वीरेन्द्र जैसी । नेपालगन्ज ।
बिहीबार कोहलपुरमा एक जना व्यक्तिलाई प्रहरीले कपडा खोलेर सडकमा घिसार्दै यातना दिएको पाइएको छ । सडक दुर्घटनामा मृत्यु भएका आफ्ना साथीलाई न्याय र क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका ती व्यक्तिलाई प्रहरीको एक समूहले सडकमा घिसार्दै कपडा खोलेर नांगै बनाएर लाठीचार्जसमेत गरेको पाइएको हो ।
यसरी यातना दिइएका व्यक्ति बाँकेको राप्ती सोनारी गाउँपालिका ९ ढकेरीका टेकबहादुर खड्का रहेका छन् । प्रहरीले यातना दिएर नियन्त्रणमा लिन खोजेपनि खड्कालाई नियन्त्रणमा नलिएरै छोडेको पाइएको छ । बुधबार बाँकेको कुसुममा बसले ठक्कर दिएर ज्यान गुमाएका आफ्ना साथी ढकेरीका ३३ वर्षीय सुदीप सुवेदीको परिवारलाई क्षतिपूर्तिको माग गर्न कोहलपुर आएका खड्काले प्रहरीबाट अमानवीय व्यवहार भोगेका हुन् ।
चक्काजाममा उत्रिएका बेला खड्कालाई प्रहरीले घेरा हालेर सडकमा लडाएको थियो । उनलाई एक दर्जनभन्दा बढी सङ्ख्यामा रहेका प्रहरीहरूले घेरेका थिए । त्यसपछि प्रहरीले उनलाई खुट्टा हातमा समातेर झुण्ड्याउँदै भ्यानतर्फ लिन खोज्छ । त्यसक्रममा प्रहरीले उनको कपडा तानेर घिसार्न खोज्छ । त्यसरी घिसार्ने क्रममा उनको माथिको कपडा नै प्रहरीले निकालिदिन्छ । कपडा खोलिएकै अवस्थामा एक प्रहरीले खड्काको ढाडमा लाठीले हिर्काउँछन् ।
खड्का प्रतिकार गर्दै कराउन थाल्छन् र छेउमा भएका अरु व्यक्तिहरूले प्रहरीलाई ‘त्यस्तो गर्न पाइँदैन्’ भन्दै विरोध जनाउँछन् । तर प्रहरी रोकिँदैन् । खड्कालाई नाङ्गै ढाड तातो सडकमा घिसारिन्छ । प्रहरीले भ्यानमा राख्न खोज्दा उनीसँगै आएका अरु व्यक्तिहरूले विरोध गर्न थाल्छन् ।
प्रहरीले यसरी यातना दिएर नियन्त्रणमा लिन खोजेका खड्का अहिले प्रहरीको नियन्त्रणमा नरहेको इलाका प्रहरी कार्यालय कोहलपुर बताउँछ । मृतक सुवेदीका सन्तानहरूलाई शिक्षादीक्षा र लालनपालनका लागि बीमाबाहेक थप क्षतिपूर्तिसमेत दिनुपर्ने माग गर्दै सडक अवरुद्ध गर्ने काममा संलग्न ३ जना पक्राउ परेको इलाका प्रहरी कार्यालय कोहलपुरको भनाइ छ ।
तर, इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी खनालले पक्राउ परेकाहरूको नाम खुलाउन नमिल्ने बताइन् । आन्दोलनमा सहभागीहरूले भने पक्राउ पर्नेमा मृतकका छिमेकीहरू दशरथ ओली, होमप्रकाश पौडेल र भीमबहादुर केसी रहेका जानकारी दिए । यातना दिइएका खड्कालाई भने प्रहरीले नियन्त्रणमा नलिएरै छोडिदिएको पाइएको छ । आन्दोलनमा सहभागी मृतकको फुपु नाता पर्ने एक आफन्तले भनिन््, ‘हामीले माग पूरा गराउन दबाब दिन यातायात अवरुद्ध गर्न खोजेका थियाँै । बाँकी तोडफोड केही गरेका थिएनौँ । तर एक्कासि आएर उहाँलाई प्रहरीले यातना दियो ।’
इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज डीएसपी लक्ष्मी खनालले पीडितहरू अनुचित माग राखेर सडक अवरुद्ध गर्न उत्रिएपछि सामान्य बल प्रयोग गरिएको बताउँछिन् । उनले भनिन्, ‘करोडौँ क्षतिपूर्तिको माग राखेर कसरी समस्या समाधान हुन्छ ? उहाँहरूले सडक अवरोध गर्न थालेपछि सामान्य बल प्रयोग गरिएको हो । एक लाठी पनि हिर्काइएको छैन् ।’ तर, डीएसपी खनालको भनाइलाई सामाजिक सञ्जालमा राखिएको भिडिओले नै खण्डन गर्छ । जसमा हातगोडा समातेर झुण्ड्याउँदै लगिरहेको अवस्थामा खड्काको नाङ्गो ढाडमा प्रहरीले हिर्काएको देखिन्छ । 
यातनापछि प्रहरीबाट फुत्किएका खड्काको ढाड र शरीरका विभिन्न भागमा चोट लागेको उनका आफन्तहरूले बताएका छन् । मानवअधिकारकर्मी भोला महतले प्रहरीले नागरिकलाई यातना दिनु प्रहरीको व्यवसायिकता भित्र नपर्ने बताउँछन् । त्यसमाथि सडकमै कपडा खोलेर यातना दिनु मानवअधिकारको उल्लंघन भएको उनको बुझाइ छ ।
उनले मिसन टुडेसँग भने, ‘नागरिकलाई कस्टडीमा हुँदा त यातना दिन पाइँदैन भने सडकमै नाङ्गै बनाएर पिटिएको छ भने त्यो गम्भीर घटना भयो । नागरिकले गल्ती नै गरेको भए कस्टडीमा लिएर कानुनी प्रक्रियाअनुसार अघि बढ्नुपथ्र्याे ।’ उनले यस्ता घटनाले प्रहरीप्रतिको विश्वसनीयता कमजोर पार्ने भएकाले यथार्थ छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याइनुपर्ने बताए ।
नेपाली काँग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले पनि प्रहरीले नागरिकलाई यातना दिनु सह्य नहुने बताए । उनले प्रहरीले संयमता गुमाएर नागरिकलाई यातना दिएको विषयमा छानबिन गर्नुपर्ने बताए । उनले भने, ‘प्रहरीले शान्ति व्यवस्था र सुशासन त कायम गर्ने हो । तर, त्यसका नाममा प्रहरीले पनि अनुशासन बिर्सनु भएन । पीडितहरूको आक्रोशलाई सही तरिकाले व्यवस्थित गर्नुको साटो कुटपिट गर्नु गलत हो ।’
लुम्बिनी प्रदेश सभा सदस्य एवम् एमाले बाँकेका सचिव रत्न खत्री समस्यालाई जटिल बनाउने काम प्रहरीले नै गरेको बताउँछन् । उनका अनुसार कोहलपुर प्रहरीले बुधबार दुर्घटनापश्चात पीडित परिवारले शव उठाउन नमान्दा बिहीबार ११ बजेसम्म बस समितिका मानिसहरू झिकाएर क्षतिपूर्ति दिलाउने वाचा गरेको थियो । त्यसपछि प्रहरीलाई शव उठाउन दिन तयार भएका तर आफू नबुझ्ने बताएका मृतकका आफन्तहरूलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा बोलाएर बस व्यवसायीसँग छलफल गराउनुपर्नेमा त्यसो नगर्नु प्रहरीको कमजोरी भएको खत्रीले बताए । ‘समस्या आफैँ सृजना गर्ने । समस्या समाधान गर्नुको साटो पीडित पक्षलाई नै कुटपिट गर्ने प्रहरीको काम गलत हो,’ खत्रीले भने ।
लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले पनि प्रहरीले पीडित पक्षमाथि गरेको व्यवहार ठिक नभएको बताइन् । उनले गल्ती गरेको अवस्थामा कस्टडीमा लिएर कानुनी कारबाही गर्नुपर्नेमा सडकमै नाङ्गो बनाएर पिट्नु ठिक नभएको बताइन् । उनले भनिन्, ‘पीडित पक्ष आक्रोशमा हुनु स्वभाविक हो । त्यसको पनि कानुनी उपचार हुन्छ । कस्टडीमा लिएर कानुनी कारबाही गर्नुपर्नेमा सडकमै नाङ्गो बनाएर पिट्नु ठिक होइन ।’
बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले यससम्बन्धमा आफूलाई केही जानकारी नभएको प्रतिक्रिया दिए । बाँके प्रहरी प्रमुखसँग प्रतिक्रिया लिन खोज्दा टेलिफोन सम्पर्क हुन सकेन ।

विचल्लीमा छ मृतक सुवेदीको परिवार
५ महिना र ११ वर्षकी गरी दुई छोरीहरू रहेका सुदीप रोजगारीका लागि दक्षिण कोरिया जाने प्रक्रिया मिलाउनका लागि काठमाडौँ जाँदै थिए । तर, उनी सवार मोटरसाइकललाई यात्रुबाहक बसले घरबाट हिँडेको केही मिनेटमै पूर्वपश्चिम राजमार्गको कुसुम नजिक पछाडिबाट ठक्कर दियो ।
परिवारको लालनपालन गर्ने जिम्मवारी काँधमा रहेका सुवेदी बाटैमा अस्ताएपछि उनको परिवार अहिले विचल्लीमा परेको छ । परिवारको लालनपालनका लागि संकट आइपरेको भन्दै मृतकका आफन्तहरूले क्षतिपूर्ति माग गरेर शव नबुझ्ने अडान राखेका थिए । मृतकका एक आफन्त भन्छन्, ‘डीएसपी साबले म क्षतिपूर्तिको व्यवस्था गर्छु भनेपछि हामी लाश उठाउन तयार भयौँ । आज क्षतिपूर्तिबारे छलफल गर्न इलाका प्रहरीमा आएका थियौँ । तर पीडक पक्ष छलफलमै नआएपछि हामीसँग सडक बन्द गर्नुको विकल्प रहेन ।’
डीएसपी खनाल भने मृतकका आफन्तहरूले पूरा गर्न नसकिने माग राखेकोले समस्या सृजना भएको बताउँछिन् । तर, मृतकका आफन्तहरू भने पीडक बस व्यवसायी समिति नारायणी यातायातका जिम्मेवार व्यक्तिलाई झिकाएर प्रहरीले छलफल गराउन नसकेको बताउँछन् । बिहीबार अबेर मिसन टुडेसँग कुरा गर्दै मृतकका एकजना आफन्तले भने, ‘हामीले पैसाको कुरै गरेका छैनौँ । परिवारको मूली व्यक्तिको नै ज्यान गएपछि उनका बालबच्चाको शिक्षादीक्षा र श्रीमतीलाई रोजगारीको माग मात्रै गरेका थियौँ । तर, बस व्यवसायी समितिबाट जिम्मेवार व्यक्तिलाई प्रहरीले छलफलमै बोलाउन सकेन ।’
सबै तस्बिरहरूः निरज सिंह








प्रतिक्रिया दिनुहोस्