कानुन छलेर लोकसेवाले विज्ञापन आह्वान गरेको ठहर



धनगढी ।

सुदूरपश्चिम प्रदेशको लोकसेवा आयोगले फागुन २० गते जारी गरेको विज्ञापन परिपूर्तिको लागि परीक्षा नहुने भएको छ । प्रदेश निजामती सेवाका अधिकृत नवौँ तहका अप्राविधिक-प्राविधिक पदहरूको परीक्षा नहुँदै सर्वोच्च अदालतले तत्काललाई परीक्षा नगर्न भनेको छ । प्रदेश लोकसेवा आयोगले परीक्षा कार्यक्रम स्थगित भएको जानकारी गराइसकेको छ ।

सर्वोच्च अदालतले अर्को आदेश नभएसम्म हाललाई उक्त सूचना बमोजिमका परीक्षासम्बन्धी कार्यहरू अगाडि नबढाउन भनेपछि परीक्षा कार्यक्रम स्थगित भएको प्रदेश लोकसेवा आयोगले एक सूचना जारी गर्दै जानकारी गराएको हो ।

‘यस आयोगमा मिति २०८२ वैशाख २४ मा प्राप्त भएको सो अल्पकालीन आदेश बमोजिम सर्वोच्च अदालतबाट अर्को आदेश नभएसम्म हाललाई उक्त सूचना बमोजिमका परीक्षासम्बन्धी कार्यहरू अगाडि नबढाइ यथास्थितिमा राखी परीक्षा कार्यक्रम स्थगित भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गर्ने भनी आयोगले २०८२ वैशाख २४ मा निर्णय भएकोले सोही ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ शाखा अधिकृत मिना जोशीले एक सूचना जारी गर्दै जानकारी गराएकी छिन् ।

प्रदेश लोकसेवा आयोगले २० फागुनमा विज्ञापनमा अप्राविधिकतर्फ ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा सामान्य प्रशासनबाट ७ जना र राजस्वबाट १ जना तथा कार्यक्षमताको मूल्याङ्कनको आधारमा प्राविधिकतर्फ सामान्य प्रशासनबाट ७ जना र राजीवबाट १ जनालाई बढुवा गर्ने सूचना जारी गरिएको छ ।

ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा प्राविधिकका विभिन्न ३० पदमा ३५ जना र कार्य क्षमताको मूल्याङ्कनको आधारमा प्राविधिक तर्फ ४९ पदमा ५० जनाको विज्ञापन खुल्ला गरिएको थियो । तीमध्ये समूह भित्रै आन्तरिक प्रतियोगिताको परीक्षा दिन नपाइएको भन्दै वन सेवा र कृषि समूहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

‘आन्तरिक प्रतियोगिताको व्यवस्था संघीय ऐनमा पछि छ । अन्य प्रदेशका ऐनहरूमा पनि छन् । तर, सुदूरपश्चिममा त्यस्तो व्यवस्था छैन् भन्दै हामीलाई मार पारियो,’ सर्वोच्चमा रिट दायर गरेका कृषि समूहका प्रकाशकुमार पन्तले भने, ‘पहिले हाम्रो फारम लिइयो पछि रिजेक्ट गरियो । त्यसैले हामीले रिट दिएका थियौँ ।’

सर्वोच्चमा रिट दिएको भोलिपल्टै अदालतले आयोगलाई तत्काल परीक्षा रोक्न भनेपछि आयोगले अहिले परीक्षा रोकिएको जानकारी गराएको हो । सर्वोच्चको आदेशसँगै २६ गतेदेखि सुरु हुने परीक्षा रोकिएको छ । यसै मुद्दाको लेखा समूहले दायर गरेको मुद्दाको अर्को पेशी आजलाई तोकिएको छ । लोकसेवा आयोग शाखा अधिकृत मिना जोशीले विज्ञापन नम्बर अनुसार सबै परीक्षा स्थगित भएको बताइन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख २६ गते शुक्रबार