नाकामा खटिएको सशस्त्र प्रहरीले विशेषगरी भारतबाट फर्किनेहरूको परिचयपत्र अनिवार्य जाँच गर्ने र आवश्यकताअनुसार विवरणको अभिलेखसमेत राख्न थालेको छ । भारत र पाकिस्तानबीचको युद्धका कारण उत्पन्न सुरक्षा चुनौती र हुनसक्ने घुसपैठ रोक्न प्रहरीले चेकजाँचलाई कडाइ गरेको हो । सशस्त्र प्रहरीको ३० नम्बर गण नेपालगन्जका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) महेशविक्रम केसीले हिजोअस्तीभन्दा नाकामा चेकजाँचलाई कडाइ गरिएको बताउँछन् ।
नेपालगन्ज ।
नेपालगन्जस्थित नेपाल–भारत नाका जमुनाह हुँदै आउजाउ गर्नेहरूको परिचयपत्र चेकजाँचलाई थप कडाइ गरिएको छ । नाकामा खटिएको सशस्त्र प्रहरीले विशेषगरी भारतबाट फर्किनेहरूको परिचयपत्र अनिवार्य जाँच गर्ने र आवश्यकताअनुसार विवरणको अभिलेखसमेत राख्न थालेको छ । भारत र पाकिस्तानबीचको युद्धका कारण उत्पन्न सुरक्षा चुनौती र हुनसक्ने घुसपैठ रोक्न प्रहरीले चेकजाँचलाई कडाइ गरेको हो ।
सशस्त्र प्रहरीको ३० नम्बर गण नेपालगन्जका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) महेशविक्रम केसीले हिजोअस्तीभन्दा नाकामा चेकजाँचलाई कडाइ गरिएको बताए । केसीले केन्द्रीय निर्देशनअनुरुप सीमा नाकामा आउजाउ गर्ने व्यक्तिको परिचयपत्र चेकजाँच गर्ने, आवश्यकताअनुसार सोधपुछ गर्ने, विवरणहरू संकलन गर्ने र दैनिक अभिलेख राख्ने काम भइरहेको बताए । बिहीबार सशस्त्र प्रहरीले नाकामा आवश्यकता र शंकास्पद लागेको अवस्थामा परिचयपत्र चेकजाँच गरिरहेको थियो ।
डीएसपी केसीले अब सीमा नाका भएर नेपाल–भारत आवतजावत गर्दा परिचयपत्र अनिवार्य बोक्न आग्रह गरे । उनले साथमा परिचयपत्र बोक्नाले भारत यात्रामा आइपर्ने कठिनाइ कम हुने र देशमा हुनसक्ने घुसपैठ रोक्न पनि सहज हुने उनले बताए । ‘यो नाकामा पद्धति बसाउने अवसर पनि हो । परिचयपत्र साथमा राख्यौँ भने व्यक्तिगत विवरण संकलन गरिराख्यौँ भने हामीलाई सुरक्षा चुनौती कम गर्न पनि सजिलो हुन्छ,’ उनले भने ।
उता भारतीय सुरक्षाकर्मीले पनि पहिलेको भन्दा चेकजाँचमा कडाइ गरेको छ । केसीले अहिले सीमा नाकामा मात्रै नभई समग्र सीमाक्षेत्रमै प्रहरीको सक्रियता बढाइएको बताए । उनले नाकामा पहिलेको भन्दा बढी जनशक्ति खटाइएको र सीमा क्षेत्रमा गस्तीको सङ्ख्या बढाइएको पनि बताए । यसका साथै पहिले आवश्यकताअनुसार हुने सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीको संयुक्त गस्तीको क्रमलाई पनि बढाइएको छ ।
उता, बर्दियाका खुला सीमा नाकामा पनि निगरानी बढाइएको जनाइएको छ । घुसपैठ हुन नदिन नेपालबाट भारततर्फ र भारततर्फबाट नेपालतर्फ आवागमन गर्ने नागरिकमाथि जाँच तथा निगरानी बढाइएको सशस्त्र प्रहरीले जनाएको छ । नाकाबाट आवागमन गर्ने नागरिकको परिचय खुल्ने कागज अध्ययन गरि छोडिएको छ । त्यसैगरी खुला नाकाबाट ओहोरदोहोर गर्ने नागरिकको दैनिक अभिलेख राख्ने काम सुरक्षा निकायले गरेको छ ।
नाकामा पहिलाकोभन्दा दोब्बर सुरक्षाकर्मी परिचालन गरेर सतर्कता बढाइएको प्रहरीको भनाइ छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र काउन्टर पार्ट एसएसबीसहितको संयुक्त टोलीले सीमामा गस्ती पेट्रोलिङ गरि निगरानी बढाइएको जानकारी दिइएको छ ।








प्रतिक्रिया दिनुहोस्