कैलाली ।
सुदूरपश्चिम प्रदेशका स्थानीय सरकारका असल अभ्यासको प्रस्तुति गरिएको छ । ‘विकासका लागि सार्थक संवाद’ भन्ने नारासहित शुक्रबार कैलालीको धनगढीमा आयोजना गरिएको ‘असल अभ्यासः आशाको सञ्चार’ विषयक प्रदेशस्तरीय कार्यक्रममा असल अभ्यासको प्रस्तुति गरिएको थियो ।
कार्यक्रममा प्रदेशका २५ वटा स्थानीय सरकारहरूले गरेका असल अभ्यासहरू प्रस्तुत गरिएको थियो । स्थानीय बासिन्दाको जीवनमा प्रत्यक्ष प्रभाव पारेका कार्यक्रम छनोट गरी आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा फौहोरमैला व्यवस्थापन र सुशासन क्षेत्रका कार्यक्रमहरूलाई असल अभ्यासको रूपमा प्रस्तुत गरिएको थियो ।
स्थानीय तहका असल अभ्यासमा घरदैलोमै स्वास्थ्य सेवादेखि कृषिबाट समृद्धिसम्मका योजना रहेका थिए ।
आयोजक अग्रलेख मल्टिमिडियाका प्रबन्ध निर्देशक हरि जोशीले २५ वटा स्थानीय तहले सञ्चालन गरेका ७५ वटा कार्यक्रमलाई असल अभ्यासका रूपमा प्रस्तुत गरिएको बताए । ‘कार्यक्रममा प्रस्तुत भएका असल अभ्यासमाथि विज्ञद्वारा टिप्पणी गरिनुका साथै अन्तरक्रिया गरिएको थियो,’ उनले भने, ‘असल अभ्यासमा प्रस्तुत गरिएका ७५ वटै कार्यक्रमको छुट्टाछुट्टै विस्तृत विवरण अग्रलेख अनलाइनमा सार्वजनिक हुने छ ।’
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले स्थानीय सरकारले बजेट बनाउँदा असल अभ्यासका रूपमा प्रस्तुत गरिएका जस्तै अन्य कार्यक्रमलाई पनि समेट्न आवश्यक रहेको बताए । उनले स्थानीय सरकारले गरेका कामहरूले आशाको सञ्चार गरेको बताए । उनले अग्रलेख मल्टिमिडियाले आशा जगाउने खालका राम्रा अभ्यासहरूको उजागर गर्न आशाको सञ्चार अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने बताए ।
कार्यक्रममा प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङले आयोगका गतिविधि र स्थानीय सरकारले गरेको राम्रो अभ्यासको विषयमा प्रस्तुत गरेका थिए । आयोजक अग्रलेख मल्टिमिडियाका निर्देशक योगेश रावलले पछिल्लो समय केही पनि सुधार भएन भन्ने भाष्य निर्माण भइरहेको बताउँदै स्थानीय तहले गरेका असल कार्य उजागरका लागि कार्यक्रमको आयोजना गरिएको बताए ।
‘विकट क्षेत्रका स्थानीय तहमा पनि नयाँ र प्रभावकारी कार्यक्रम पनि सञ्चालन भइरहेका छन्,’ उनले भने, ‘ती कार्यक्रम ओझेलमा परेको अवस्था छ । त्यसैले हामीले केही नयाँ सुरुवात गर्न खोजेका हौँ ।’ कार्यक्रममा सुदूरपश्चिमका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विरबहादुर थापा, प्रदेश निती तथा योजना आयोगका उपाध्यक्ष डा.जीवन राना, असल अभ्यास प्रस्तुत गरिएका स्थानीय सरकार प्रमुख-अध्यक्ष, उपप्रमुख-उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायत सरोकारवालाहरूको उपस्थिति थियो ।








प्रतिक्रिया दिनुहोस्