नन्दराम जैशी । सुर्खेत ।
जुम्ला, कालिकोट र मुगु गरी ३ जिल्ला कार्यक्षेत्र रहेको आन्तरिक राजस्व कार्यालय जुम्लाले चालू आर्थिक वर्षको ९ महिनामा लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन् ।
चालू आर्थिक वर्ष २०८१-८२ मा ६३ करोड ७१ लाख ४ हजार राजस्व संकलनको लक्ष्य छ । तर ९ महिनासम्म २३ करोड मात्रै राजस्व असुली भएको छ । अझै ४० करोड राजस्व संकलन हुन बाँकी छ । चैत मसान्तसम्म मात्रै ५० करोड ५४ हजार राजस्व संकलनको लक्ष्य राखिएको थियो । तर वैशाख १२ गतेसम्मको तथ्यांकलाई हेर्दा ३ वटै जिल्ला गरी २३ करोड ९१ लाख ९६ हजार मात्रै राजस्व संकलन भएको छ ।
३ वटै जिल्लामा व्यापारिक गतिविधि सुस्त भएपछि त्यसको प्रत्यक्ष असर राजस्व संकलनमा देखिएको छ । एकपछि अर्को उद्योग खारेजीको क्रम बढ्नु, बजारको व्यापार घट्नु, अनुगमन निरीक्षण नियमित नहुनु र केही करदाताबाट करछली हुनु लगायतका कारणले जुम्लामा राजस्व संकलनमा गिरावट आएको कार्यालयले जनाएको छ ।
कार्यालयका कर अधिकृत सचिन पौडेलका अनुसार चैत मसान्तको लक्ष्यअनुसार करिब २७ करोड राजस्व असुली हुन सकेन । आर्थिक वर्ष सकिन अब करिब २ महिना मात्रै बाँकी रहँदा लक्ष्यनुसारको राजस्व संकलन नहुने संकेत देखिएको हो । देशको आर्थिक विकासको मुख्य आधार कर असुली हो । कर असुली बिना देशको आर्थिक समृद्धी, रोजगारी वृद्धि लगायतका कार्य असम्भव जस्तै हुन्छन् । कर्णाली जस्तो आन्तरिक आय कमजोर हुने क्षेत्रमा नियमति संकलन हुनुपर्ने राजस्व पनि संकलन नहुँदा आर्थिक संकटको सम्भावना निम्तिएको छ ।
यहाँको व्यवसायीक क्षेत्र, व्यापार, उद्योगको अवस्था हेरेर वार्षिक राजस्वको लक्ष्य तोकिन्छ । तर यी ३ जिल्लामा अनुदानमुखी उद्योग धेरै रहेको, ठूला उद्योग नभएकोले आर्थिक गतिविधि कमजोर छ । जनशक्ति अभावले नियमित बजार अनुगमन गर्न नसक्दा पनि राजस्व संकलनमा ठूलो गिरावट आएको हो ।
आन्तरिक राजस्व कार्यालयमा स्थायी दरबन्दी मात्रै १३ जना हो । तर स्थायी ४ जना र करार ३ जना गरी ७ जना मात्रै कार्यरत छन् भने अझै ७ जनाको दरबन्दी रिक्त छ । ३ जिल्लाका गरी कूल १६ हजार बढी करदाता सङ्ख्या रहेको छ । असार मसान्तसम्म लक्ष्यनुसारको राजस्व संकलन हुने कार्यालयले अनुमान गरेको छ । तर लक्ष्य अनुसारको राजस्व संकलन नहुने निजी क्षेत्रको भनाइ छ ।








प्रतिक्रिया दिनुहोस्