वीरेन्द्रनगर ।
कर्णाली प्रदेशमा पहिलोपटक ‘कर्णाली छोरी सम्मेलन’ आयोजना गरिएको छ । श्री ज्योति फाउन्डेसन र सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको आयोजनामा आजदेखि सुरु हुने सम्मेलन पर्सीसम्म सञ्चालन हुनेछ ।
कर्णाली छोरी सम्मेलन–२०८२ बारे आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष ज्योति कटुवालले कर्णालीमा फरकस्वरूप र प्रकृतिमा छोरी सम्मेलन गर्न लागिएको बताइन् । कर्णालीका छोरी सशक्तीकरण अभियानको माध्यमबाट सचेत, सवल, सक्षम तथा आत्मनिर्भर छोरीहरूको निर्माण र विकासमा सघाउ पु¥याउनु सम्मेलनको उद्देश्य रहेको उनको भनाइ छ ।
अध्यक्ष कटुवालका अनुसार कर्णालीका छोरीहरूको चेतना जागृत गर्ने र सक्षम बन्न सिकाउन एक सामाजिक सन्देश प्रवाह गर्न लागिएको हो । ‘यो सम्मेलन कर्णालीका छोरीहरू सशक्तीकरणको एक गतिशील अभियान हो । छोरीहरू आफैँमा कमजोर नभई अधिकार र अवसरबाट वञ्चित हुँदा कमजोर देखिएका हुन्’ उनले भनिन्, ‘वास्तविकतासँगै छोरीहरूलाई आफ्नो हक, अधिकारको बोध गराउन र तिनीहरूको जीवन रूपान्तरणको माध्यमबाट कर्णालीको समुज्वल भविष्यको चित्र कोर्ने अभिप्रायले सम्मेलन आयोजना गरिएको छ ।’
सम्मेलनमा कर्णाली प्रदेशका सम्पूर्ण ७९ वटा स्थानीय तहबाट २-२ जना प्रतिनिधिहरू तथा सीमान्तकृत र लोपोन्मुख राउटे, राजी, बादी र बोटे समुदायबाट थप २-२ जना गरी करिब दुई सय छोरीहरूको सहभागिता रहनेछ ।
सम्मेलनमा हरेक दिन छोरीका मनका कुरा, प्रवचन तथा बहस कार्यक्रमहरू सञ्चालन हुनेछन् भने ‘छोरीका मनका कुरा’ शीर्षकमा सहभागी छोरीहरूले आफ्ना भोगाइहरू सुनाउने छन् । यसका साथै सृजनशील छोरीहरूलाई उनको प्रतिभा प्रस्तुत गर्ने अवसर पनि प्रदान गरिने आयोजकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्