जानकीमा जग्गा नापजाँचको काम पुनः सुरु



रबिन्द्र घिमिरे । जानकी (बाँके) ।

बाँकेको जानकी गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूलाई लालपुर्जा वितरणका लागि जग्गा नापजाँचको काम पुनः सुरु गरेको छ ।

जिल्ला भूमि आयोगले पूर्णता पाएसँगै रोकिएका जग्गा नापजाँचको कामलाई पुनः सुरु गरिएको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताए । केन्द्रीय सरकारको पटकपटकको फेरबदल र भूमि आयोगको विघटनले नापजाँच काम रोकिएको नियमित हुन नसकेको उनले बताए ।

बुधवार वडा नं ५ रामगाउँमा जग्गा नापजाँच कार्यको सुभारम्भ गर्दै अध्यक्ष खाँले आफ्नै नेतृत्वको स्थानीय सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूलाई लालपुर्जा वितरण गर्ने विश्वास दिलाए ।
‘लामो समयदेखिको भूमिहीन समस्या समाधानका लागि हाम्रो अथक प्रयास छ, उनले भने, ‘अब ढुक्क हुनुहोस् तपाईँले जोतभोग गर्दै आएको जग्गाको मालिक तपाईँ नै भएको पुर्जा प्राप्त गर्नुहुनेछ । नापजाँचको काममा पालिकाबाट खटिएका प्राविधिकहरूलाई सहजीकरण गरेर सहयोग गरिदिनुहोस् ।’

जानकी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष टिकानाथ यादवले भूमिहीन समस्यालाई अब दीर्घकालिनरूपमा समाधान गर्ने गरी काम भइरहेकाले सबै वडावासीले सहयोग गर्नुपर्ने बताए । वडा नं ५ मा करिब ६०० भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी रहेको जानकी गाउँपालिकाका भूमी शाखाका सर्वेक्षक गोकुल यादवले जानकारी दिए ।

जग्गा नापजाँच कार्यको सुभारम्भमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकुत नरबहादुर विक, कार्यपालिका सदस्य, वडा सदस्य, योजना शाखाकी प्रमुख शोभा पौडेल, भूमि समस्या समाधान आयोगका बाँकेका अध्यक्ष घननाथ खनाल, सदस्य तलत प्रविण खान, नापी अधिकृत गुनेश्वर यादव, भूमी शाखाका प्राविधिक कर्मचारीहरू र स्थानीयहरूको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख २५ गते बिहीबार