जुम्ला ।
जुम्ला विमानस्थल स्तरोन्नतिका लागि २ करोड रकम निकासा भएको छ । कर्णाली प्रदेशमा सबैभन्दा बढी यात्रुको चाप हुने यो विमानस्थल स्तरोन्नतिको वर्षौँदेखि कुरा चलेपनि काम हुन सकेको थिएन ।
हरेक वर्ष विनियोजित बजेट खर्च हुन नसकेर फिर्ता हुने गरेको थियो । चालू आर्थिक वर्षभित्र जुम्ला विमानस्थलको जग्गा अधिग्रहणका लागि १० करोड स्रोत सुनिश्चित भएको छ । तर सरकारले जग्गा अधिग्रहणका लागि संघीय सरकारले पहिलो किस्ता बापत २ करोड रूपैयाँ निकासा दिएपछि विमानस्थल विस्तारको बाटो खुलेको छ । ६७० मिटर लामो धावनमार्गलाई १ हजार ५० मिटरसम्म लम्बाइ बढाउने लक्ष्य राखिएको छ ।
प्रतिनिधि सभा सदस्य कान्तिका सेजुवालले चन्दननाथ नगरपालिकाको मेयर हुँदादेखि नै विमानस्थल विस्तारका लागि पहल गर्दै आएकी थिइन् । सांसद सेजुवालले वर्षौँपछि जग्गा अधिग्रहण गर्न पहिलो किस्ता २ करोड निकासा भएपछि विस्तार हुने आशा पलाएको बताइन् । विमानस्थल विस्तारका लागि अन्य राजनीतिक दलका प्रतिनिधिले पनि पहल गरेका थिए । तर सेजुवालले २०७४ देखि नै यो मुद्दालाई उठाउँदै आएकी थिइन् ।
उनले भनिन्, ‘ढिलै भएपनि स्तरोन्नतिको काम सुरु हुनु सुखद पक्ष हो । तर निकासा रकम कम भयो । विनियोजित बजेट सबै जसरी पनि आउँछ । थप काम हुँदै जानेछ ।’ चालू आवका लागि विनियोजन भएको १० करोड एकमुस्ट पठाउने भनिएको थियो । तर सबै ठाउँका विमानस्थलमा निकासा दिनुपर्ने भएकोले पहिलो किस्ता २ करोड मात्रै निकासा भएको र बाँकी बजेट एक डेढ महिनाभित्रै निकासा हुनेसमेत सांसद सेजुवालको भनाइ छ ।
यो महिनाभित्र बाँकी ८ करोड निकासा गर्नका लागि सबै पक्षसँग छलफल भइसकेको उनले बताइन् । विमानस्थल विस्तारको विषय लामो समयदेखि चर्चामा रहेपनि परिणाम नदेखिएपछि नागरिकले विश्वासनै गर्न छाडेका थिए । तर बजेट विनियोजन हुँदा र केही प्रक्रिया सुरु हुँदा जुम्लावासी आशावादी छन् ।
२०५१ सालमा निर्माण भएको जुम्ला विमानस्थलको टर्मिनल भवन जीर्ण बन्दै गएपछि नयाँ भवन निर्माण तथा धावनमार्ग विस्तार लगायतका पूर्वाधार निर्माणका लागि जग्गा अधिग्रहणको प्रक्रिया पनि अघि बढेको छ । विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले १८३ रोपनी जग्गा अधिग्रहण गर्ने जनाएको छ । जग्गा अधिग्रहण गर्न १ अर्बको लागत अनुमान गरिएको छ । जसमा मुअब्जाका लागि मात्रै ४८ करोड आवश्यक पर्ने अनुमान छ ।
चलू आवमा ४० करोड बजेट विनियोजन गर्न माग गरिएको थियो । तर अर्थ मन्त्रालयले भने चालू आर्थिक वर्षमा कार्यान्वयन हुने गरी जुम्ला विमानस्थलका लागि १० करोड स्रोत सुनिश्चित गरेको थियो । अर्थले वैशाख ९ गते नै सिधै नागरिक उड्डयन प्राधिकरण जुम्लाको खातामा जाने गरी २ करोड निकासा गरेको हो ।








प्रतिक्रिया दिनुहोस्