसँग जोडिएको गौरिफण्टा नाकाबाट फर्कने नेपालीहरू भारतीय सुरक्षाकर्मीले दुःख दिइरहेको गुनासो गर्छन् ।

गौरिफण्टा नाकाबाट कैलाली पुगेका अर्जुनबहादुर पार्कीले सुरक्षाकर्मीहरू नेपालीलाई पनि आतंकवादीको संज्ञा दिइरहेको बताउँछन् । ‘मैले घर फर्कन अरुबाट दुई हजार सापटी मागेर आएँ । यहाँ नाकामा भारतीय प्रहरीले आतंकवादी भन्दै एक हजार रकम माग्यो,’ उनले भने, ‘भारतीय सीमामा नेपालीहरूले सास्ती भोग्नुपरेको छ । नेपाल सरकारले केही पनि सहयोग गर्दैन् ।’

भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावको प्रभाव नेपाल–भारत सीमामासमेत परेको छ । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीहरूले आवतजावतमा कडाइ गरेका छन् ।

यस्तै भारतसँग सीमाना जोडीएका सुदूरपश्चिमका प्रमुख दुई नाका कैलालीको त्रिनगर (गोरीफण्टा) र कञ्चनपुरको गड्डा चौकी लगायत सबै नाकाहरूमा सुरक्षा सतर्कता उच्च बनाइएको छ । यहाँका सबै नाकामा दुवै देशका सुरक्षाकर्मीहरू तैनाथ रहेका छन् ।

यसैक्रममा भारत–पाकिस्तान सैन्य तनाव पछि कामको सिलसिलामा भारतमा रहेका र नाकामा आवतजावत गर्ने नेपालीहरूले निक्कै समस्या भोग्नु परेको छ । नाकामा चेकजाँचको क्रममा भारतीय सुरक्षाकर्मीहरूले अनावश्यक दुःख दिएर पैसासमेत लिने गरेको नेपालीहरूको गुनासो गरेका छन् ।

विशेषगरी नयाँ अनुहार र शङ्कास्पद गतिविधि भएका व्यक्तिमाथि निगरानी गरिरहेका छन् । स्थानीयले दैनिक जीवनमा असर परेको बताउँदै चाँडो समाधानको अपेक्षा गरेका छन् । त्यसैगरी छिमेकी मुलुक भारत र पाकिस्तानबीच बढ्दै गएको तनावलाई लिएर सीमामा निगरानी बढाइएको हो । सुदूरपश्चिका अधिकांश नेपालीहरू कामको सिलसिलामा भारतमा जाने गरेका छन् । भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावको प्रभाव यस क्षेत्रका सीमा नाकामा सबैभन्दा बढी रहेको छ । सीमा नाका चेकजाँचका क्रममा नेपालीहरूले दुःख पाएको भारतबाट फर्केका रमेश थापाले बताए ।

पछिल्लो समय दुवै देशका सुरक्षा निकायहरूले सीमा क्षेत्रलाई संवेदनशील मानेर प्रत्येक व्यक्तिको परिचय र गन्तव्यबारे सोधपुछ गरी मात्र आवतजावत अनुमति दिइरहेको सशस्त्र प्रहरी बलका सहायक निरीक्षक पदम धामीले बताए ।
दुई शक्तिशाली राष्ट्र भारत र पाकिस्तानबीच तनाव बढेका बेला सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समग्र सुरक्षा अवस्थाबारे छलफल गरेका थिए । पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जनाएको छ । सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्न सीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आवतजावत गर्न पुनर्वासमा परिचयपत्र अनिवार्य

भारतसँग सीमा जोडिएको कञ्चनपुरको पुनर्वासबाट नेपाल–भारत आवतजावत गर्ने नागरिकका लागि परिचयपत्र अनिवार्य गरिएको छ । शनिबार पुनर्वास नगरपालिका–६ स्थित सशस्त्र प्रहरी बल बीओपी त्रिभुवनबस्तीमा बसेको सीमा सहजीकरण समितिको बैठकले उक्त निर्णय गर्दै सूचना जारी गरेको हो ।

केही दिनदेखि शनिबार साँझसम्म भारत र पाकिस्तानबीच तनाव बढेको अवस्थालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा बसोबास गर्ने वा काम विशेषले भारत–नेपाल आवतजावत गर्ने नेपाली नागरिकलाई कुनै प्रकारको समस्या नहोस् भन्ने उद्देश्यले परिचयपत्र अनिवार्य गरिएको सीमा सहजीकरण समिति संयोजक तथा पुनर्वास नगरपालिका–६ का वडा अध्यक्ष मित्रसिंह लामाले जानकारी दिए ।

आफ्नो परिचय खुल्ने नेपाली नागरिकता प्रमाणपत्र, ड्राइभिङ लाइसेन्स, राष्ट्रिय परिचयपत्र वा भोटर कार्ड मध्ये कुनै एक अनिवार्य रूपमा हुनुपर्नेछ । विद्यार्थीको हकमा सम्बन्धित विद्यालयको आइडी कार्ड साथमा हुनुपर्ने सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक नवराज शाहीले जानकारी दिए ।

समितिले सो बैठकमा थप चार महत्वपूर्ण निर्णयहरू पनि गरेको छ । अत्यावश्यक विषयबाहेक चोरी–पैठारी वा सामान्य कामका लागि सीमा आवतजावतमा पूर्ण रोक लगाइने र सूचना प्रवाह पश्चात अटेर गर्नेहरूलाई कानुनबमोजिम कारबाही गरिने इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक महेशविक्रम शाहीले जानकारी दिए ।

भारतबाट चोरीछिपी सानो वा ठूलो परिमाणमा अवैध सामान ल्याउने कार्यमा पूर्ण प्रतिबन्ध लगाइने, सीमासम्बन्धी अपराध तथा विपद् व्यवस्थापनसम्बन्धी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने निर्णय पनि गरिएको छ । हालका लागि सीमा नाका खुला नै रहेको समितिले स्पष्ट पारेको छ ।

सीमा सहजीकरण समिति बैठकमा वडा अध्यक्ष मित्रसिंह लामा, वडा सदस्य भावना स्वर्णकार, व्यापारी तथा समाजसेवी श्रीकृष्ण नेपाल, शिक्षक प्रतिनिधि युवराज सुयल, उद्योग वाणिज्य संघका प्रतिनिधि देवी भट्ट, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक महेशविक्रम शाही र सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक नवराज शाहीलगायतको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख २८ गते आइतबार